विश्वासको मत पाएसँगै मन्त्रिपरिषद् विस्तारको तयारी

विश्वासको मत पाएसँगै मन्त्रिपरिषद् विस्तारको तयारी

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रो पटक विश्वासको मत लिएका छन्। प्रतिनिधिसभाको बैठकमा २ सय ६२ सांसद उपस्थित भएकामा १ सय ७२ जनाले प्रधानमन्त्रीलाई विश्वासको मत दिएका छन्।

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने पक्षमा १७२ जनाले मतदान गर्दा ८९ सांसदले विपक्षमा मतदान गरेका छन्। एक सांसद तटस्थ बसेका छन्।

यसअघि प्रधानमन्त्री प्रचण्डले गएको पुस २६ गते विश्वासको मत लिएका थिए। पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुँदा बनेको नेकपा एमालेसहितको गठबन्धन भत्किएपछि प्रचण्डले सोमबार पुनः दोस्रो पटक विश्वासको मत लिने प्रयोजनका लागि संसद्मा प्रस्ताव पेस गरेका थिए।

विश्वासको मत पाए लगत्तै प्रधानमन्त्री प्रचण्डले मङ्गलवारबाटै सरकारलाई पूर्णता दिने तयारी थाल्ने बताएका छन्। पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले गठबन्धनमा आबद्ध दलहरूसँग बसेर दुईचार दिन भित्रै सबै विषय टुङ्ग्याउने बताए।

एमालेले भनेजस्तो वैशाख भित्र सरकार ढल्ने कुरामा कुनै सत्यता नभएको दाबी गर्दै प्रचण्डले अब आरामसँग सरकार चल्ने बताए।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाए लगत्तै आफ्नो पहिलो विदेश भ्रमण भारत हुने बताएका छन्। भ्रमणको समय तय भईनसकेपनि चैत्र अन्तिम नभए वैशाखको पहिलो साता आफू भारत जाने उनले बताए।

प्रचण्डले विश्वासको मत पाएपछि एमालेले भने स्वभाबिक रूपमा लिएको बताएको छ। संसदबाहिर पत्रकारहरूसँग प्रतिक्रिया दिँदै एमाले उपाध्यक्ष सुभाष नेम्वाङले लोकतान्त्रिक पद्धतिमा यस्ता कुरा साह्रै सामान्य कुरा भएको बताए।

एमालेसँग चर्काचर्की

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल एमालेबिच संसद्मा चर्काचर्की भएको छ। संसद्मा एमाले उपाध्यक्ष विष्णु पौडेलले सभामुख देवराज घिमिरे मार्फत ध्यानाकर्षण गराउँदै काँग्रेससँग मिल्नु नै थियो भने एमालेसँग किन कुम जोड्न आएको भन्दै प्रधानमन्त्री प्रचण्डसँग जवाफ माग गरेका थिए।

सहमति तोडेको विषयमा जवाफ दिए पनि नदिए पनि केही फरक नपर्ने तर इतिहासको कुनै कालखण्डमा यसको जवाफ प्रधानमन्त्रीले दिनै पर्ने पौडेलले माग गरे।

उपाध्यक्ष पौडेलको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले संसद् बैठकबाटै काउन्टर एट्याकका रूपमा जवाफ फर्काएका छन्। उनले यो विषयमा आफूलाई दोष नदिन भन्दै पौडेललाई नै सबै कुरा थाहा भएको जवाफ दिए।

प्रचण्डले पाँच वर्ष प्रधानमन्त्री बन्न नेकपा एमालेले गरेको प्रस्ताव अस्वीकार गरेको दाबी समेत गरे। संविधान रक्षाका लागि राष्ट्रिय सहमतिको प्रस्ताव एमाले अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेकाले आफूले पनि पाँच वर्ष प्रधानमन्त्री बन्ने प्रस्ताव स्वीकार नगरेको प्रचण्डले बताए।

पुस १० मा प्रधानमन्त्री बन्ने प्रस्ताव लिएर आफू बालकोट नगएको दाबी प्रचण्डले सुनाए। उनले विश्वासको मत दिँदा एमाले अध्यक्ष ओलीले संसद् विघटन सही भएको बताएपछि एमालेसँगको गठबन्धन भत्कने देखेको बताए। प्रधानमन्त्रीमा आफूलाई समर्थन नगर्दा काँग्रेसले पश्चात्ताप गरेको देखेपछि काँग्रेससँग माया बसेको प्रचण्डले बताए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading