मङकीपक्स भाइरस

समलिङ्गी पुरुष र बाइसेक्सस्युलमा सङ्क्रमण धेरै, विदेशबाट आउनेलाई क्वारेनटिनमा राख्न सुझाव

समलिङ्गी पुरुष र बाइसेक्सस्युलमा सङ्क्रमण धेरै, विदेशबाट आउनेलाई क्वारेनटिनमा राख्न सुझाव

काठमाडौं : सरकारले विश्वव्यापी रूपमा फैलिने क्रममा रहेको मङकीपक्स रोग नेपालमा पनि देखिन सक्ने भन्दै विदेशबाट आउने यात्रुलाई दुई हप्ता अनिवार्य क्वारेनटिनमा बस्न सुझाएको छ।
बिदेशीसँगको प्रत्यक्ष सम्पर्क र अन्तर्राष्ट्रिय उडान हुँदै आउने व्यक्तिहरूबाट सङ्क्रमणको जोखिम बढ्ने भएकाले सचेत रहन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ। यो रोग सर्न नदिन व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्ने विज्ञहरूले बताएका छन्।
कुनै व्यक्तिको शरीरबाट निस्किएका छिटाहरू आफ्नो सम्पर्कसम्म नआउन र मास्कको प्रयोग गर्न मन्त्रालयले आग्रह गरेको छ। मंकीपक्सको सङ्क्रमणबाट बच्न सरकारले आवश्यक कदम चालिसकेको छ भने सीमा नाकाहरूमा निगरानी बढाइसकेको जनाएको छ।
सन १९५८ मा पहिलो पटक अनुसन्धानका लागि राखिएका २ बाँदरमा मङकीपक्स देखिएकोमा सन् १९७० मा कङ्गोमा पहिलो पटक बाँदरबाट यो रोग मानिसमा सरेको पत्ता लागेको थियो।
मङकीपक्स बाँदरबाट मानिसमा सर्ने रोग भए पनि पछिल्लो समय मानिसबाट मानिसमा समेत सर्ने गरेको छ। खास गरी पुरुष पुरुषबीच हुने यौन सम्पर्कबाट यो रोग फैलिएको सरुवा रोग विशेषज्ञ डाक्टर शेर बहादुर पुनले बताए।
बेलायत र युरोपमा समलिङ्गी सङ्क्रमित बढी, गे बारहरू र क्लबहरू अनुसन्धान गर्न ट्रेस
समलिङ्गी पुरुष र बाइसेक्सस्युलमा यो रोग बढी देखिएको पुनले बताए। उनले यसलाई थप पुष्टि गर्न अनुसन्धान भइरहेको सुनाए। उनले सङ्क्रमण हुन नदिन विदेशबाट आउने यात्रुलाई २१ दिनसम्म क्वारेनटिनमा राख्न सुझाव दिए।
मङकीपक्स शरीरमा प्रवेश गरेपछि फोका उठ्ने, बिमिरा आउने, ज्वरो आउने र ग्रन्थिहरू सुन्निनेजस्ता समस्या देखा पर्ने गरेको छ। यो सङ्क्रमण अधिकांश बालबालिकामा देखा पर्ने भएकोले बालबालिकाको स्वास्थ्यमा ख्याल गर्न चिकित्सकले सुझाव दिएका छन्।
यो रोगको सङ्क्रमण हालसम्म विश्वका १२ देशका ९२ जनाभन्दा धेरै मानिसमा पुष्टि भएको छ। विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओले सबै देशलाई सचेत रहन जानकारी दिँदै मङकीपक्स विश्वका अन्य देशमा पनि तीव्र गतिमा फैलिन सक्ने चेतावनी जारी गरेको छ। यो रोगले कोरोनाजस्तै फोक्सोमा खासै असर गर्दैन तर उपचार गरिएन भने जोखिम बढ्न सक्छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading