निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

एनआरएनएले भन्यो, शुल्क भुक्तानी नगरे अमेरिकासहित पाँच देशको मान्यता स्वतः समाप्त 

एनआरएनएले भन्यो, शुल्क भुक्तानी नगरे अमेरिकासहित पाँच देशको मान्यता स्वतः समाप्त 

928
SHARES
काठमाडौं : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले पञ्जीकृत सदस्यता शुल्क नतिर्ने एनसीसी युके, अमेरिका, अस्ट्रेलिया, जापान र क्यानडालाई मार्च ६ तारिखसम्म शुल्क भुक्तानी गर्न अवसर दिने निर्णय गरेको छ। शुल्क भुक्तानी नगरे एनसीसीहरुको मान्यता स्वतः समाप्त हुने सङ्घले भनेको छ।
एनआरएनएका प्रवक्ता डिबी क्षेत्रीले विज्ञप्ति निकालेर नयाँ एनसीसीको निर्वाचन गर्न सङ्घका अध्यक्ष, महासचिव, क्षेत्रीय संयोजक, सहसंयोजक र क्षेत्रीय महिला संयोजक रहेको एक समितिले तदर्थ समिति गठनबारे निर्णय गर्ने जानकारी दिएका छन्।
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को ८२ औँ बैठकले महाधिवेशन प्रतिनिधिबारे सुझाव पेस गर्न बिहीबारसम्मको अवसर दिने निर्णय गरेको विज्ञप्तिमा लेखिएको छ। आइसिसीको तर्फबाट अध्यक्षले निर्वाचन समितिलाई पेस गरेको प्रतिनिधिहरूबाट निर्वाचन अगाडि बढाइने र उच्चस्तरीय समिति स्वतः विघटन हुने जानकारी सङ्घले दिएको छ।
संरक्षक परिषद्लाई विघटन गरिएको र पूर्वनिर्धारित मार्च २१ र २२ तारिखमा हुने निर्वाचन र मार्च २६ र २७ तारिखमा काठमाडौँमा हुने १० औँ अन्तर्राष्ट्रिय  महाधिवेशन सम्पन्न गर्न अनुरोध गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ।
एनआरएनकी उपाध्यक्ष रबिना थापाले चुनाव बहिष्कार नगर्न आग्रह गरेकी छन्। उम्मेदवार दर्ता गर्न र मतदानमा सहभागी हुनबाट कोही पनि सदस्य वञ्चित हुन नहुने आफ्नो अडान कायमै रहेको थापाले बताइन्।
विधान संशोधन गरेर महाधिवेशन प्रतिनिधि छनौट गर्ने अहिलेको प्रक्रियामा विमति रहे पनि संयम अपनाएर चुनावमा जानुपर्ने थापाले उल्लेख गरिन्। काठमाडौँमा पत्रकार सम्मेलन गरेर उनले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गर्ने बताइन।
‘अहिलेसम्म फेसबुके उम्मेदवार हुन्,भोलि उम्मेदवारी दर्ता गरेपछि वास्तविक उम्मेदवार भइन्छ,’उनले भनिन्,‘एनआरएनएको २० वर्षमा पहिलो पटक महिलालाई अध्यक्षमा निर्वाचित गर्ने अवसर पाउँछु भन्ने विश्वास छ।’
पद पाउनका लागि संस्था नै धरापमा पार्न नहुने उनले बताइन। ‘स्वच्छ मनले काम गर्‍यो भने पद त्यतिकै पाइन्छ। चुनाव बहिष्कार नगरौँ। विवाद गरेर होइन,’उनले भनिन,‘पोखरी फोहोर छ भने भित्रै बसेर सफा गरेर बाहिर निस्कौँ। छिटो चुनाव गरौँ।’

समाचार शेयर गर्नुहोस्
928
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.