समानुपातिक

गणना सकिनै लाग्दा माधव नेपालको पार्टीलाई ‘थ्रेस होल्ड’ कटाउन सकस

गणना सकिनै लाग्दा माधव नेपालको पार्टीलाई ‘थ्रेस होल्ड’ कटाउन सकस

काठमाडौं : प्रतिनिधि सभा र प्रदेश सभा चुनावको समानुपातिक मतगणना सकिने चरणमा रहेको निर्वाचन आयोगले जनाएको छ। आयोगले अहिलेसम्म १ करोड ५ लाख मतगणना भइसकेको जनाएको छ।

गणना भइसकेको मतमध्ये ५ प्रतिशत बदर भएको आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जानकारी दिए। प्रत्यक्षमा भन्दा १ लाख बढी मत खसेको समानुपातिकतर्फ अब ५ लाख मत मात्रै गणना हुन बाँकी रहेको भट्टराईले बताए।

स्याङ्जा र बाजुराको मतगणना नै सुरु हुन सकेको छैन। स्याङ्जामा गणना सुरु गर्ने या पुन मतदान गर्ने भन्नेमा आयुक्तहरूबिच नै मत बाझिएको छ। आयुक्त ईश्वरी पौडेलले पुन मतदान गर्नुपर्नेमा फरक मत राख्नु भएको आयोग स्रोतले बताएको छ।

पुन मतदान गर्न एमाले महासचिव शङ्कर पोखरेले सोमबार र मतगणना सुरु गर्न काँग्रेस नेता रामचन्द्र पौडेलले मङ्गलवार आयोगलाई ध्यानाकर्षण गराएका थिए। आयोगले मङ्गलवार नै निर्णय गर्ने जवाफ दिए पनि आयुक्तहरूबिच मत बाझिएको निर्णय गर्न सकेको छैन।

धाँधली भएको उजुरी पछि आयोगले दोलखाका १० मतदान केन्द्रमा पुन मतदान गर्ने निर्णय गरेको छ। त्यहाँ बिहीबार (भोलि) मतदान हुँदै छ।

खड्का विजयी

समानुपातिकको मतपेटिकामा प्रत्यक्षको मतपत्र भेटिएपछि परिणाम घोषणा नभएको उदयपुर क्षेत्र नम्बर १ मा काँग्रेसका डा. नारायण खड्का विजयी भएका छन्।

चौथो पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित खड्का वर्तमान सरकारमा परराष्ट्रमन्त्री छन्। खड्काका प्रतिस्पर्धी एमालेकी मञ्जुकुमारी चौधरी दुई हजार ३७९ मतान्तरले पराजित भइन। खड्काले ३१ हजार २७० मत प्राप्त गर्दा चौधरीले २८ हजार ८९१ मत पाइन।

गत २०७४ सालको निर्वाचनमा पनि खड्का र चौधरीबिच नै प्रतिस्पर्धा भएको थियो। त्यतिवेला खड्का ३३ हजार १४२ मत ल्याएर विजयी भएका थियो भने चौधरीले ३२ हजार ५९४ मत प्राप्त गरेकी थिइन।

थ्रेस कटाउने दल

अहिलेसम्मको गणनामा सात दलले राष्ट्रिय मान्यता पाउने मत पाइसकेका छन्। एकीकृत समाजवादी भने थ्रेस होल्ड कटाउन सङ्घर्ष गरिरहेको छ। अब गणना हुन बाँकी मत र अहिलेसम्म समाजवादीको गणना भइसकेको मतको रेसियो अनुसार थ्रेस होल्ड कटाएर राष्ट्रिय दलको मान्यता पाउने सम्भावना कमजोर बनेको छ।

निर्वाचन आयोगले गणना भएको मध्ये ९९ लाख ९३ हजार ५ सय ६८ मत सदर भएको जनाएको छ। गणनामा प्रत्यक्षमा एमालेले भन्दा धेरै सिट ल्याएको काँग्रेसलाई समानुपातिकमा एमालेले झन्डै डेढ लाख मतले उछिनेको छ।

एमालेले २६ लाख ९४ हजार १ सय २४ मत ल्याएर पहिलो स्थानमा रहँदा काँग्रेसले २५ लाख ४८ हजार ७ सय ७८ मत पाएको छ। नेकपा माओवादी केन्द्रले ११ लाख ४३ हजार ५ सय मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार १ सय ७१ मत ल्याएको छ।

राप्रपाले ५ लाख ७० हजार १ सय, जनता पार्टी, नेपाल जसपाले ३ लाख ८८ हजार ४ सय ८२, जनमत पार्टीले ३ लाख ४६ हजार ९ सय मत पाएको छ। राष्ट्रिय दलको मान्यता पाउने अवस्था कमजोर बनेको नेकपा एकीकृत समाजवादीले २ लाख ८१ हजार ३ सय मत ल्याएको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading