प्रज्ञा सिस्नुपानी देउसी : ओली गए, देउवा र प्रचण्ड गएनन्

प्रज्ञा सिस्नुपानी देउसी : ओली गए, देउवा र प्रचण्ड गएनन्

काठमाडौं : कोरोना महामारीका कारण दुई वर्ष हुन नसकेको ‘प्रज्ञा सिस्नुपानी देउसी’ कार्यक्रम यो वर्ष आयोजना गरिएको छ। शनिवार नेपाल प्रज्ञा–प्रतिष्ठान र सिस्नुपानी नेपालले संयुक्त रूपमा प्रज्ञा भवनमा देउसी भैलोको आयोजना गरिएको थियो।
समसामयिक राजनीति, बढ्दो भ्रष्टाचार तथा सामाजिक विसंगतीविरुद्द व्यङ्ग्यात्मक प्रस्तुति, देउसी भैलोसँगै विभिन्न साङ्गीतिक प्रस्तुतिसमेत प्रस्तुत गरियो।
उक्त देउसी भैलो कार्यक्रममा कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, मनोज गजुरेल, चक्र दुवाडीलगायतले व्यङ्ग्यात्मक प्रस्तुति दिए भने व्यङ्ग्य कविका रूपमा परिचित अर्जुन पराजुलीले आधा दर्जन कविता वाचन गरेर दर्शकको मन जिते।
देउसी भैलोमा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, विभिन्न राजनीतिक दलका नेता, काठमाडौँ तथा ललितपुर महानगरका प्रमुख,सुरक्षा निकायका प्रमुख, संवैधानिक निकायका प्रमुख लगायत सहभागी थिए। निम्तो पठाए पनि प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल कार्यक्रममा सहभागी भएनन्।

प्रज्ञा भवन र डबलीमा खचाखच भरिएका दर्शकका अगाडि अच्युतराम भण्डारी नेतृत्वमा ३८ जनाले तबलाबाट दर्शकलाई स्वागत गरे।
लगत्तै मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, मनोज गजुरेलले पैसाका लागि कसरी नेताले जनताको भावना सँग खेल्छन् भन्ने प्रस्तुति दिए। सिद्धान्त फरक भए पनि सत्ता, शक्ति र पैसामा उनीहरूले इमान बेच्छन् भन्ने कुराको प्रस्तुति दिँदा दर्शकले तालीले समर्थन गरे।
कवि अर्जुन पराजुलीले आधा दर्जन कवितामा समसामयिक विषयलाई उठान गरे। विभिन्न कालखण्डमा नेता तथा नेतृत्वले जनतालाई देखाउने सपना र ती सपनाको भर्‍याङ चढेर जनताका सपनामाथि खेलबाड गर्छन् भन्ने कुरालाई गम्भीर रूपमा प्रस्तुत गरे।

तिहारको उपलक्ष्यमा सिस्नुपानी नेपालले देउसी भैलो कार्यक्रम गर्दै आएको छ । दुई वर्ष पछि भएको कार्यक्रम भव्य र सभ्य भएको आयोजकले जनाएको छ।
‘देउसी भैलो उत्साहजनक रह्यो। दर्शकको मायाले हामी पुलकित भएका छौँ,’ संस्थाका अध्यक्ष लक्षण गाम्नागेले भने। देशको विकृति विसङ्गतिका विरुद्ध सिस्नुपानी नेपालले सामाजिक आन्दोलन अभियानका रूपमा चलाउँदै आएको छ।
यसलाई अझ सशक्त बनाएर खबरदारी गर्दै सामाजिक र सांस्कृतिक रूपान्तरणका लागि आवाज उठाइरहने आयोजकले जनाएको छ। देशलाई सुशासनको मार्गमा खबरदारी गर्न सिस्नुपानीले निरन्तर लागिरहने आयोजकले जानकारी दिएको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading