राष्ट्रपति चयन र प्रचण्ड पक्राउ पर्ने मुद्दाको पेशी एकै दिन

राष्ट्रपति चयन र प्रचण्ड पक्राउ पर्ने मुद्दाको पेशी एकै दिन

काठमाडौं : नयाँ राष्ट्रपति चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान सुरु हुदैछ। काठमाडौं नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा हुने मतदान दिउँसो ३ बजेसम्म चल्नेछ।

३ बजेपछि पुग्नेलाई मतदानमा सहभागी गराउन नसकिने निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिए। पौडेलका अनुसार सङ्घीय संसद् र प्रदेशसभा सदस्यका लागि दुई वटा मतदान केन्द्र निर्माण गरिएको छ।

मतदानको बक्सा बनाउने र मुचुल्का तयार गर्ने काम भने बाँकी नै रहेको उनले बताए। सङ्घीय संसद्का तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० मतदाता छन्। मतदानका लागि महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ।

निर्वाचनमा सङ्घीय सांसदको एक मत बराबर ७९ र प्रदेशसभा सदस्यको एक मत बराबर ४८ मतभार कायम गरिएको छ। केन्द्रीय तथ्याङ्क विभागले २०७८ सालमा गरेको जनगणनाको नजिता सार्वजनिक नगर्दा निर्वाचन आयोगले २०६८ सालकै गणनाको आधारमा मतभार कायम गरेको हो।

निर्वाचन अधिकृतको कार्यालयले मतदान सकिए लगत्तै मतगणना सुरु गर्ने र साँझ ७ बजेभित्र परिणाम घोषणा गर्ने तयारी गरेको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिए।

सांसदहरू मतदानका लागि काठमाडौँ आइसकेका छन्। भोट खसाल्न काठमाडौं आएका राप्रपाका सांसद भने भोट नखसाली फर्कने भएका छन्।

प्रचण्ड विरुद्धको मुद्दाको पेशी एकै दिन

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पक्राउ गर्ने आदेश माग गर्दै दर्ता भएको रिटको पेशी पनि बिहीबारकै लागि तोकिएको छ। सर्वोच्च अदालतले बिहीबार नै प्रचण्डलाई पक्राउ गर्ने रिटमा पेशी तोकेको हो।

राष्ट्रपति निर्वाचनको छेको पारेर द्वन्द्वकालीन मुद्दामा प्रचण्डले दिएको अभिव्यक्तिलाई आधार बनाएर ज्ञानेन्द्र आरण लगायतले दायर गरेको रिट मङ्गलवार मात्रै दर्ता भएको हो।

रिट पेशीमा चढ्ने अघिल्लो दिन नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले बालुवाटारमै पुगेर प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेका छन्। भेटमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल र समीक्षा भएको विप्लवको सचिवालयले जनाएको छ।

प्रचण्डलाई पक्राउ गर्ने रिटले माओवादी त्रसित, गठबन्धनमा शङ्का

अदालतमा माओवादी अध्यक्ष प्रचण्ड विरुद्ध मुद्दा दर्ता भएपछि माओवादी घटकको निकटता बढ्दै गएको छ। आइतबार माओवादी घटकका दल एउटै मञ्चमा देखिएका थिए। त्यसपछि उनीहरू निरन्तर छलफलमा छन्।

द्वन्द्वकालका मुद्दा अदालतमा लगिएको भन्दै मङ्गलवार माओवादी घटकका ८ दलले विज्ञप्ति जारी गर्दै संयुक्त रूपमा प्रतिवाद गर्ने चेतावनी दिएका थिए।

सर्वोच्चमा मुद्दा पुगेपछि माओवादी काँग्रेससँग बिच्किने एमालेको अनुमान भने बुधवार अबेरसम्म मिलेको छैन। माओवादीले आठ दलीय गठबन्धन कायम नै राखेको छ। सर्वोच्च अदालतले दिने आदेश पनि सत्ता समीकरणमा समेत फेरबदल आउने अनुमान राजनीतिक पण्डितहरूले सुनाइरहेका छन्।

राप्रपा सहभागी नहुने

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा राष्ट्रपति चयनको मतदानमा सहभागी नहुने भएको छ। मतदान गर्नुपर्ने र मतदानमा सहभागी नै हुन नहुने दुई धारले अलमलमा रहेको राप्रपाले मतदानको अघिल्लो दिन सहभागी नहुने निर्णय गरेको हो।

पुस १० को सहमति अनुसार राष्ट्रपतिमा एमालेका उम्मेदवारको पक्षमा निर्णय नै गर्नु नपर्ने बताउँदै आएको राप्रपाले समीकरण बदलिएसँगै मतको हिसाबकिताब गरेर मतदानमै सहभागी नहुने निर्णय गरेको छ।

गणतान्त्रिक देशमा राजतन्त्र ब्युँताउने नारा घन्काएको राप्रपाका अध्यक्ष राजेन्द्र लिंगदेनले काँग्रेस र एमालेका दुवै उम्मेदवारलाई भोट नहाल्ने निर्णय गरेको जानकारी दिए। उनले राप्रपा तटस्थ बस्ने बताए।

सरकारमै बसेर सङ्घीयताको विरोध गर्ने राप्रपालाई आठ दलीय गठबन्धनले सरकार छोड्न बाध्य नै बनायो। राष्ट्रपतिमा आठ दलीय गठबन्धनबाट नेपाली काँग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवासचन्द्र नेम्वाङ उम्मेदवार बनेका छन्। सरकारबाट बाहिरिँदा राप्रपाको जस्तै अवस्था भोगेको राष्ट्रिय स्वतन्त्र पार्टीले मतदान हुने दिन मात्रै निर्णयमा पुग्ने बताएको छ।

पौडेलको नयाँ दौरा सुरुवाल

राष्ट्रपतिमा आठ दलीय गठबन्धनको समर्थन पाएका काँग्रेसका रामचन्द्र पौडेलले भने नयाँ दौरा सुरुवाल सिलाएको चर्चा भएको छ। तर पौडेलका निजी सचिव चिरञ्जीवी अधिकारीले भने सामाजिक सञ्जालमा आएको तस्बिर अहिलेको नभएको दाबी गरेका छन्। ‘सामाजिक सञ्जालमा आएको दौरा सुरुवालको तस्बिर अहिलेको होइन, पुरानो हो,’उनले भने,‘नेताले नयाँ कपडा सिलाउन नपाउने हो र?’

पौडेलले संसद् विघटनको मुद्दामा काँग्रेसलाई सडकमा आउन बाध्य पारेका थिए। सर्वोच्च अदालतले विघटन भएको संसद् पुनर्स्थापना गरेपछि काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बने।

सडकमा जाने नजाने दोधारमा रहेको देउवालाई पौडेलले असंवैधानिक कदमको विरोधमा सडकमा उत्रनु बाध्य पारे। देशको राष्ट्रपतिमा संसद् विघटनको विरोध गर्ने पौडेल र केही पनि नबोली मौन बस्ने नेम्वाङबीच प्रतिस्पर्धा हुन लागेको छ।

को बन्ला देशको तेस्रो राष्ट्रपति?

संसद् विघटनको सिफारिस सदर गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णय सर्वोच्च अदालतको संवैधानिक इजलासले सच्याइदिए पनि एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्री पद गुमेको थियो।

राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनालाई अहिले ओलीको कदमको विरोध गर्नेहरू क्रान्तिकारी कहलिएको लागेको छ। एमालेबाट राष्ट्रिय सभा सदस्य हुँदै अध्यक्षमा निर्वाचित तिमल्सिना कार्यकाल सकिने समय नजिकिएपछि संविधान विपरीत संसद् विघटन गर्न पाइने अभिव्यक्ति दिन थालेका छन्।

अध्यक्ष तिमल्सिनाले संविधानमा व्यवस्था भए पनि सरकारलाई अप्ठ्यारो पर्दा विघटन गर्न पाउनु पर्ने अभिव्यक्ति उनले दिए। ‘कस्तो विडम्बना, भागबन्डा गर्‍यो, पार्टी फोर्‍यो, एउटा पार्टी फोर्नु पर्‍यो अध्यादेश ल्यायो, अर्को पार्टी जोड्नु पर्‍यो अध्यादेश ल्यायो, भागबन्डा गरेर मन्त्री बाँड्यो,त्यस्तो गरेर विघटन नगरेर बचाउनु पर्ने’उनले भने,‘बरु अर्को नयाँ आए पनि आउँथ्यो, बहुमत ल्याए पनि के हुन्थ्यो, चुनावमा जाने तिर नहुने।’

गठबन्धन संस्कृति

२०७४ देखि नै राजनीतिमा गठबन्धन संस्कृति मौलाएको हो। मङ्सिर ४ को चुनावपछि अहिलेसम्म दुई पटक गठबन्धन अदल बदल भएका छन्। २०७४ मै राष्ट्रपति बन्ने झलनाथ खनालको योजना एमाले अध्यक्ष केपी ओली विद्यादेवी भण्डारीलाई नै दोहोर्‍याउने अडानमा रहेपछि डिसमिस भएको थियो।

अहिले त पार्टी नै दुई टुक्रा भएको छ। पार्टी एक गराउने गरी राष्ट्रपति बन्ने आशामा रहेका खनाललाई ओलीले राष्ट्रपतिमा यो पटक पनि प्रस्ताव नै गरेनन्। बरु माधवकुमार नेपाललाई प्रस्ताव गरेको चर्चा भयो।
एमाले फुटेपछि नेकपा एकीकृत समाजवादी पार्टीमा सम्मानित नेताका रूपमा रहेका खनाल अहिले गठबन्धन बन्ने र भत्कने शृङ्खला पाँच वर्षसम्मै चलिरहने बताउन थालेका छन्।

ओली भण्डारीको प्रशंसामा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने राष्ट्रपति विद्यादेवी भण्डारीको प्रशंसा गरेका छन्। नयाँ राष्ट्रपतिका एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई भोट माग्न भन्दा ओली वर्तमान राष्ट्रपति भण्डारीको प्रशंसामा मात्रै सीमित भएको आरोप समेत लागेको छ।

पुस १० को गठबन्धन कायम रहँदासम्म राष्ट्रपतिमा नेम्वाङको नाम नै उच्चारण नगरेका ओलीले गठबन्धन टुटेपछि नेम्वाङलाई उम्मेदवार बनाए। प्रशंसा गर्दा गर्दै ओलीले भण्डारी राष्ट्रपति निर्वाचित हुँदा व्यवस्थापिका–संसद् सदस्य रहेकै भुलेका छन्।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा भएको कार्यक्रममा एमाले अध्यक्ष ओलीले राष्ट्रपति भण्डारीको काम गर्व गर्न लायक रहेको बताए। भण्डारीलाई दोस्रो संविधानसभा संविधान जारी भएपछि रूपान्तरण भएर व्यवस्थापिका संसद् बनेको थियो। त्यही संसद्ले भण्डारीलाई राष्ट्रपतिमा निर्वाचित गरेको थियो। प्रदेश सभा समेत गठन भएको थिएन।

उनी त्यतिवेला राष्ट्रिय सभा थियो थिएन भन्ने नै अलमलमा परे। बोल्दा बोल्दै बोली फुत्किएपछि ओलीले त्यतिवेला राष्ट्रिय सभा थियो भनेर नजिकै रहेकालाई सोधे। थियो क्यारे भन्दै गर्दा अर्का कसैले थिएन भनेपछि ओलीले भण्डारी पहिलो महिला राष्ट्रपतिमा निर्वाचित भएको सुनाउँदै भने,‘होइन संविधान सभा मात्रै थियो, त्यो आफै व्यवस्थापिका संसद् हुन्थ्यो,व्यवस्थापिका संसद्ले मात्रै निर्वाचित गरेको थियो पहिलो पल्ट।’

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading