नीलो फूल

नमोबुद्धमा चल्यो ‘बलजफती विवाह’को छलफल

नमोबुद्धमा चल्यो ‘बलजफती विवाह’को छलफल

काभ्रे : नेपालमा संविधान लेख्ने प्रतिनिधि चुन्न २०६४ साल चैत २८ मा प्रत्यक्षतर्फ २४० जना सदस्य निर्वाचित भए। समानुपातिकतर्फ ३३५ र मन्त्रिपरिषद्ले मनोनीत गरेका २६ जना सदस्य संविधान सभामा पुगे। ६०१ सदस्यीय संविधानसभामा समलिङ्गी तेस्रोलिंगीको प्रतिनिधित्व गर्ने अवसर पाए सुनिलबाबु पन्तले।

पहिलो राष्ट्रपति डा. रामवरण यादवले २०७२ साल असोज ३ गते जारी गरे नेपालको संविधान। संविधानले समलिङ्गी तेस्रोलिंगीको केही हक अधिकार सुनिश्चित गरेको छ। लैङ्गिक पहिचान अनुसारको नागरिकता, समान अधिकार र समावेशी प्रतिनिधित्वको व्यवस्था गरेको छ संविधानले।

संविधान अनुसार बनेका सङ्घीय संरचनामा भने समलिङ्गी तेस्रोलिंगीको प्रतिनिधित्व शून्य छ। दोस्रो संविधानसभा देखि शून्य भएको समलिङ्गी तेस्रोलिंगीको प्रतिनिधित्व २०७४ र २०७९ को सङ्घीय, प्रदेश र स्थानीय तहमा समेत हुन सकेको छैन।

७५३ स्थानीय तह मध्ये एउटा वडामा एक सदस्य लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकबाट निर्वाचित भएका छन्। तीनै तहका सरकारमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको प्रतिनिधित्व नहुँदा यो समुदायको बारेमा भ्रम रहेको बताउँछन् पन्त।

रोजेको मान्छेसँग विवाह गर्न नपाउँदा…

जनचेतना मुलुक सत्य घटनामा आधारित चलचित्र बनाएर पन्त अहिले गाउँदेखि सहरसम्म बुझाउँदै हिँडेका छन्। २३ वर्ष अघि समलिङ्गी तेस्रोलिंगीको पहिचानसहितको अधिकारका लागि नील हिरा समाज संस्था खोलेका पन्त अहिले नीलो फूल नामक चलचित्र मार्फत वकालत गरिरहेका छन्।

‘एउटा गाउँको समलिङ्गी पुरुषलाई जबरजस्ती उसको इच्छा विपरीत महिलासँग विवाह गराइन्छ। सन्तान नहुँदा जुन खालको सामाजिक अपहेलनाहरु भोग्नु पर्छ’उनीहरूको कथा छ पन्त र प्रधुम्न मिश्रले निर्माण गरेको चलचित्र नीलो फूलमा।

दुई वर्ष बौद्ध भिक्षु भएर बसे पन्त। ध्यान पनि सिकाउँछन् उनी। १० वर्ष उनी बेलायतमै बसे। लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकलाई जबरजस्ती पुरुष या महिलासँग विवाह गराउँदा एउटा परिवारमा परेको समस्या देखाइएको छ नीलो फूलमा। पन्त भन्छन्,‘यो महिलाको अधिकारसँग पनि जोडिएको छ। सङ्घर्ष अझै जारी छ।’

हरेक व्यक्तिलाई सोच्न बाध्य बनाउने चलचित्र देखाउन पन्त काभ्रेको नमोबुद्ध नगरपालिका पुगे। ‘महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, नमोबुद्ध नगरपालिका र पहिचान फाउन्डेसनको गाउँगाउँसम्म जनचेतना फैलनु पर्छ भन्ने सकारात्मक धारणाले आज यो कार्यक्रम लिएर आएका छौ,’पन्तले भने,‘फिल्म हेरेर यो समुदाय प्रति गहिराइमा गएर बुझ्न सजिलो हुन्छ।’

मेयर कुन्साङले दिए धन्यवाद

नेपालमा अन्तरजातीय, दाइजो, बाल विवाहको कानुनी व्यवस्था छ। तर समलिङ्गी तेस्रोलिंगी विवाहको कानुनी व्यवस्था छैन। बेहुला पुरुष र बेहुली महिला मात्र हुने परम्परागत मान्यता स्थापित छ। पुरुषपुरुष र महिलामहिलाको विवाहलाई हरेक परिवारले इज्जतको रूपमा लिने गरेको छ।

छोरा या छोरी जन्मेका केही व्यक्तिमा हुर्कँदै जाँदा आउने यौन आकर्षणलाई नपचाउने संस्कार छ। बिहे गरेपछि बालबच्चा हुनै पर्ने र नभए नपुंसक, अलच्छिन, बोक्सीसम्मको लाञ्छना लगाउने समाज छ। समलिङ्गी तेस्रोलिंगीको कुरा गर्ने बित्तिकै तर्कने जनप्रतिनिधिहरुकाबीच नमोबुद्ध नगरका प्रमुख कुन्साङ लामाले पहिलो पटक नगरमा छलफल नै चलाए।

छलफलका लागि प्रस्तुत भयो सुनिलबाबु पन्तले निर्माण गरेको चलचित्र नीलो फूल। नगर प्रमुख लामासँगै १ नम्बर वडाका अध्यक्ष प्रेम लामा, ४ का अर्जुन कार्की सहितका जनप्रतिनिधिहरूले बलजफती विवाहमा आधारित चलचित्र अवलोकन गरे।

‘नाइँ र हुन्न’ नभन्ने स्वभावका मेयर लामाले ३९ मिनेट अवधिको नील फूल हेरेपछि भने,‘ हाम्रो समाजमा घट्दै आएको भोग्दै आएको कुरा हो,सुनिल सरलाई धेरै धेरै धन्यवाद।’

मेयर लामाले लुकेको कुरालाई चलचित्रले अगाडि ल्याएको बताए। ‘जे जसो गर्नुपर्ने हो सल्लाहले नै गरौला,’मेयर लामाले भने,‘यो चलचित्र मार्फत लुकेको कुरालाई अगाडि ल्याउनु भयो धेरै धेरै धन्यवाद।’

नगरभित्र चार जना लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको पहिचान भएको उनले सुनाए। ‘विगतमा देखिरहेको, सुनिरहेको, कतैकतै बुझिरहेको हो,’उनले भने,‘लुकेर बसेकाहरूलाई नलुक्न भन्छौ।’ व्यक्ति जे जस्तो भए पनि आफ्नो अधिकारलाई अगाडि ल्याउनु पर्ने बताए उनले।

नगरको शिक्षा शाखाका प्रतिनिधिले समलिङ्गी तेस्रोलिंगीको विवाह हुने नहुने मनोविज्ञान बुझेर राज्यले सम्बोधन गर्नुपर्ने प्रतिक्रिया दिए।

विवाह : व्यक्ति व्यक्तिबिचमा हुने सम्बन्ध

नेपाल पत्रकार महासङ्घ काभ्रेका सचिव कपिल कोइरालाले चलचित्र पूर्ण बनाउन सुझाव दिए। ‘समाजमा विभेदका कुराहरू छन्,’उनले भने,‘बच्चा जन्माउन तेस्रो व्यक्ति खोज्ने कुरा भने अप्ठेरो जस्तो लाग्यो।’ उनले कहिले काहीँ कतै भएको पनि हुन सक्ने भन्दै अवारनेशकै आवश्यकता रहेको बताए।

वडा नम्बर ७ की वडा सदस्य प्रतिनिधिले ‘जता हेर्दा पनि महिला नै पीडा’मा परेको देखिएको बताइन। ‘सहनै नसक्ने पीडा हो यो,’उनले भनिन्,‘आमाहरूलाई त थाहा हुन्छ,त्यही पनि जबरजस्ती विवाह गराइदिएर कति पीडा दिनु भएको छ।’

नमोबुद्ध नगरकी महिला शाखा अधिकृत तारा सुनुवार समलिङ्गी तेस्रोलिंगीको भाव नै नबुझ्दा कदर हुन नसकेको बताउँछिन्। ‘शिक्षाले मात्रै नहुने, चुनौतीको रूपमा देखा परेको छ,’उनले भनिन्,‘समाजलाई परिवर्तन गर्ने कुरा चुनौती छ।’ यो प्राकृतिक कुरा हो, कसरी बुझाउन सकिन्छ भन्ने चुनौती पनि थपेर कथा वस्तु जोडिदा राम्रै हुने उनले सुझाइन।

उनले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिको अधिकारका लागि पहिचान फाउन्डेसन नगरमा आउँदा खुसी लागेको पनि सुनाइन्। उनले सबैको भावनाको कदर गर्नुपर्ने बताइन।

नगरका प्रशासकीय अधिकृत शिव प्रसाद लम्सालले चलचित्र नील फूलले समाजमा भएको वास्तविकतालाई उजागर गरेको बताए। ‘संविधान, ऐन कानुनमा प्रत्याभूति गरे पनि तेस्रोलिंगी समलिङ्गीको धेरै कार्यक्रमहरू भएको अवस्था छैन,’अहिलेसम्म ६ वटा नगरमा प्रशासकीय अधिकृत बनेका लम्सालले भने,‘विशेष समय लिएर यतिको कार्यक्रम गरेको अवस्था सिर्जना भएको छैन। यो सकारात्मक छ। सही ढङ्गले अगाडि बढाउनु पर्छ।’

उनले अल्पसङ्ख्यकको अधिकार सुरक्षित गर्न नसके अशान्ति, द्वन्द्व, सामाजिक विकृति निम्तने खतरा औँल्याए। ‘हक अधिकार सुरक्षित गर्न धेरै काम गर्न बाँकी देखिन्छ,’उनले भने,‘चेतना बढाएर खुलिसकेको व्यक्तिलाई सम्मान गर्ने वातावरण बनाउन सकिए अझ राम्रो हुन्छ।’

अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शन हुने

छैटौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा नीलो फूल सेलेक्ट भएको छ। निफमा प्रदर्शन हुने ३५ देशका फिचर, सर्ट, डकुमेन्ट्री तथा एनिमेटेड गरी ९५ फिल्ममा नीलो फूल पनि सेलेक्ट भएको हो।काठमाडौँको सिभिल मल, छाया सेन्टर, ललितपुरको लबिम मल र भक्तपुरको राधेराधेस्थित भाटभटेनीमा रहेको हलबाट फिल्म प्रदर्शन हुनेछन्। लबिम मलमा शनिवार नीलो फूल प्रदर्शन हुनेछ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading