एनआरएनए स्थापना दिवस

विदेशी लगानीकर्तालाई नेपाल पठाउन सरकारको आग्रह

विदेशी लगानीकर्तालाई नेपाल पठाउन सरकारको आग्रह

काठमाडौं : सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेशमा लगानी गर्न आव्हान गरेको छ। गैरआवासीय नेपाल सङ्घ एनआरएनए स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा लगानी गर्न आव्हान गरेका हुन्।
प्रधानमन्त्री देउवाले विदेशमा आर्जन गरेको पुँजी, प्राविधिक तथा व्यवस्थापकीय ज्ञान, सीप र कौशललाई मुलुकको समृद्धिमा लगाउन अपिल पनि गरे। गैरआवासीय नेपालीले सहज रूपमा लगानी गर्न सक्ने र लगानीको प्रतिफल उपभोग गर्न सक्ने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको देउवाले बताए।
‘नेपालको विकास र समृद्धिको अभियानमा एनआरएनएको सहयोग र सद्भाव निरन्तर जारी रहने कुरामा विश्वास व्यक्त गर्दछु। गैर आवासीय नेपाली सङ्घले विदेशमा नेपाली भाषा, संस्कृति, परम्परा, कलाकृति र साहित्यको प्रचारप्रसार गरी नेपालको मौलिक संस्कृति र सभ्यतालाई विश्वभर फैलाउन सहयोगात्मक भूमिका निभाउँदै आएको छ,’प्रधानमन्त्री देउवाले भने,‘यसलाई आगामी दिनमा पनि निरन्तरता दिँदै विदेशी भूमिमा नेपाली संस्कृतिलाई प्रवर्द्धन गर्न सङ्घले आफ्ना क्रियाकलापलाई सशक्त रूपमा अघि बढाउनेछ भन्ने विश्वास लिएको छु।’
प्रधानमन्त्री देउवाले विदेशमा नेपालको पहिचान दिलाउन र विदेशी लगानीकर्तालाई नेपालमा लगानीका लागि उत्प्रेरित गर्न महत्त्वपूर्ण भूमिका खेल्न आग्रह पनि गरे। ‘गैरआवासीय नेपाली समुदायले विदेशमा नेपालमा उत्पादित वस्तुको उपभोगलाई प्राथमिकता दिन सके यसबाट स्वदेशी उत्पादनको निकासी प्रवर्द्धन गर्न सहयोग पुग्ने हुन्छ। यसबाट नेपाली श्रम, सीप र कच्चापदार्थमा आधारित साना तथा मझौला उद्योगधन्दाको संरक्षणमा समेत टेवा पुग्छ,’उनले भने,‘गैर आवासीय नेपालीले आफूले विदेशमा आर्जन गरेको आयलाई नेपालमा विभिन्न उत्पादनमूलक क्षेत्रमा लगानी गर्न जोड दिनुका साथै सम्बन्धित देशमा रहेका नेपाली राजदूतावाससँग समन्वय र सहकार्य गरी विदेशी लगानीकर्ताको पुँजी र प्रविधिलाई नेपालमा भित्र्याउनसमेत अग्रसरता लिन आवश्यक छ।’
सङ्घको आग्रह अनुसार चालु आर्थिक वर्षको बजेट वक्तव्यमा नेपाल सरकारले विदेशी लगानीको न्यूनतम सीमा पाँच करोडबाट घटाएर दुई करोड रुपैयाँ कायम गरेको छ। त्यस्तै १० करोड सम्मको वैदेशिक लगानीको स्वीकृति स्वचालित प्रणालीबाट हुने व्यवस्था मिलाइने उल्लेख गरिएको देउवाले बताए।
धितो पत्रको दोस्रो बजारमा गैरआवासीय नेपालीको लगानी खुला गर्न कानुनी व्यवस्था मिलाइने कुरा समेटिएको उनले बताए। सरकारले वैदेशिक रोजगारीमा गएका नेपालीलाई धितो पत्रको प्राथमिक निष्कासनमा १० प्रतिशत शेयर आरक्षित गर्ने व्यवस्था पनि गरिएको छ। यसबाट गैरआवासीय नेपालीलाई नेपालमा विभिन्न माध्यमले लगानी गर्न उत्प्रेरित गर्ने अपेक्षा सरकारको छ।
प्रधानमन्त्री देउवाले गैर आवासीय नेपालीको नेपाल आवागमनमा सहजीकरणदेखि लिएर लगानी र सम्पत्तिको संरक्षण गर्नेसम्मका काममा सरकारले आफ्नो तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउँदै आएको उल्लेख गरे। सङ्घले लामो समयदेखि उठाउँदै आएको नागरिकतासम्बन्धी सवाललाई पनि निकट भविष्यमा नागरिकतासम्बन्धी ऐनमा संशोधन गरेर समाधान गरिने उनले बताए।
नागरिकता दिन प्रतिबद्ध
गृहमन्त्री बालकृष्ण खाँणले गैरआवासीय नेपालीलाई नेपालको संविधानअनुसार नागरिकता दिलाउन वर्तमान सरकार प्रतिबद्ध रहेको बताएका छन्। गैरआवासीय नेपाली सङ्घ एनआरएनए दिवसका अवसरमा आयोजित कार्यक्रममा गृहमन्त्री खाँणले नागरिकता विधेयक सबै दलको सहमतिमा कुनै पनि नेपाली नागरिक नागरिकताविहीन हुन नपरोस् र गैरआवासीय नेपालीले पनि संविधानअनुसार नागरिकता प्राप्त गरुन् भन्ने उद्देश्यले सरकारले ल्याएको स्पष्ट पारे। उनले गैरआवासीय नेपालीलाई विदेशमा आर्जन गरेको सीप, लगानी र पुँजी नेपालमा भित्र्याउनका लागि आह्वान गर्दै त्यसको सुरक्षा सरकारले गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
कार्यक्रममा परराष्ट्र सचिव भरतराज पौड्यालले सङ्घलाई सरकारले महत्त्वका साथ आत्मसात् गरेको उल्लेख गर्दै सरकारले नीति तथा कार्यक्रममा सङ्घसँगको सहकार्य र सङ्घको योगदानलाई परिचालन गर्ने उद्देश्य राखेको जानकारी दिए। उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले गैरआवासीय नेपालीले आफ्नो ज्ञान, सीप र पुँजी नेपालमा भित्र्याएर निजी क्षेत्रसँग गरेको सहकार्य प्रशंसनीय रहेको बताए।
सङ्घकी कार्यकारी अध्यक्ष रविना थापाले विदेशमा बस्ने नेपालीको मर्म बुझेर सङ्घको स्थापना भएको बताइन। यसले अप्ठ्यारो परेका बेला नेपाल र नेपालीलाई महत्त्वपूर्ण सहयोग र योगदान गर्दै आएको उनले उल्लेख गरिन।
सङ्घका अध्यक्ष कूल आचार्यले वर्तमान सरकारले गैरआवासीय नेपालीलाई नागरिकता दिलाउन गरेको कार्यको प्रशंसा गर्दै थप लगानीमैत्री कानुन निर्माणका लागि आग्रह गरे। अर्का अध्यक्ष डा बद्री केसीले आगामी निर्वाचनदेखि गैरआवासीय नेपालीलाई आम निर्वाचनमा मतदान गर्ने व्यवस्था कार्यान्वयन गर्न माग गरे। सङ्घका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले मुलुक समृद्ध नभई व्यक्तिगत सफलताले मात्र साध्य नहुने उल्लेख गर्दै यस उद्देश्यलाई परिपूर्ति गर्ने भावनाका साथ अघि बढ्न सम्पूर्ण गैरआवासीय नेपालीलाई आग्रह गरे।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading