प्रविधिको विकास

टेलिकमले थाल्यो निःशुल्क ई-सिम वितरण, एनसेलले हतार नगर्ने

टेलिकमले थाल्यो निःशुल्क ई-सिम वितरण, एनसेलले हतार नगर्ने

काठमाडौं : सूचना प्रविधिको नयाँ नयाँ विकास भइरहेको छ। बजारमा फिजिकल सिम नचल्ने मोबाइल भित्रिएका छन्। जसले ई-सिम मात्रै सपोर्ट गर्छन्। अहिले भित्रिएका कतिपय नयाँ मोबाइल फिजिकल अर्थात् चिप्स राख्दा चल्दैनन्। ती मोबाइल सेटमा ई-सिम मात्रै चल्ने भएपछि नेपाल टेलिकमले मोबाइल उपभोक्तालाई ई-सिम वितरण थालेको छ। ६ महिनाको प्रयासपछि दूरसञ्चार कार्यालय, काठमाडौं सुनधारा काउन्टरसहित काठमाडौँका नौ वटा काउन्टरबाट निःशुल्क -सिम वितरण सुरु गरेको टेलिकमले जानकारी दिएको छ।
ई-सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकहरूले नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्ने टेलिकमका सह प्रवक्ता रञ्जित लोहियाले जानकारी दिए। उनका अनुसार फिजिकल सिम प्रयोग गरिरहेका ग्राहकहरूले पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क ई-सिममा परिवर्तन गर्न सक्नेछन्।
ई-सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रूपमा प्रयोग गरिने सिम कार्डको आवश्यकता नपर्ने उनले बताए। यसका लागि ई-सिम सपोर्ट गर्ने मोबाइल ह्यान्डसेट आवश्यक हुन्छ। ‘ई-सिम भनेको ईम्बेड गरिएको सिम कार्ड हो। यो भौतिक सिम कार्डहरूको सट्टामा निकालिएको सिम कार्ड हो,’टेलिकमका सह प्रवक्ता लोहियाले पहिचानसँग भने,‘यो प्रयोग गर्नका लागि मोबाइल सेट ई-सिम प्रयोग गर्न मिल्ने हुनुपर्छ।’
हाल बजारमा उपलब्ध हुने प्लास्टिकबाट बनेका चिपजडित कार्डको साटो कम्पनीले मोबाइल डिभाइस तथा विभिन्न डिजिटल डिभाइसमै इम्बेड गर्न सकिने ई-सिम उपलब्ध गराएको टेलिकमले जनाएको छ।
मोबाइल ह्याण्डसेट भित्रै सिम कार्ड भयो भने इम्बेड सिम भनिन्छ। अहिलेसम्म फिजिकल सिम अर्थात् भौतिक सिम सेवा प्रदायकहरूबाट लिएर आफ्नो मोबाइलमा राखेर चलाउने गर्थ्यौ भने अब आउने मोबाइल ह्याण्डसेटमै आफै सिम बनेर आउने भएकाले त्यस्तो सिमलाई ई-सिम भनिएको सह प्रवक्ता लोहियाले बताए।
मोबाइल सेटले ई-सिम सपोर्ट गर्ने/नगर्ने हेर्नका लागि स्टार, ह्यास शून्य ६ ह्यास डायल गर्नुपर्छ। डायल गरी सकेपछि डिस्प्लेमा ई आइडी र केही नम्बरहरू देखायो भने यो मोबाइलले ई-सिम सपोर्ट गर्छ भन्ने थाहा हुन्छ।
दूरसञ्चारका काठमाडौँमा रहेका कार्यालयमा परिचय पत्र सहित गए भौतिक सिमलाई ई-सिममा निःशुल्क परिवर्तन गर्न सकिने लोहियाले बताए। ‘यो प्रविधिको रूपान्तरण हो,’उनले भने,‘नेपालमा पहिलो पटक टेलिकमले घरमा बसेरै ई-सिम लिन सक्ने व्यवस्था गर्दै छ।’
भविष्यमा फिजिकल सिम सपोर्ट नगर्ने मोबाइल सेट आउने भएकाले ई-सिम सुरु गरेको उनले बताए। ‘सुरक्षाको हिसाबले अहिलेको सिम जस्तै सुरक्षित हुन्छ। यो सिम प्रयोग गर्न इन्टरनेट चाहिने भन्ने होइन,’उनले भने,‘फिजिकल अर्थात् भौतिक सिम जसरी चल्ने हो यो त्यसरी नै चल्ने हो। केही फरक छैन।’
आन्तरिक परीक्षण गरेर प्राविधिक त्रुटि नभेटिएपछि ग्राहकलाई सहज तरिकाले उपलब्ध गराउन थालेको लोहियाले बताए। उपभोक्ताले भने ई-सिममा समस्या देखिएको गुनासो गर्न थालिसकेका छन्। मोबाइल ह्याण्डसेटका कारण हो या ई-सिमका कारण हो प्राविधिक परीक्षण पनि भइरहेको टेलिकमले जनाएको छ।
निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेलले भने ई-सिम उपलब्ध गराउन टेलिकमले जस्तो हतार नगर्ने भएको छ। उसले उपभोक्ताको माग अनुसार प्रविधि मैत्री सेवा दिने उल्लेख गरेको छ।
पहिचानसँगको इमेल कुराकानीमा एनसेलले निकट भविष्यमा ई-सिमको योजना ल्याउने जानकारी दिएको हो। ‘आम उपभोक्ताहरूलाई नयाँ प्रविधिको लाभ प्रदान गर्न सक्ने हिसाबले नेपाली बजारमा ई-सिमबाट चल्ने मोबाइल तथा डिभाइसहरू प्रवेश गरी सकेका छैनन्। एनसेलले बजारको परिपक्वता स्वीकार्य स्तरमा पुगेपछि ई-सिम सुविधा ल्याउने विषयमा समीक्षा गर्नेछ’एनसेलले भनेको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading