समाजमा रहेको भ्रम हटाउने कार्यक्रमलाई निरन्तरता

समाजमा रहेको भ्रम हटाउने कार्यक्रमलाई निरन्तरता

989
SHARES

काठमाडौं (पहिचान) साउन ८ – सरकारले यौनिक तथा लैंगिक अल्पसंख्यकहरु प्रति समाजमा रहेको भ्रम हटाउने गत बर्षको कार्यक्रमलाई निरन्तरता दिने भएको छ । सरकारले चालु आर्थिक बर्षपनि गत बर्षजस्तै भ्रम हटाउन सचेतना तथा सशक्तिकरण कार्यक्रम संचालन गर्ने भएको हो ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले चालु आर्थिक बर्ष देशका विभिन्न ठाउँमा ३ वटा सचेतना तथा सशक्तिकरण कार्यक्रम संचालन गर्ने कार्य योजना बनाएको जनाएको छ । ‘गत बर्ष जस्तै यो बर्षपनि उस्तै प्रकृतिका ३ वटा कार्यक्रम संचालन गर्ने कार्ययोजना छ मन्त्रालयका एक अधिकारीले पहिचानसँग भने, गत बर्षभन्दा यो बर्ष बजेट भने दोब्बर राखिएको छ ।’

गत बर्ष ३ वटा कार्यक्रमका लागि ३ लाख रुपैयाँ बजेट राखिएको थियो । यो बर्ष ६ लाख रुपैयाँ राखिएको मन्त्रालयले जनाएको छ । गत बर्ष यौनिक तथा लैंगिक अल्पसंख्यक प्रति समाजमा रहेको भ्रम हटाउन गर्ने भनिएको ३ वटा कार्यक्रम मध्ये २ वटा मात्र भए । सरोकारवालाहरुको साझेदारीमा संचालन गरिने कार्यक्रम भएकाले कहिले कसको, कहिले कस्को समय नमिल्दा दाङ जिल्लामा गर्ने भनिएको कार्यक्रम भने हुन नसकेको ति अधिकारीले बताए ।

गत बर्ष काठमाडौं र नवलपरासीमा मात्रै सरोकारवालाहरुको साझेदारीमा कार्यक्रम संचालन भएको छ । चालु बर्ष कुन ठाउँमा कार्यक्रम संचालन गर्ने भन्ने टुङ्गो भने नलागेको मन्त्रालयले बताएको छ ।

मन्त्रालयले सीप मुलुक तालिम कटौती गरेर भ्रम हटाउन सचेतना तथा सशक्तिकरण कार्यक्रम संचालन गरेको हो । तालिम लिएकाहरुले रोजगारीको ग्यारेन्टी नभएको बताएपछि सीप दिने तालिमको बजेट मन्त्रालयले कटौती गरेको छ ।

समाजमा आफ्नो पहिचान अनुसार खुल्नुपर्छ, पहिचान दिनुपर्छ, समुहमा आवद्ध हुनुपर्छ र एकजुट भएर माग राख्नुपर्छ भन्ने कार्यक्रमको उद्धेश्य रहेको छ । यस्तै सरकारी निकाय, विभिन्न संघ संस्थाको प्रतिवद्धता खोज्ने पनि कार्यक्रमको उद्धेश्य रहेको मन्त्रालयले बताएको छ ।

तर, सरकारले नै यो उद्धेश्य राखेर कार्यक्रम संचालन गरेपनि सरोकारवालाहरुको चासो भने कम रहेको मन्त्रालयको बुझाई छ । ‘यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले सशक्त रुपमा आवाज उठाउन सकेको पाइएको छैन ति अधिकारीले भने, एलजीबीटीआई समुदायको अधिकारको अभियान अगाडी बढ्नुको साटो पछाडी धकेलिएको पाएका छौ ।’

समाचार शेयर गर्नुहोस्
989
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.