"/>
सांसदको चिन्ता

बालेन मान्छेको ध्यान आकृष्ट गर्न सफल, व्यवस्थामाथि नै प्रश्न उठाए के हुन्छ? (भिडियो)

बालेन मान्छेको ध्यान आकृष्ट गर्न सफल, व्यवस्थामाथि नै प्रश्न उठाए के हुन्छ? (भिडियो)

काठमाडौं : सांसदहरूले आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा आआफ्ना सुझाव प्रस्तुत गरिरहेका छन्। प्रि बजेट छलफलमा सांसदहरूले दलहरूलाई विश्वास गर्न छाडेको सुनाएका छन्।
अर्थमन्त्रीले प्रस्तुत गरेका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसदहरूले कर्मकाण्डी नाराका कारण दलहरूलाई विश्वास गर्न छाडेको उल्लेख गरे।
उनीहरूले नेपाली जनताले राजनीतिक दलहरूको साथ छोडिरहेको अनुभूति भइरहेको सुनाए। ‘स्थानीय चुनावमा काँग्रेस, एमाले, माओवादी लगायत स्थापित राजनीतिक दलका उम्मेदवार भन्दा स्वतन्त्र उम्मेदवार काठमाडौँमा बालेन शाह जस्तै धरानमा पनि स्वतन्त्र उम्मेदवारले अग्रता लिइरहेका छन्,’सांसद जयकुमार राईले भने,‘लाखौँ हजारौँ कार्यकर्ता हुँदा पनि जनताले स्वतन्त्रलाई मत दिइरहेका छन्।’
उनले यसलाई दल र दलका उम्मेदवार प्रतिको असन्तुष्टिको रूपमा रूपमा लिनु पर्ने बताए। उनले व्यवस्था माथि नै प्रश्न उठ्न सक्ने सुनाए। ‘राजनीतिक दलहरू असफलता तिर जान्छ कि जाँदैन?’उनले भने,‘जनताको अपेक्षा अनुसार भ्रष्टाचार उन्मुलन गर्न नसकेका कारण जनताले साथ छोड्दै गए।’
हरेक वर्षको बजेटमा कृषिलाई प्राथमिकता दिँदै बजेट विनियोजन भए पनि स्वदेशी उत्पादनले ६ महिना पनि धान्न नसक्ने उनीहरूले बताए। खाद्यान्नमा आत्मनिर्भर हुन नसकेको भन्दै उनीहरूले हावामा महल बनाउने काम भएको उल्लेख गरे।
सांसद चाँद तारा कुमारीले विपद् व्यवस्थापन सम्बन्धी छुट्टै मन्त्रालय नै बनाउन माग गरिन। गाउँ फर्क अभियान चलाउनुपर्ने, शिक्षा र स्वास्थ्य निःशुल्क गर्नुपर्ने बताउँदै उनले नेपालमा लगानीको सुरक्षा नभएको र कर्मचारीले घुस खाने गरेका कारण स्वदेशकै लगानी विदेश गएको सुनाइन्।
उनले ठुला नेताहरू पदमा हुँदा नगर्ने र नहुँदा विरोध मात्रै गरिरहने भन्दै सुध्रन आग्रह गरिन्। ‘म आफूबाट सुध्रिन्छु,ठूलाठूला नेताहरू सुध्रिनु पर्‍यो,’उनले भनिन्,‘आफू अर्थमन्त्री हुँदा केही नगर्ने र अर्को अर्थमन्त्री आउनेवित्तिकै आलोचना गर्ने, यो बानी परित्याग गर्नुपर्छ।’
उनले नेताहरूलाई अहिले एउटा बालेनलाई देखेर दिक्क लागेको सुनाइन। तर, यस्ता बालेनहरु देशैभर जन्मने उनले बताइन। आर्थिक विकासमा मिलेर काम गर्न उनले सुझाव दिइन।
सांसद कृष्ण प्रसाद दाहालले चालु आर्थिक वर्षको दुई महिना पनि बाँकी नरहँदासम्म विकास खर्च ३१.६६ प्रतिशत मात्रै भएको उल्लेख गरे। उनले विकास व्यवस्थापनमा गतिलो पहल चाल्न नसके सिद्धान्त र प्राथमिकता केवल निबन्ध मात्रै हुने बताए।
सांसद यज्ञराज सुनुवारले भृकुटीमण्डपमा ‘बालेन शाहको लौरो, अयोग्यहरू भाग्यो’ भन्ने नारा लागिरहेको सुनाए।
उनले काठमाडौं महानगरको मतगणनामा अग्रता लिइरहेका बालेनको समर्थनमा नाराबाजी गर्ने पुस्ता २०६२/०६३ को आन्दोलनमा सहभागी नभएको बताए। ‘बालेन शाहको समर्थनमा जुलुस लगाउनेमा न २०६२/०६३ को जनआन्दोलनको पुस्ता छ, न २०४८ साल २०४६ सालको आन्दोलनमा सहभागी भएको पुस्ता छ, न २००७ सालको इतिहासको क्रान्तिको नेतृत्व गरेको पुस्ता छ,’उनले प्रश्न गरे,‘आज किन यस्तो भइरहेको छ।’
व्यवस्था बदलिए पनि जनताको अवस्था बदलिन नसकेको उनले बताए। ‘पात्र बदलिए प्रवृत्ति बदलिएन,सरकार बदलियो संस्कार बदलिएन,’उनले भने,‘आज यही कुराले उनीहरूको मनमा घर गरिरहेको छ।’
उनले मान्छेको ध्यान आकृष्ट गर्न त्यो पङ्क्ति सफल भइरहेको सुनाए। ‘यो केवल सत्तापक्ष र प्रतिपक्षका लागि मात्रै होइन,’उनले भने,‘यो समग्र राजनीतिक नेतृत्व गरिरहेका सबैका लागि गम्भीर प्रश्न हो।’
संसद्मा अर्थमन्त्री जनार्दन शर्माले आगामी बजेट तथा कार्यक्रम मार्फत सार्वजनिक ऋणलाई राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्र, उत्पादनशील क्षेत्र तथा पुँजी निर्माणमा उपयोग गरिने लगायतका बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका छन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.