आमाको सपना

डाक्टर बन्ने तिम्ल्याहा दिदीबहिनीको लक्ष्य

डाक्टर बन्ने तिम्ल्याहा दिदीबहिनीको लक्ष्य

काठमाडौँ : बारा जिल्लाको बिकट गाउँमा एकै कोखबाट एकै पटक जन्मिएका हुन् तीन सन्तान। उनीहरू जन्मिएदेखि अहिले अध्ययनसम्म सँगसँगै छन्। विश्व निकेतन स्कूूलको कक्षा १२ मा अध्ययन गरी रहेका उनीहरू आफूलाई अरू भन्दा फरक, भिन्न र उत्कृष्ट साबित गर्दै आइरहेका छन्।
उनीहरू जन्मँदा मात्रै हैन, पढाइमा पनि कक्षा १ देखि नै सँगसँगै छन्। यी तीनै दिदीबहिनीले शिवपुरी माध्यमिक विद्यालयबाट २०७७ सालमा एसइई उर्तीण गरे।
सविता, अतिका र रविरा खातुन तीन जना एकै पटक जन्मिएका हुन्। तीन जनाको एउटा भाइ छन्। उनीहरू अहिले काठमाडौँमा कोठा भाडामा लिएर पढिरहेका छन्। बाबा मस्जिदमा पढाउँछन्। सामाजिक काममा पनि संलग्न छन्।
तीनै जनाले प्रतिस्पर्धात्मक रूपमा कोअपरेटिभ भएर अध्ययन गरिरहेका छन्। विषयको गहिराइमा पुग्न तीन जना आपसमा छलफल पनि गर्छन्। एसइईको नतिजामा तीनै जनाको समान जिपिए आयो ३.९।
अध्ययनमा प्रतिस्पर्धा गरिरहेका तीन जनाबिच बेलाबेला टाक्कटुक्क परे पनि त्यस्तो बोलचालै बन्द हुँदैन। झगडा भए पनि भाइसँग धेरै हुने गरेको सुनाउँछन् उनीहरू।
आफ्नो सपना छाडेर आफूहरूलाई हुर्काएकी आमाको सपना पुरा गर्न डाक्टर बन्ने लक्ष्य राखेको उनीहरूले बताए। बराबर जिपिए ल्याएका उनीहरू एसइई उर्तीणपछि उच्च शिक्षाका लागि काठमाडौँ त्रिपुरेश्वरको विश्व निकेतन स्कुलमा भर्ना भएर अध्ययन गरिरहेका छन्।
कक्षा १२ अध्ययन गरिरहेका उनीहरूकी आमाको आफै नर्स बन्ने सपना थियो। तर, सानै उमेरमा बिहे गरेकी उनले कक्षा १० पढ्दापढ्दै तिम्ल्याहा सन्तानलाई जन्म दिइन्।
मनभरि पढ्ने रहर हुँदाहुँदै पनि पढ्न नपाएकी उनले आफ्ना छोरीहरूबाट आफ्नो सपना पूरा गर्ने प्रयत्न गरी रहेकी छिन्। आमाकै सपना पूरा गर्ने उद्देश्यले अहिले तिम्ल्याहा दिदीबहिनी साइन्स विषय लिएर डाक्टर बन्ने उद्देश्यले विश्व निकेतनमा अध्ययन गरिरहेका छन्।
उनीहरू जन्मँदा मात्रै तिम्ल्याहा होइनन्, हाइटवेटमा अहिले पनि बराबर जस्तै देखिन्छन्। उनीहरू अध्ययनमा मात्रै हैन, अतिरिक्त क्रियाकलापमा पनि उस्तै पोख्त छन् ।
डाक्टर बन्ने लक्ष्य लिएर विज्ञान सङ्काय पढिरहेका उनीहरू आमाको सपना पूरा गरेसँगै गरिब र समस्यामा परेकाहरूलाई सहयोग गर्ने बताउँछन्। हरेक घरमा स्वास्थ्य क्षेत्र बुझेका, पढेका व्यक्तिहरू भएमा स्वास्थ्य क्षेत्रमा उल्लेख्य प्रगति हुने उनीहरू बताउँछन्।
अरूको ज्यान जोगाउने र आफ्नो घरमा एक जना डाक्टर भयो भने परिवारलाई राम्रो हुने भएकाले डाक्टर पढ्न लागेको बताउँछन् उनीहरू। विश्व निकेतन सरकारी भए पनि निजी विद्यालयमा भन्दा राम्रो गुणस्तरीय शिक्षा दिइरहेको छ। विद्यार्थीहरूलाई छात्रवृत्तिको पनि व्यवस्था भएकाले आफूहरू अरू ठाउँमा नगई यही पढेको उनीहरू बताउँछन्।
मेगा टेलिभिजनका लागि अमृता तामाङले तयार गरेको रिपोर्ट सुन्न यहाँ क्लिक गर्नुहोला ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading