क्याथोलिक चर्चका सर्वोच्च धर्मगुरु पोप फ्रान्सिस समलिंगी सम्बन्धको पक्षमा

क्याथोलिक चर्चका सर्वोच्च धर्मगुरु पोप फ्रान्सिस समलिंगी सम्बन्धको पक्षमा

काठमाडौं (पहिचान) कार्तिक ६ – रोमन क्याथोलिक चर्चका प्रमुख धर्मगुरु पोप फ्रान्सिसले समलिंगी सम्बन्धलाई आफ्नो समर्थन रहेको बताएका छन् । आफूमाथि बनेको वृत्तचित्रमा पोप फ्रान्सिसले समलिंगी सम्बन्धलाई आफ्नो समर्थन रहेको बताउँदै समलिंगी (गे–पुरुष समलिंगी, लेस्बियन–महिला समलिंगी) दम्पतीका लागि सिभिल युनियनको व्यवस्था गरी कानूनी संरक्षण प्रदान गर्नु पर्ने उल्लेख गरेका छन् ।

पोप फ्रान्सिसले समलिंगी सम्बन्धमा गरेको यो अहिलेसम्मको स्पष्ट टिप्पणी हो । उनले एभगेनी एफिनीभ्स्कीले निर्देशन गरेको वृत्तचित्रमा भनेका छन्, ‘समलिंगी मानिसलाई परिवारमा रहने अधिकार छ । उनीहरु इश्वरका सन्तान हुन् र उनीहरुलाई पनि आफ्नो परिवार बनाउने अधिकार छ । कसैले पनि यसलाई कमजोर वा बाहिर पार्नु हुँदैन ।’

उनले अघि भनेका छन्, ‘हामीले सिभिल युनियन ल बनाउनु पर्छ । यसमार्फत उनीहरु कानूनी रुपमा संरक्षित हुने छन् ।’

आफू समलैंगिक सम्बन्धको पक्षमा उभिएको विगत पनि पोप फ्रान्सिसले स्मरण गरेका छन् । कानूनमा समलिंगी सम्बन्धलाई बर्जित गरिएको भए पनि आफू आर्चविशप अफ ब्युनेस आयर्स रहँदा कानूनी संरक्षणको पक्षमा बोलेको उनले बताएका छन् ।

पोप फ्रान्सिसमाथिको वृत्तचित्र रोम फिल्म फेस्टिभलमा बुधबार प्रदर्शन भएको हो ।

समलिंगी सम्बन्धको कानूनी समर्थनका लागि सिभिल युनियनको कुरा गरेका पोप फ्रान्सिसले दुई समलिंगी पुरुष आफ्ना सन्तानसहित चर्चमा आएर प्राथना हेर्न चाहेको पनि बताएका छन् ।

हाल कायम रहेको क्याथोलिक सिद्धान्तमा गे (समलिंगी) सम्बन्धलाई ‘भड्किएको व्यवहार’ का रुपमा परिभाषित गरिएको छ ।

सन् २००३ मा भएको भ्याटिकनको सैद्धान्तिक समूहको सम्मेलनले समलिंगी व्यक्तिको सम्मानका नाममा समलैंगिक व्यवहारलाई स्वीकृति वा समलिंगीको विवाह या एकताका लागि कानूनी प्रमाणिकताको व्यवस्था गर्न नसकिने बताएको थियो ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading