नीतिगत भ्रष्टाचार

नेपाल एयरलाइन्सलाई सोस्ने, विदेशीलाई पोस्ने

नेपाल एयरलाइन्सलाई सोस्ने, विदेशीलाई पोस्ने

काठमाडौं : नेपाल वायु सेवा निगमका चार वटा ट्रेड युनियनहरूले नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीलाई कारबाही गर्न माग गरेका छन्। राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको सेवा खोसेर भारतीय विमान इन्डिगोलाई पोस्ने काम गरेको भन्दै चार वटै ट्रेड युनियनले कारबाही गर्न माग गरेका हुन्।
निजी वायुसेवा कम्पनीको आर्थिक प्रलोभनमा नेपाल एयरलाइन्सलाई महानिर्देशक प्रदीप अधिकारीले सौताको व्यवहार गरेका छन्। नेपाल एयरलाइन्सको काठमाडौं दिल्ली काठमाडौं उडान रोकेर राष्ट्रघाती काम गरेको ट्रेड युनियनहरूको सङ्घर्ष समितिले निकालेको विज्ञप्तिमा लेखिएको छ।
राष्ट्रघाती काममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीले मनमौजी तथा हवाई माफियाको साँठगाँठमा निगमले गरिरहेको ग्राउन्ड ह्याण्डलिङ सेवा खोसिएको ट्रेड युनियनहरूले आरोप लगाएका छन्।
पहिला हवाई सेवा शुल्क वृद्धि गरेर करोडौँ लाभ लिने प्रयास गरेका महानिर्देशक अधिकारीले अहिले निगमलाई धराशायी बनाएर निजी र विदेशी हवाई कम्पनीलाई पोस्ने काम गरेको आरोप लागेको हो। प्राधिकरणले निगमले गर्दै आएको ग्राउन्ड ह्याण्डलिङको जिम्मा निजी क्षेत्रलाई क्षेत्र दिने प्रयास थालेको छ। आईकाओले समेत निगमको कामलाई प्रोत्साहन दिएकै बेला प्राधिकरणका महानिर्देशक अधिकारीले चलखेल गर्न थालेका छन्। उक्त चलखेलकै कारण प्राधिकरणले निगमका कर्मचारीले आन्दोलन गर्न सक्ने र त्यसरी आन्दोलन गरेको अवस्थामा ग्राउन्ड ह्याण्डलिङमा समस्या हुने धम्की समेत दिन थालेका छन्।
यसभन्दा अघि पनि हिमालय एयरलाइन्सलाई ग्राउन्ड ह्याण्डलिङको जिम्मा दिने प्रयास भएका थिए। त्यतिबेला चर्को विरोध भएपछि निर्णय रोकिएको थियो। अहिले त्यही कदम अगाडि बढाउने प्रयास भइरहेको छ। प्राधिकरणको निजी र विदेशी विमानलाई पोस्ने र नेपाल एयरलाइन्सलाई सोस्ने कदमविरुद्ध निगमका कर्मचारीहरू विरोधमा उत्रिएका छन्।
क्यानको दादागिरी : वायुसेवा निगम सिद्ध्याउने धमिरा
उनीहरूले उक्त गैरजिम्मेवार निर्णय तत्काल फिर्ता गरी राष्ट्रिय ध्वजावाहकको गरिमा कायम गर्न अपिल पनि गरेका छन्। प्राधिकरणका महानिर्देशक र तालुकदार मन्त्रीले निगमप्रति सौताको जस्तो व्यवहार गर्ने कार्य तत्काल रोक्न ट्रेड युनियनहरूले अनुरोध गरेका छन्। ‘महानिर्देशक अधिकारीले प्राधिकरणलाई आफ्नै निजी कम्पनी जसरी नै सञ्चालन गर्न खोजेका छन्,’विज्ञप्तिमा लेखिएको छ,‘पदीय मर्यादा बिर्सेर राष्ट्र विरुद्ध अपराध गरेको ठम्याई सङ्घर्ष समितिले गरेको छ।’
नेपाल र भारत सरकारबिच भएको जी टु जी एग्रिमेन्ट अन्तर्गत निगमले नियमित रूपमा काठमाडौं दिल्ली काठमाडौं सेक्टरमा हप्ताको १४ वटा उडान गरिरहेको विज्ञप्तिमा उल्लेख छ। नेपाल एयरलाइन्सको उडान कटौती गरेर भारतीय निजी वायुसेवा कम्पनीको उडान सङ्ख्या थप गर्ने प्राधिकरणको निर्णय गैरजिम्मेवार रहेको चार वटै ट्रेड युनियनले उल्लेख गरेका छन्। उडान नम्बर आर ए २१७/२१८ बाट काठमाडौं दिल्ली काठमाडौँको लागि प्यासेन्जर चेक इन भइरहेको समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुखको ठाडो निर्देशन तथा गुण्डागर्दी शैलीमा काउन्टर बन्द गर भनेर धम्काउने कार्य गरेको भएको सङ्घर्ष समितिले जनाएको छ।
समितिले नेपालको हवाई इतिहासमा यो घटना अत्यन्त निन्दनीय कदम भएको उल्लेख गरेको छ। उक्त सेड्युल फ्लाइट रद्द भइसकेपछि निगमले सो उडानका यात्रुहरूलाई गन्तव्यमा पुर्‍याउन चार्टड उडानका लागि अनुमति लिन नागरिक उड्डयन प्राधिकरणसँग पहल गर्दा उडानको अनुमति समेत नदिएको सङ्घर्ष समितिले जनाएको छ।
‘केही यात्रुहरूलाई निगमले टिकट खरिद गरी अन्य वायुसेवाको उडानबाट गन्तव्यमा पठाएको तथा बाँकी यात्रुहरूलाई होटेल व्यवस्थापन गरी बसोबासको व्यवस्था मिलाई अन्य दिनको टिकट व्यवस्था गरिएको छ,’विज्ञप्तिमा लेखिएको छ,‘उक्त व्यवस्थापन गर्दा निगमले करोडौँ आर्थिक क्षति बेहोर्नुका साथै निगमको साखमा गहिरो चोट पुगेको छ।’
एउटा नियामक निकायको गैरजिम्मेवार कदमले अर्को सरकारी संस्थान डुबाउने र विदेशी निजी वायुसेवालाई पोस्ने कार्य देशद्रोही तथा नीतिगत भ्रष्टाचार समेत भएको सङ्घर्ष समितिले उल्लेख गरेको छ। समितिले उक्त घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा भन्दा कडा कारबाही गर्न तालुक मन्त्रालय तथा सम्बन्ध सरोकारवाला निकायहरूलाई अनुरोध गरेको छ।
निगमले नियमित हप्तामा १४ वटा उडान गरिरहेको काठमाडौं–दिल्ली–दिल्ली काठमाडौं सेक्टरमा भारतीय निजी वायुसेवा कम्पनी इण्डिगोलाई पोस्न राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको हप्ताको ४ वटा कट्टा गरी इण्डिगो काठमाडौं–दिल्ली–दिल्ली काठमाडौं सेक्टरको हप्ताको २१ उडानमा ७ उडान थप गरेर २८ उडान कायम गरिएको छ। उडान कटौतीले गर्दा एकातिर नेपाल वायुसेवा निगमलाई धराशायी पार्ने राष्ट्रघाती काम भएको छ भने अर्कोतिर काठमाडौं–दिल्ली–दिल्ली काठमाडौं सेक्टरका यात्रुहरूसँग मनपरी भाडा असुलेर लुट्ने छुट पनि महानिर्देशक अधिकारीले दिएको आरोप निगमका कर्मचारीहरूले लगाएका छन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading