सन्दीप लामिछानेको मुद्दामा ‘उदार’ आदेश, उल्लङ्घन गरे फेरी थुनामा पठाइने

सन्दीप लामिछानेको मुद्दामा ‘उदार’ आदेश, उल्लङ्घन गरे फेरी थुनामा पठाइने

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उदार भएर आदेश दिएको छ। न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको इजलासले उनलाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो।

नबालिका बलात्कार आरोपमा पुर्पक्ष लागि थुनामा रहेका लामिछाने सर्तसहित २० लाख तिरेपछि थुनामुक्त हुने छन्। उनले धरौटीको हकमा नगद वा सो बराबरको बैङ्क जमानत नै राख्नुपर्नेछ। धरौटी बापत जेथा राख्न लामिछानेलाई अनुमति नहुने अदालतले आदेश दिएको छ।

आदेशमा थुनाको विकल्प प्रयोग गर्न अदालत उदार हुनुपर्ने लेखिएको छ। ‘फौजदारी न्यायशास्त्रको मान्यता अनुसार अभियुक्तलाई थुनामा नराखी मुद्दाको पुर्पक्ष गर्न दिनु उपयुक्त हुने अवस्था देखिएकोमा थुनाको विकल्प प्रयोग गर्नमा अदालत उदार हुनुपर्ने हुन्छ,’आदेशमा लेखिएको छ,‘यी प्रतिवादीलाई मुद्दाको पुर्पक्षको लागि थुनामा राखिरहनु उपयुक्त नदेखिएकोले तहाँ (जिल्ला) अदालतबाट मिति २०७९।०७।१८ मा भएको आदेशलाई बदर गरिएको छ।’


मुद्दाको फैसला नभएसम्मका लागि लामिछानेलाई नेपालबाहिर जान रोक लगाइएको छ। आदेश उल्लङ्घन गरेमा लामिछानेलाई मुद्दाको पुर्पक्षको क्रममा धरौटी माग गर्ने गरी भएको आदेश स्वतः निष्क्रिय भएको मानिने छ।

सन्दीपविरुद्ध एक नाबालिकालाई जबरजस्ती करणी गरेको मुद्दामा गएको कात्तिक १८ गते जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। त्यसविरुद्धको लामिछानेले उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए।

आदेश अनुसार उनले आफुविरुद्ध लागेको बलात्कार मुद्दाको विषयमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अभिव्यक्ति दिन नपाउने अदालतका रजिस्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए। ‘२० लाख धरौटी रकम राखेर रिहा गर्ने आदेश भएको छ,’उनले भने,‘धरौटी राखेर रिहा गर्छौ।’

लामिछानेलाई मुद्दाका वादी वा परिवारका सदस्य तथा मुद्दाका सन्दर्भमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा कुनै विचार, टिप्पणी वा धारणा व्यक्त गर्न रोक लगाइएको छ। अदालतले राज्यलाई उनको पासपोर्ट रोक्का गर्न पनि आदेश दिएको छ।

लामिछानेले काठमाडौं उपत्यका बाहिर जानुपरेमा प्रहरी वृत्त गौशालालाई पूर्व जानकारी दिनुपर्नेछ। लामिछाने रिहा भए पनि उनी विरुद्धको बलात्कार मुद्दा भने जिल्ला अदालत काठमाडौँमा विचाराधीन अवस्थामा छ।

जबरजस्ती करणी गरेको भन्दै २१ भदौमा प्रहरी वृत्त, गौशालामा किटानी जाहेरी परेका लामिछानेलाई प्रहरीले असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading