‘खुला र उदार अर्थतन्त्रमा मात्रै अवसर र सम्भावना’

‘खुला र उदार अर्थतन्त्रमा मात्रै अवसर र सम्भावना’

काठमाडौं : खुला र उदार अर्थतन्त्रमा मात्रै अवसर र सम्भावनाको विस्तार हुने आर्थिक क्षेत्रका विज्ञहरूले बताएका छन्। काठमाडौँ युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्टले मङ्गलवार काठमाडौँमा गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा विज्ञहरूले अहिलेको विश्वमा शतप्रतिशत आत्मनिर्भरता असम्भव रहेको र यही कारणले गर्दा खुला व्यापारको विकल्प नरहेको उनीहरूको धारणा थियो।

तर नेपालले विश्व व्यापार सङ्गठनमा प्रवेश गरेको दुई दशक बित्दा पनि देश थप आयातमुखी हुनुको कारण पहिल्याएर उचित नीति लिनुपर्ने उनीहरूले औँल्याए।

इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट एकेडेमी, वैगलोर अन्तरगत साउथ एसिया बोर्ड एकेडेमी अफ इन्टरनेशनल बिजनेसका अध्यक्ष प्राध्यापक डा. रघुनाथ सुब्रमन्यमले व्यापारमा खुलापनले आफैमा अवसर ल्याउने बताए। ‘यसले प्रतिस्पर्धी क्षमताको विकास, प्रविधि प्रयोगले उत्पादनमा गुणस्तर बढाउने अवसर दिन्छ,’ उनले भने।

उनले नेपालले आफ्नै स्थानीय स्रोतमा आधारित उत्पादन बढाउनुपर्नेमा जोड दिए। ‘कुनै पनि देशको एउटा निश्चित ब्रान्ड हुन्छ। स्थानीय स्रोतमा आधारित र विश्व बजारमा प्रतिस्पर्धी वस्तु तथा सेवाको पहिचान नेपालले गर्न सक्छ। व्यापार प्रणालीका सुधारसँगै सूचना प्रविधिको प्रयोगले समग्र यी उपलब्धि हासिल हुन सक्छन्,’ उनले भने।

उनका अनुसार व्यापार विविधीकरण तथा निर्यात बढाउने नेपालको लक्ष्य पूरा गर्न नेपालले डिजिटल सेवा, पर्यटन लगायतका क्षेत्रमा काम गर्न सक्छ।

भारतीय सरकारको पूर्व वाणिज्य सचिव डा. अनुप वाधावनले व्यापारमा जति थोरै नियमन तथा उदार नियम हुन्छ त्यति धेरै अर्थतन्त्रले लाभ पाउने बताए। ‘कुनै पनि देशले खुला व्यापार अपनाउनुको अर्थ विकसित र प्रतिस्पर्धी अर्थतन्त्रको लाभ लिएर आफूलाई उन्नत बनाउने हो,’ उनले भने।

उनका अनुसार अहिलेको समयमा शतप्रतिशत आत्मनिर्भर असम्भव छ। ‘यही कारणले गर्दा खुला व्यापारको विकल्प कम्तीमा व्यापारमा सृजनशीलता चाहनेका लागि छैन,’ उनले भने।

अहिले विश्वमा बहुआयामिक आर्थिक सङ्कटहरू देखिएको तर यो सङ्कट र असरका बाबजुद खुला अर्थतन्त्रमा मात्र सही र सहज समाधान निस्किने उनको दाबी छ।

कोरोना महामारी, रुस युक्रेन युद्ध, अमेरिका चीनको व्यापारिक द्वन्द्वका कारण अन्तर्राष्ट्रिय व्यापारमा नयाँ आयामहरू देखिएको र त्यसको प्रभाव समय क्रममा देखिँदै जाने उनले बताए।

इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट उदइपुरका विजिनेश पोसिली एन्ड स्ट्रेटेजीका अनुसन्धान अध्यक्ष एलिजाबेथ लुइज रोजले कुनै पनि अर्थतन्त्रको मुख्य आधार भनेकै साना तथा मझौला उद्योग हुने बताइन्। अन्तर्राष्ट्रिय व्यापारमा बहुराष्ट्रिय ठुला कम्पनीहरू दृश्यमा बढी आए पनि साना तथा मझौला उद्योग निकै महत्त्वपूर्ण हुने उनको धारणा थियो।

‘आफ्नै र सृजनशील किसिमको उत्पादन हुने यस्ता उद्योगको विकास निकै महत्त्वपूर्ण हुन्छ,’ उनले भनिन,‘साना तथा मझौला उद्यमीहरूका लागि इकोसिस्टम बनाउनुपर्छ र यस्ता उद्यमीलाई दिने सहायताको किफायती बाटो लिनपर्छ।’

काठमाडौँ विश्वविद्यालयका उपकुलपति भोला थापाले नेपालले व्यापारको क्षेत्रमा निरन्तर धक्का खाँदै आएको र देशको व्यापार घाटा जोखिमपूर्ण रहेको बताए।

नेपालले अपनाएको अहिलेसम्मका व्यापार नीतिबाट उत्पादन र बजारको खोजीमा असफलता नै धेरै हात लागेको उनले बताए। यस्ता असफलताको समीक्षा गरी उपयुक्त नीतिगत पहिचानका लागि यो सम्मेलन सफल हुने उनले विश्वास व्यक्त गरे। ‘विश्वविद्यालयका रूपमा हामीले दक्ष जनशक्ति विकासमा काम गरिरहेका छौँ। अझै नयाँ युगको आवश्यकता अनुसारको जनशक्ति विकासमा हामीले ध्यान दिइरहेका छौँ,’ उनले भने।

डब्लु टी ओ चेयरस प्रोगामका नलेज म्यानेजमेन्ट डिभिजनका निर्देशक डा. वेर्नर जेडडौकले सदस्य राष्ट्रहरूको व्यापारिक क्षमता विकासका लागि विश्व व्यापार सङ्गठनले नीति निर्माणमा आवश्यक तथ्यगत अनुसन्धान, नीतिगत समीक्षा, मानव संसाधन विकासमा सहयोग गर्ने बताए।

सोही मुताबिक नेपालमा पनि डब्लु टी ओ चेयरस प्रोग्राम कार्यान्वयन भइरहेको उनले बताए। काठमाडौँ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका डिन तथा डब्लु टी ओ चेयरस प्रोग्राम–नेपालका अध्यक्ष प्रोफेसर डा. देवी प्रसाद बेडारीले विश्वव्यापीकरण कुनै पनि अर्थतन्त्रका लागि आफैमा राम्रो भए पनि नेपालजस्तो मुलुकका लागि केही चुनौती पनि रहेको बताए।

‘हामी अझै सृजनशील हुन आवश्यक छ किनभने नेपाल पहिले नै औद्योगिकीकरणमा कमजोर छ अनि उपयुक्त शिक्षा तथा तालिम, बजार अनुसारको सीप विकास गर्नुपर्ने जस्ता थुप्रै चुनौती छन्,’ उनले भने,‘डब्लु टी ओ चेयरस प्रोग्राम अन्तर्गत यस्तै विषयमा प्राज्ञिक तथा व्यावहारिक कामहरू हुनेछन्।’

काठमाडौं विश्वविद्यालयका रजिस्ट्रार तथा डब्लु टी ओ चेयरस प्रोगामका सहअध्यक्ष प्रोफेसर अच्युत वाग्लेले देशको ८५ प्रतिशत व्यापार दुई छिमेकी भारत र चीनसँग मात्र भइरहेकोले व्यापार विविधीकरणलाई नेपालले प्राथमिकता दिनुपर्ने बताए।

ठुला छिमेकीले इतिहासमा आफ्नो भू–राजनीतिक स्वार्थ पुरा गर्न व्यापारलाई रणनीतिक वस्तुको रूपमा उपयोग गरेकाले व्यापार विविधीकरण महत्त्वपूर्ण रहेको उनको भनाई थियो। वस्तु निर्यातमा कमजोर रहँदारहँदै सेवा व्यापारमा पनि नेपाल कमजोर रहेको उनको भनाई थियो। उनले भने, ‘उच्च शिक्षा, उच्च स्वास्थ्य सेवा र अन्तर्राष्ट्रिय हवाई सेवामा नेपाल खुद आयातकर्ता हो।’

उनले सन् २००४ मा नेपाल विश्व व्यापार सङ्गठनमा आबद्ध भएपछि निर्यात बढाउन अपनाइएका धेरै नीतिहरू असफल रहेको बताए। यी नीतिहरू उत्पादकत्व बढाउन र व्यापार घटाउन असफल रहेको र यसको लागि प्राज्ञिक र व्यवहारिक अनुसन्धान आवश्यक हुने उनले बताए । व्यापारमा खुलापन, आर्थिक विकास र आर्थिक दिगोपन विषयमा आयोजित यो अन्तर्राष्ट्रिय सम्मेलन बुधवारसम्म चल्नेछ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading