सरकारलाई चुनौती दिदै सुरेन्द्र र मायाले गरे समलिंगी विवाह (भिडियो)

सरकारलाई चुनौती दिदै सुरेन्द्र र मायाले गरे समलिंगी विवाह (भिडियो)

rbt

काठमाडौं (पहिचान) असोज २७ – समलिंगी विवाहलाई कानूनी मान्यता दिन सरकारलाई चुनौती दिदै नवलपरासीका सुरेन्द्र पाण्डे र राम गुरुङ (माया) विवाह बन्धनमा बाधिएका छन् । २२ बर्षका सुरेन्द्र र ३५ बर्षकी राम विवाह बन्धनमा बाधिएका हुन् ।

सुरेन्द्रले आफूलाई समलिंगी पुरुष र रामले आफूलाई तेस्रोलिंगी महिलाको पहिचान दिदै एक बर्षदेखि संगै बस्दै आएका थिए । काठमाडौंको सिद्धि गणेश मन्दिरमा पञ्चेबाजा बजाएर दुईजनाले विवाह गरेका हुन् । सोह्खुट्टे ओरालोमा रहेको गणेश मन्दिर प्रवेश गर्ने मुल सडकमा विवाहको व्यानर टाँगेर बाजागाजा सहित विवाह गरेका उनीहरुले लुकेर बसेकालाई वाहिर आउन आग्रह गरे ।

सिद्धि गणेश टोल सुधार समितिका अध्यक्ष आरवी ठकुरीले अभिभावक बनेर सुरेन्द्र र रामको विवाह गराउँदा रमाइलो लागेको बताए । उनले दुई जनाको विवाहलाई कानूनी मान्यता दिलाउँन सरकारको ढोका घचघच्याउने प्रतिवद्धता समेत जनाए । समितिले पहिलो पटक समलिंगी तेस्रोलिंगीबीच विवाह गराएको उनले बताए ।

समलिंगी तेस्रोलिंगीलाई हेर्ने दृष्टिकोण सकारात्मक बन्दै गएको र यो विवाहले समाजमा जनचेतना जगाउन मद्धत गर्ने अध्यक्ष ठकुरीको विश्वास छ । उनले समलिंगी तेस्रोलिंगीबीचको विवाहमा जन्ती र घर गाउँले बनेर धेरै मान्छे सहभागी हुनु खुशीको कुरा भएको बताए ।

विवाहित जोडीले आफूहरुबीचको विवाहले अव आउने पुस्ताले लुकेर बस्नु नपरोस भन्ने सकारात्मक सन्देश जाने आशा व्यक्त गरे । ‘समाजमा महिला र पुरुष मात्रै होइनन्, हामी जस्ता समलिंगी तेस्रोलिंगी पनि छन् मायाले भनिन्, हामी कोही फरक छैनौ ।’

उनीहरुले अभिभावकले पनि बुझुन पर्ने बताए । सुरेन्द्र परिवारमा एक्ला छोरा हुन् । उनलाई दिदीले स्वीकार गरेकी छैनन् । बुबा आमाको निधन भएका सुरेन्द्रले सानी आमालाई विवाहमा आउन निम्तो दिएका थिए । मायाले भने आफूलाई आमाले स्वीकृती दिएको बताइन । आमा विरामी भएर विवाहमा आउन नपाएको मायाले सुनाइन् ।

उनीहरुको विवाहमा पुरेत बनेका नुवाकोटका कृष्णप्रसाद तिमल्सिनालाई महिला पुरुषबीच विवाह र समलिंगी तेस्रोलिंगीबीचको विवाहमा कुनै फरक नरहेको बताए । सर्वोच्च अदालतले २०६४ सालमा समलिंगी विवाहलाई मान्यता दिने कानून बनाउन सरकारका नाममा निर्देशनात्मक आदेश दिएको थियो । सर्वोच्चको आदेश अनुसार गठन भएको समलिंगी विवाहबारे अध्ययन गर्ने समितिले २०७१ सालमा कानूनी मान्यता दिनुपर्ने निष्कर्ष सहितको प्रतिवेदन बुझाइसकेको छ ।

तर, सरकारलाई अहिलेसम्म कानून बनाउने सुरसार गरेको छैन । सुरेन्द्र र मायाको विवाहले सरकारलाई समलिंगी विवाहको कानून बनाउन दवाव पुग्ने यौनिक तथा लैंगिक अल्पसंख्यकहरुले विश्वास व्यक्त गरेका छन् । विवाहित जोडीलाई उनीहरुले मन्दिरमै गएर बधाई तथा शुभकामना समेत दिए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.