वर्तमान आर्थिक स्थिति

सरकारको आम्दानी भन्दा खर्च धेरै

सरकारको आम्दानी भन्दा खर्च धेरै

काठमाडौं : सरकारले पाँच महिनामा ४३५ अर्ब २१ करोड रुपैयाँ खर्च गरेको छ। नेपाल राष्ट्र बैङ्कले पाँच महिनाको देशको आर्थिक तथा वित्तीय विवरण सार्वजनिक गर्दै चालु खर्च ३५४ अर्ब २६ करोड, पुँजीगत खर्च ३३ अर्ब ९९ करोड र वित्तीय व्यवस्था खर्चतर्फ ४६ अर्ब ९६ करोड रहेको जानकारी दिएको छ।

आर्थिक वर्ष २०७९/८० को पाँच महिनामा सङ्घीय सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकम समेत) ३२६ अर्ब ८९ करोड भएको छ। समीक्षा अवधिमा यस अन्तर्गत कर राजस्व तर्फ ३०१ अर्ब ४६ करोड रुपैयाँ र गैर कर राजस्व तर्फ २५ अर्ब ४३ करोड रुपैयाँ परिचालन भएको छ।

२०७९ मङ्सिर मसान्तमा राष्ट्र बैङ्कमा रहेका सरकारका विभिन्न खातामा १८२ अर्ब ४३ करोड रुपैयाँ (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकम समेत) नगद मौज्दात रहेको राष्ट्र बैङ्कले जनाएको छ। २०७९ असार मसान्तमा यस्तो मौज्दात २२७ अर्ब ६९ करोड रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा प्रदेश सरकारहरूको कुल खर्च ३५ अर्ब ६५ करोड रुपैयाँ रहेको छ। समीक्षा अवधिमा प्रदेश सरकारको स्रोत परिचालन ५२ अर्ब ८९ करोड रुपैयाँ रहेको छ। यसमध्ये सङ्घीय सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी ३६ अर्ब ९२ करोड रुपैयाँ र प्रदेश सरकारहरूले परिचालन गरेको राजस्व र अन्य स्रोतबाट १५ अर्ब ९७ करोड रुपैयाँ रहेको राष्ट्र बैङ्कले जनाएको छ।

चालु खाता घाटामा

समीक्षा अवधिमा चालु खाता ३७ अर्ब ९१ करोडले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २९८ अर्ब ५१ करोडले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ५१ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २९ करोड ७२ लाखले घाटामा रहेको छ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २५.३ प्रतिशतले कमी आई ३ अर्ब ४७ करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ६० करोड ४९ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ४ अर्ब ६४ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ७ अर्ब ७ करोड रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा शोधनान्तर स्थिति ४५ अर्ब ८७ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १९५ अर्ब १ करोड रुपैयाँले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ६४ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३४ करोड ६८ लाखले बचतमा रहेको राष्ट्र बैङ्कले जनाएको छ।

२०७९ असार मसान्तमा १२१५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ६.३ प्रतिशतले वृद्धि भई २०७९ मङ्सिर मसान्तमा १२९२ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ मङ्सिर मसान्तमा ३.० प्रतिशतले वृद्धि भई ९ अर्ब ८२ करोड कायम भएको छ।

नेपाल राष्ट्र बैङ्कमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १०५६ अर्ब ३९ करोड रुपैयाँ रहेकोमा २०७९ मङ्सिर मसान्तमा ७.८ प्रतिशतले वृद्धि भई रु.११३९ अर्ब २२ करोड पुगेको छ। बैङ्क तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैङ्कबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा १५९ अर्ब ४१ करोड रुपैयाँ रहेकोमा २०७९ मङ्सिर मसान्तमा ३.८ प्रतिशतले कमी आई १५३ अर्ब ३४ करोड रुपैयाँ कायम भएको छ। २०७९ मङ्सिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.९ प्रतिशत रहेको छ।

भाउ बढ्यो

राष्ट्र बैङ्कको विवरण अनुसार २०७९ मङ्सिर महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.३८ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.११ प्रतिशत रहेको थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.८५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.५९ प्रतिशत रहेको छ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेस्टुरेन्ट तथा होटेल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १५.५६ प्रतिशत, सुर्तीजन्य पदार्थको ११.८१ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.३९ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको ९.०७ प्रतिशत र पेय पदार्थको ८.८४ प्रतिशतले बढेको छ।

गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात उप–समूहको मूल्य सूचकाङ्क १७.३३ प्रतिशत, स्वास्थ्यको ११.२२ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको ८.७६ प्रतिशत, घरायसी उपयोगका वस्तुहरूको ८.२९ प्रतिशत र फर्निसिङ्ग तथा घरायसी उपकरणहरूको ८.२९ प्रतिशतले बढेको छ।

समीक्षा महिनामा काठमाडौं उपत्यकामा ६.५६ प्रतिशत, तराईमा ८.०० प्रतिशत, पहाडमा ७.३२ प्रतिशत र हिमालमा ६.४८ प्रतिशत मुद्रास्फीति रहेको छ। २०७८ मङ्सिर महिनामा यी क्षेत्रहरूमा क्रमशः ५.९१ प्रतिशत, ७.५२ प्रतिशत, ६.९५ प्रतिशत र ४.९१ प्रतिशत मुद्रास्फीति रहेको थियो। २०७९ मङ्सिर महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ९.१५ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.२२ प्रतिशत रहेको थियो।

समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ३.४९ प्रतिशत, १३.१४ प्रतिशत र ४.६९ प्रतिशत रहेको छ। समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि १०.५१ प्रतिशत रहेको छ।

२०७९ मङ्सिर महिनामा वार्षिक बिन्दुगत तलब तथा ज्याला दर सूचकाङ्क ९.७३ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क ६.५३ प्रतिशतले बढेको थियो। समीक्षा महिनामा तलब सूचकाङ्क र ज्याला दर सूचकाङ्क क्रमशः १२.३९ प्रतिशत र ८.९५ प्रतिशतले बढेको छ।

२०७९ मङ्सिर महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.३८ प्रतिशत रहेको छ। सन् २०२२ डिसेम्बर महिनामा भारतको यस्तो मुद्रास्फीति ५.७२ प्रतिशत रहेको छ।

व्यापार घाटा कम
आर्थिक वर्ष २०७९/८० को पाँच महिनामा कुल वस्तु निर्यात ३४.६ प्रतिशतले कमी आई ६७ अर्ब ३० करोड रुपैयाँ भएको राष्ट्र बैङ्कले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १०५.६ प्रतिशतले वृद्धि भएको थियो। गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यात क्रमशः ४३.७ प्रतिशत र ३५.९ प्रतिशतले कमी आएको छ भने अन्य मुलुकतर्फको निर्यात ७.१ प्रतिशतले वृद्धि भएको छ।

वस्तुगत आधारमा जिङ्क सिट, पार्टिकल बोर्ड, ऊनी गलैचा, अलैँची, चिया लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको छ।

आर्थिक वर्ष २०७९/८० को पाँच महिनामा कुल वस्तु आयात २०.७ प्रतिशतले कमी आई ६६४ अर्ब ७५ करोड रुपैयाँ कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ५९.५ प्रतिशतले बढेको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २०.० प्रतिशत, २२.६ प्रतिशत र २१.४ प्रतिशतले कमी आएको छ। वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, स्पोन्ज आइरन, सुन, रासायनिक मल, हवाईजहाजका स्पेयर पार्टस् लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टस्, एम.एस.विलेट, चाँदी, औषधी, कच्चा सोयाविन तेल लगायतका वस्तुको आयात घटेको छ।

निर्याततर्फ सुख्खा बन्दरगाह, जलेश्वर, कैलाली, कृष्णनगर, मेची, त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ। आयाततर्फ सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ।

आर्थिक वर्ष २०७९/८० को पाँच महिनामा कुल वस्तु व्यापार घाटा १८.८ प्रतिशतले कमी आई ५९७ अर्ब ४४ करोड रुपैयाँ कायम भएको राष्ट्र बैङ्कले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ५४.७ प्रतिशतले बढेको थियो। समीक्षा अवधिमा निर्यात–आयात अनुपात १०.१ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १२.३ प्रतिशत रहेको थियो।

समीक्षा अवधिमा भारतबाट परिवर्त्य विदेशी मुद्रा भुक्तानी गरी ५० अर्ब २० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ९२ अर्ब ३४ करोड बराबरको भएको थियो।

समीक्षा अवधिमा विप्रेषण आप्रवाह २३.० प्रतिशतले बढेको छ। विप्रेषण आप्रवाह बढेर ४८० अर्ब ५० करोड रुपैयाँ पुगेको राष्ट्र बैङ्कले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ६.३ प्रतिशतले घटेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.१ प्रतिशतले वृद्धि भई ३ अर्ब ७१ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ६.८ प्रतिशतले घटेको थियो।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading