अपर तामाकोसीको सब-स्टेशन निर्माणमा जोडियो एमसीसी, स्थानीय आन्दोलित

अपर तामाकोसीको सब-स्टेशन निर्माणमा जोडियो एमसीसी, स्थानीय आन्दोलित

काठमाडौं : स्थानीयको विरोधकाबिच काठमाडौँको शंखरापुर बोझेनीमा अपर तामाकोसी जलविद्युत आयोजनाको सब-स्टेशन बनाउन सर्वे सुरु भएको छ। ४५६ मेगावाटको आयोजनाको विद्युत् प्रसारण लाइनको सब-स्टेशन बनाउँदा बिना सूचना स्थानीयको जग्गा अधिग्रहण गरेको भन्दै स्थानीयले तीन दिनदेखि आन्दोलन जारी राखेका छन्।

सब-स्टेसन निर्माणले बोझेनीका आदिवासी पूर्ण रूपमा विस्थापित हुनुपर्ने भएकाले कुनै पनि हालतमा आयोजना स्थानान्तरण हुनुपर्ने माग शंखरापुर नगरपालिकाले गरेको छ। अपर तामाकोसी लगायत तीन वटा लाइनले आदिवासीको भूभाग गुम्ने र विस्थापित हुने भन्दै सब-स्टेशन बस्ती भन्दा टाढा राख्न माग गरेको शंखरापुर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष सूर्यबहादुर तामाङले बताए।

राज्यले स्थानीयको आवाज नसुनेको उनले बताए। ‘नगर परिषद्ले निर्णय गरेर सबस्टेशन बस्ती भन्दा टाढा बनाउन प्रधानमन्त्री कार्यालयको समेत ध्यानाकर्षण गराएका थियौ,’वडा अध्यक्ष तामाङले पहिचानसँग भने,‘एमसीसी समेत जोडेर सरकारले स्थानीय सरकारमाथि नै बलमिच्याई गरेको छ।’

शंखरापुर नगरपालिकाको माग समेत नसुनेको सरकारले स्थानीयको आन्दोलनमा बल प्रयोग गरेर मङ्गलवारबाट सबस्टेशन सर्वेको काम सुरु गरेको वडा अध्यक्ष तामाङले बताए। ‘बस्ती नै विस्थापित हुने अवस्था ल्याउने काममा एमसीसी परियोजना समेत जोडिएर आएको छ,’उनले भने,‘सशस्त्र प्रहरी र नेपाल प्रहरीले स्थानीयलाई लछारपछार गर्दै पक्राउ गरेको छ।’

स्थानीयले गरेको आन्दोलनको भिडियो

उनले स्थानीय तहको अधिकार नै नभएको जस्तो एकलौटी सबस्टेशन निर्माण हुन लागेको आरोप लगाए। ‘नगरपरिषद्ले नै निर्णय गरेर जनताको माग पुरा गर्नु पर्छ भनेको छ,’उनले भने, स्थानीय सरकारलाई बेवास्ता गरेर जुन काम भएको छ त्यसको स्थानीयले विरोध जारी राखेका छन्।’

सबस्टेशन निर्माणको विरोधमा उत्रिएका स्थानीयलाई प्रहरीले दमन गरेको स्थानीय सङ्घर्ष समितिका संयोजक तुलराम तामाङले बताए। महिलाहरूलाई समेत घरघरमा पसेर प्रहरीले दुर्व्यवहार गरेको उनले बताए। ‘अपर तामाकोशीबाट एउटा लाइन आएर सब-स्टेशनमा जोडिन्छ,एउटा हाइटेन्सन लाइन जर्सिङपौवा हुँदै भक्तपुरको चाँगुनारायणमा ल्याएर जोडिन्छ,’उनले भने,‘त्यही सब-स्टेशनबाट रातमाटे हुँदै बुटवल निकाल्ने एमसीसीको लाइन त्यहाँ जोडिन्छ।’

त्यहाँबाट तीन तिर हाइटेन्सन लाइन जोडिने उनले बताए। विद्युत् प्राधिकरणको जग्गा अधिग्रहण नै अवैधानिक भएको उनले बताए।

प्राधिकरणले सब-स्टेशन निर्माणका लागि १ सय ७० रोपनी जग्गा अधिग्रहण गरेको छ। बस्तीको माझमा बन्न लागेको सब-स्टेशनबाट करिब ५ सय घरधुरी प्रभावित हुने भन्दै स्थानीय आन्दोलनमा छन्।

आयोजनाले निर्माण कार्य अघि बढाउने बेलामा सबस्टेशन काभ्रेको मण्डन देउपुरमा राख्ने भनेर जालसाँझी गरी अहिले बोझेनीमा सब-स्टेशन राख्न खोजेको सङ्घर्ष समितिको आरोप छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading