विश्वकप लिग-२ मा नेपालको अभूतपूर्व प्रदर्शन

विश्वकप लिग-२ मा नेपालको अभूतपूर्व प्रदर्शन

खराब सुरुवात, सुखद अन्त्य

काठमाडौं : नेपाल विश्वकप लिग-२ को क्वालिफायर्समा स्थान बनाउन सफल छ। नेपालले पहिलो पटक विश्वकप लिग-२ को क्वालिफायर्समा स्थान बनाएको हो। क्वालिफायर्स खेल जिम्बाबेमा हुनेछ।

नेपाल र युएईको खेल हेर्न क्रिकेट मैदान कीर्तिपुर पुगेका दर्शकले नेपाल विजयी भएसँगै हर्षित भए। एक अर्कामा अङ्कमाल गर्दै खुसी साटासाट गरे।

नेपालले युएईलाई विशाल लक्ष्य दिएपछि निराश जस्तो बनेका नेपाली खेल प्रेमीमा ४८ बलमा ४ चौका र २ छक्का प्रहार गरेर ५० रन बनाएर खेलिरहेका गुल्सन झाले आशा जगाइदिए। २६९ रन बनाउँदा ६ खेलाडी गुमाएको नेपाली टोलीले ४४ औँ ओभरको खेल सकेको थियो।

३ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको थियो नेपालले। तर, खराब प्रकाशका कारण ४४ ओभरमा ६ विकेट गुमाउँदै २ सय ६९ रन बनाउँदा खेल रोकियो। खराब प्रकाशका कारण खेल पुरा हुन नसकेपछि नेपालले डिएल मेथर्डमा युएईमाथि ९ रनको जित हात पार्‍यो।

नेपालको जितसँगै निराश बनेका दर्शकमा एकाएक खुसीको बहार आयो। विश्वकप लिग २ को क्वालिफायर्समा पुग्न नेपालले बिहीबारको खेल जित्नै पर्ने थियो। बलियो प्रतिद्वन्द्वी पाएको थियो युएई।

नेपाली राष्ट्रिय झन्डा, पञ्चेबाजा, विकेट, चार र ६ रन लेखिएका प्लेकार्डसहित मैदान परिसरमा पुगेर जितको कामना गरिरहेका थिए नेपाली दर्शक।

दर्शकको भीड थेग्न सुरक्षाकर्मीहरूलाई हम्मेहम्मे परेको थियो। रुखरुखमा चढेर समेत खेल नियालिरहेका दर्शकहरूको एउटै आवाज थियो नेपाल नेपाल…।

नेपाली टिमलाई हौसला प्रदान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना मैदानमै पुगेका थिए।

यसअघि तीन म्याचमा सहज जित हासिल गरेको नेपालले युएईलाई बहादुरीपूर्वक पराजित गर्‍यो। नेपालले युएईविरुद्ध बलिङमा खराब प्रदर्शन गरेको थियो।

खास गरी डेथ ओभरमा नेपालको बलिङलाई युएईका आसिफ खानले धज्जी उडाइदिए। तर नेपालले युएईविरुद्धको खेलमा खराब सुरुवातकाबिच सुखद अन्त्य गरेको छ।

नेपालका लागि भीम सार्कीले सर्वाधिक ६७, आरिफ शेखले ५२ र कुशल भुर्तेलले ५० रन बनाउँदा गुल्सन झा ५० रनमा अविजित रहे। कप्तान रोहित पौडेल १६, कुशल मल्ल ५ रन बनाएर आउट हुँदा आसिफ शेख शून्य रनमा पेभिलियन फर्किए।

दीपेन्द्रसिंह ऐरी १० रनमा नटआउट रहे। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको थियो।

नेपाली टिमले अप्रत्याशित जित निकालेपछि राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री प्रचण्डदेखि खेल प्रेमी नेपालीले बधाई तथा शुभकामना दिएका छन्।

जितपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले पुरै टिमको जित भएको बताउँदै जितको श्रेय प्रशिक्षक मन्टी देसाइलाई दिएका छन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading