बैङ्कहरूको लिलामी सूचनाले आत्तिए व्यापारी, उत्रे सडकमा

बैङ्कहरूको लिलामी सूचनाले आत्तिए व्यापारी, उत्रे सडकमा

काठमाडौं : बैङ्किङ आतङ्क बन्द गर्न माग गर्दै उद्योगी व्यवसायी सडकमा उत्रेका छन्। घरजग्गा लिलामी गर्ने बैङ्कहरूको सूचनापछि आत्तिएका उनीहरूले काठमाडौँको माइतीघरमा प्रदर्शन गरेर गुण्डागर्दी बन्द गर्न भनेका छन्।

उच्च ब्याजदरका कारण बैङ्कहरू सधैँ नाफामा हुँदा व्यवसायीहरू भने घाटामा हुने गरेको भन्दै उनीहरूले ‘ब्याजदर घटाउ, गरी खान देऊ’, ‘उद्योग व्यापार बचाऊँ, राष्ट्रिय अर्थतन्त्र उठाऊँ’, ‘बैङ्कको ब्याजदर एक अङ्कमा ल्याऊ’, ‘बैङ्किङ आतङ्क बन्द गर’ जस्ता नारा लेखिएका पम्पलेट सहित प्रदर्शन गरे।

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले बैङ्कको चर्को ब्याजदरविरुद्ध गरेको सडक आन्दोलनमा उनीहरूले बैङ्कको चर्को ब्याजदरका कारण व्यवसायीहरू सडकमा आउनुपरेको बताए। बैङ्कहरूको आँतकले व्यवसायीहरूलाई पीडित भएर आत्मदाह गर्न बाध्य बनाएको उनीहरूले बताए।

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठले बैङ्कले कमाएकोमा विमति नभएको बताउँदै बैङ्कबाट लिएको कर्जा तिर्दैनौँ नभनेको बताए।

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घकी उपाध्यक्ष रिता खड्काले सहज वातावरण नभएसम्म लिलाम प्रक्रिया रोक्न माग गरिन। महासङ्घका पूर्व अध्यक्ष नरेश कटवालले बैङ्कहरूको आतङ्कका कारण उद्योगी व्यवसायी आत्महत्या गर्ने अवस्थामा पुगेको बताए।

उद्योगी व्यवसायीहरूले बैङ्कहरूबाट धम्की समेत आउन थालेको बताएका छन्। फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालका अध्यक्ष नानीराज घिमिरेले साना व्यवसायीहरूले शरीरमा आगो लगाएर आत्मदाह गर्दा समेत राज्य मौन बस्नु राम्रो नभएको बताए।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले अहिलेको अवस्थामा बैङ्कहरूले व्यवसायीहरूलाई सहजीकरण गरी ब्याजदर घटाएर गरिखाने वातावरण बनाउनु पर्ने माग गरे।

उद्योगी व्यवसायीहरूले आफ्ना माग सम्बोधन नभए देशव्यापी आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading