को हुन् सम्पत्ति विवरण नबुझाउने सांसद?

को हुन् सम्पत्ति विवरण नबुझाउने सांसद?

काठमाडौं : प्रतिनिधिसभा सदस्यमा निर्वाचित २७५ मध्ये १२ सांसदहरूले तोकिएको ६० दिनको समयमा सम्पत्ति विवरण बुझाएनन्। सम्पत्ति विवरण नबुझाउने नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका १२ सांसद छन्।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० मा सार्वजनिक पद धारण गरेको व्यक्तिले त्यस्तो पद धारण गरेको मितिले साठी दिनभित्र र त्यसपछि हरेक आर्थिक वर्ष समाप्त भएको मितिले साठी दिनभित्र आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सा सहितको अद्यावधिक विवरण नेपाल सरकारको नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको निकाय वा अधिकारी समक्ष पेस गर्नुपर्ने व्यवस्था छ।

सम्पत्तिको विवरण पेस गर्न नसक्ने सार्वजनिक पद धारण गरेको व्यक्तिले त्यस्तो विवरण पेस गर्न नसक्नाको कारण सहित उल्लेख गरी म्याद थपको लागि अनुरोध गरेमा सम्बन्धित निकाय वा अधिकारीले बढीमा तीस दिनसम्मको म्याद थप दिन सक्ने व्यवस्था ऐनमा गरिएको छ।

थप गरेको म्यादभित्र पनि सम्पत्तिको विवरण पेस नगर्ने सार्वजनिक पद धारण गरेको व्यक्तिलाई पाँच हजार रुपैयाँ जरिबाना गरी निज र निजको परिवारको नाममा गैरकानुनी सम्पत्ति रहेको अनुमान गरी सम्बन्धित निकाय वा अधिकारीले अनुसन्धान गर्न सक्ने व्यवस्था ऐनमा छ।

उपदफा ४ बमोजिम पेस हुन आएको सम्पत्ति विवरण गोप्य राखिने भनिएको छ। प्रतिनिधिसभा सदस्यले शपथ लिएको फागुन ८ गते साठी दिन पुगेको छ। ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले नै सम्पत्ति विवरण नबुझाएको सङ्घीय संसद् सचिवालय स्रोतले बताएको छ। उनी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट समानुपातिक सांसद हुन्। उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका थिए।

नेपाली काँग्रेसका प्रत्यक्ष पर्सा निर्वाचन क्षेत्र २ बाट निर्वाचित सांसद अजयकुमार चौरासिया, ललितपुर क्षेत्र १ का उदयशमसेर राणा, सिन्धुपाल्चोक २, मोहन बस्नेत र समानुपातिक सांसद रुपन्देहीकी मनोरमा शेरचनले सम्पत्ति विवरण बुझाएका छैनन्।

सम्पत्ति विवरण बुझाउन १२ सांसदको अटेरी, पर्ने भए जरिवानामा

मनाङ १ बाट निर्वाचित काँग्रेसका टेकबहादुर गुरुङ निलम्बनमा परेका छन्। मनोरमा शेरचन बिरामी छन्। सम्पत्ति विवरण नबुझाएका काँग्रेसका चौरासियाले निर्वाचन आयोगमा उम्मेदवार दर्ता गर्दा नै बुझाएको बताए। ‘संसद्मा विवरण बुझाएको छैन,’चौरासियाले पहिचानसँग भने,‘समय होला, म पर्सामा छु,निर्वाचन आयोगमा बुझाइसकेको छु।’

नेकपा एमालेका सांसद पर्सा निर्वाचन क्षेत्र ३ बाट निर्वाचित राजकुमार गुप्ता र महोत्तरी १ बाट निर्वाचित लक्ष्मी महतो कोइरीले संसद् सचिवालयमा सम्पत्ति विवरण बुझाएका छैनन्। कोइरी फरार सांसद हुन्। उनलाई पक्राउ गर्न नसकेको भन्दै संसद्मा सरकारको आलोचना भएको छ।

नेकपा माओवादी केन्द्रका रोल्पा १ बाट प्रत्यक्ष निर्वाचित सांसद बर्षमान पुन र सर्लाही २ बाट निर्वाचित महिन्द्र राय यादवले पनि सम्पत्ति विवरण बुझाएका छैनन्। बर्षमान उपचारका क्रममा चीनमा छन्।

नेकपा एकीकृत समाजवादीका दाङ १ बाट प्रत्यक्ष निर्वाचित मेटमणि चौधरी र महोत्तरी ३ बाट निर्वाचित लोकतान्त्रिक समाजवादी पार्टी नेपालका महन्थ ठाकुरले पनि शपथ लिएको ६० दिनसम्म सम्पत्ति विवरण नबुझाएका स्रोतले बताएको छ।
सङ्घीय संसद्मा प्रधानमन्त्री र मन्त्रीहरूले सम्पत्ति विवरण बुझाउनु पर्दैन। उनीहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पत्ति विवरण बुझाउने हुँदा संसद् सचिवालयले ताकेता गर्दैन।

मन्त्रिपरिषद्को कार्यालयले सम्पत्ति विवरण प्राप्त भए नभएको केही उल्लेख गरेको छैन। प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्ड नियुक्त भएको फागुन १० गते दुई महिना अर्थात् ६० दिन पुगिसकेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्री बनेकाहरू सम्पत्ति विवरण नबुझाई सरकारबाट बाहिरिएका छन्।

प्रधानमन्त्रीसहित मन्त्रिपरिषद् सदस्य रहेका १९ जनाको पनि सम्पत्ति विवरण प्राप्त भएको विवरण मन्त्रिपरिषद् कार्यालयले राखेको छैन। नयाँ सरकार गठन भएपछि प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुँदै आए पनि अघिल्लो सरकारका प्रधानमन्त्री र मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक नै गरेनन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading