सरकारसँग कालिकोटको माग : भ्रष्टाचार नहोस्, कष्ट भोग्यौँ

सरकारसँग कालिकोटको माग : भ्रष्टाचार नहोस्, कष्ट भोग्यौँ

कालिकोट : देशमा शासन व्यवस्था परिवर्तन भए पनि जीवनस्तरमा वदलाभ ल्याउने सङ्घर्ष जारी छ। राणाकाल, पञ्चायतकाल हुँदै गणतन्त्रसम्म आइपुग्दा जारी सघर्षमा परिवर्तित व्यवस्था सहयोगी बन्ने अपेक्षा छ जनताको।

जनताको अपेक्षा अनुसारको काम गर्नुपर्ने जिम्मेवारी राज्यसँग छ। राज्यको नेतृत्व अहिले दलीय भागबन्डामा छ। संसदीय प्रणाली अनुसार सरकारको नेतृत्व अहिले तत्कालीन सशस्त्र सङ्घर्षका सुप्रिमो कमान्डर पुष्पकमल दाहाल प्रचण्डले सम्हालेका छन्।

अर्थतन्त्रको जिम्मेवारी नेपाली काँग्रेसले लिएको छ। दाईभाइजु काँग्रेसीका कारण सिङ्गो पार्टीलाई ‘अवसरवादी’को आरोप लागिरहेका बेला डा.प्रकाशशरण महतले महत्त्वपूर्ण अर्थ मन्त्रालयको कमान्ड सम्हालेका छन्।

नेपालको जनसङ्ख्या २९ वर्षको केटा, १६ वर्षकी केटी ४५ वर्षका भए, उनीहरूको ७८ सालमा आएर विवाह भयो अर्थात् २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको छ। हरेक नागरिकको आवश्यकता सम्बोधन गर्ने बजेट निर्माणको तयारीमा छन् अर्थमन्त्री महत।

स्वर्गीय गिरिजाप्रसाद कोइराला कोटरीका चार दारी मध्ये एक डा.रामशरण महतका भाइ हुन प्रकाशशरण। रामशरण योजना आयोगको उपाध्यक्ष हुँदै अर्थमन्त्री बनेका हुन्। शिक्षा, स्वास्थ्यजस्ता जनताका आधारभूत अधिकारलाई समेत व्यापारीकरण र निजीकरण गरेको आरोप रामशरणले खेपिरहेका छन्।

अर्थतन्त्रलाई तहसनहस पारेर ‘भ्रष्टशास्त्र’ को उपाधि पाए विगतका अर्थमन्त्रीहरूले। सरकारले भ्रष्टाचार गर्छ भन्ने जनतामा छ। अन्तर्राष्ट्रिय समुदायलाई विश्वासमा लिन सक्ने अवस्था कमजोर बन्दै गएको छ। गृह मन्त्रालयको सूत्र खर्च कटौती गर्ने निर्णय गरे पनि प्रधानमन्त्री राहत कोषमा निवेदनका भरमा वितरण भएको कुनै हिसाबकिताब छैन।

गिरिजाप्रसाद कोइरालाले राहत कोषबाट सुविधा लिनेहरूको नाम सार्वजनिक गर्ने भनेका थिए। तर, सार्वजनिक गरेको सुनिएन। भ्रष्टाचार अन्त्य गर्ने सरकारको पहिलो काम प्रतिबद्धतामा मात्रै सीमित भएको विगतको परम्परा नदोहोरिने आशा जनताले गरेका छन्।

भ्रष्टाचार नहोस्, कष्ट भोग्यौँ


‘भ्रष्टाचार नभइदिए हुन्थ्यो, हुन त यो देशभरको माग हो,’ कालिकोट माडेगाउँका प्रभुलाल भट्टराईले भने,‘भ्रष्टाचार नहोस्, कष्ट भोग्यौँ।’ सुनथराली विमानस्थल दलदलका समिति बनाउँदा विवाद भएर स्थगित भएको देखेका भट्टराई ठेक्कापट्टा लगाएपछि निर्माण सम्पन्न हुने चरणमा रहेको सुनाउँछन्।

माओवादीले थालेको सशस्त्र युद्धका कारण रोकिएको विमानस्थल निर्माणको काम शान्ति प्रक्रिया पछि सुरु भयो। २०७३ साल माघ २९ गते तत्कालीन पर्यटन मन्त्री जीवन बहादुर शाहीले परीक्षण उडान गराए। परीक्षण उडान सफल भएको विमानस्थलमा व्यावसायिक उडान सुरु भएको छैन।

चील गाडीको प्रतीक्षामा रहेको नरहरिनाथ गाउँपालिकाको जनसङ्ख्या २२ हजार ४५८ छ। कालिकोटमा नौ स्थानीय तह छन्। सान्नी त्रिवेणीमा १३ हजार ४९१, रास्कोट नगरपालिकामा १७ हजार ४२५, पचलीझरना गाउँपालिकामा १३ हजार ६८७, पातला गाउँपालिकामा १७ हजार ३४६, खाडाचक्र नगरपालिकामा २२ हजार २७४, शुभकालिका गाउँपालिकामा १३ हजार ७७३, महावै गाउँपालिकामा ८ हजार १७७ र तिलागुफा नगरपालिकामा १६ हजार १९७ जनसङ्ख्या रहेको छ।

विमानस्थल सञ्चालनमा आएपछि आर्थिक अवस्था परिवर्तन हुने आशा राखेका छन् कालिकोटका स्थानीयले। विमानस्थल टिलिक्क टल्किए पनि ट्र्याक खोलिएको सडकबाट गाडीमा सामान पुगिरहेको छ। ४० वर्षदेखि जजमानी गर्दै आएका भट्टराई भारी बोकेर बर्दियाको राजापुर पुग्दा गिज्याएको सम्झिछन्।

‘जुम्लीहरू भन्थे, भारी बोकेर जाँदा गिज्याउँथे,’उनले पहिचानसँग भने,‘गाडी चल्न थालेपछि भारी बोकेको देख्दैनन्। गाडी आएपछि स्वर्ग मानेका छौ।’
कर्णाली राजमार्ग नबन्दासम्म कालिकोटका स्थानीय नुन लिन बर्दियाको राजापुर पुग्थे।

२० धार्नी घ्यु बोकेर खाली खुट्टामा राजापुर पुगेको रचना विष्ट सुनाउँछिन्। उनलाई विकास भन्ने धेरै ठुलो लागेको छ। सेउला, दाउरा बटुल्ने वनमा विमानस्थल बनेको देख्दा स्थानीय खुसी छन्। ‘अब हाम्रा जाने दिन भइगए, विकास भन्ने धेरै ठुलो रैछ’स्थानीयले भने।


नरहरिनाथ गाउँपालिकाका जोरा सिंह विष्टलाई विमानस्थल सञ्चालनमा आए मर्ने बेला सुविधा हुन्थ्यो भन्ने लागेको छ। उमेरले ६४ वर्ष पुगेका उनी पनि घ्युसँग नुन साट्न बर्दियाको राजापुर पुग्थे। राजापुरपछि सत्यगौडी, चिसापानी, साफे, टुनीबगर, राग्माबाट नुन बोके कालिकोटका स्थानीयले।

अहिले नुन पुग्न थालेको छ, बिरामीको उपचार गर्ने सुविधा सम्पन्न अस्पताल भने छैन कालिकोटमा। बिरामीलाई सुर्खेत या नेपालगन्ज पुर्‍याउनु पर्ने बाध्यता छ। एम्बुलेन्स सुविधा भए पनि सुविधा सम्पन्न अस्पताल नहुँदा समयमा उपचार नपाएर अकालमा ज्यान गुमाउनुपर्ने अवस्था रहेको सुनाउँछन् स्थानीय।

नरहरिनाथकी कार्यपालिका सदस्य अप्सरा बुढा आफ्नै घर आँगनमा चील गाडी आउने भएपछि फुरुङ छिन्। सुत्केरीलाई डोकोमा बोकेर अस्पताल पुर्‍याउनु पर्ने बाध्यता मोटरबाटोले हटायो। सडक नबनेका ठाउँमा स्टेचरमा बिरामी बोक्ने गरिएको सुनाउँछिन् बुढा। एयरपोर्ट बनेपछि अझै केही हुने आशा छ कार्यपालिका सदस्य बुढासँग।

एयरपोर्ट सञ्चालनमा आए मर्ने बेला केही सुविधा हुन्थ्यो कि भन्ने लागेको छ स्थानीय जोरासिंह विष्टलाई। रास्कोटमा मावि खोल्दा ८० रुपैयाँ चन्दा दिएको सुनाउँछन् उनी। उनले विद्यालय निर्माण गर्न चिसापानीबाट सिमेन्ट बोके। पञ्चायती व्यवस्था हुँदै बहुदल आयो तर, विकास आएन। तै पनि उनी खुसी छन्।

‘अहिले परिवर्तन नै छ। गाडी गुड्ने सडक बनेपछि मनमा ठिकै लागेको छ,’उनले पहिचानसँग भने,‘मान्छेको जीवनमा जति भयो, भएन भन्ने लाग्छ।’
कुमलाल विष्ट धेरै दुख पाएको विगतको सम्झना सुनाउँछन्। ‘राती उ (माओवादी) आउँछन् र दिउँसो प्रशासन आए। धम्की पनि दिए। त्यही धोकामा पनि बाचियो,’उनले पहिचानसँग भने,‘अहिले शान्ति भएको छ, आनन्द छ, चित्त बुझेको छ।’

कोटवाडा विमानस्थल निर्माणमा खटिँदा २०५८ साल फागुनमा धादिङ जोगिमाराका ३० र स्थानीय ६ जना कामदारको हत्या भएको थियो। योगी नरहरिनाथ जन्मेको भूमि अहिले चील गाडीको प्रतीक्षा गरेर बसेको छ। राज्यको घण्टी बजाइरहेको छ।

साधारण सभामा जनता सहभागी


नरहरिनाथ गाउँपालिका द्वन्द्वका बेला गुमाएको हाँसो फर्काएर मनमा खुसी ल्याउन लागेको छ। सदरमुकाम जोड्ने केबलकार निर्माणका लागि प्रदेश र सङ्घीय सरकारको ध्यानाकर्षण गराइरहेका छन् गाउँपालिका प्रमुख नगेन्द्रबहादुर विष्ट।

विमान चढ्ने स्थानीयको सपना भने अब निकट भविष्यमै पुरा हुने सुनाउँछन् प्रमुख विष्ट। विमानस्थललाई गौचरण बन्ने अवस्था आउन नदिन सदरमुकाम जोड्ने केबलकार निर्माणको डिपिआर कर्णाली प्रदेशका पहिलो मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकारले तयार गरेको छ।

‘काँग्रेसका जीवनबहादुर शाहीले पहिलो प्लेन लिएर आउनु भयो,’गाउँपालिका प्रमुख विष्टले भने,‘पहिलो मुख्यमन्त्रीको केबलकार निर्माण गर्ने योजनामा परेको बजेट अहिले हटाइएको छ।’

सदरमुकाम जोड्ने केबलकार निर्माण, योगी नरहरिनाथ जन्मेको ऐतिहासिक भूमिको प्रचारप्रसार, स्थानीय उत्पादनको बजारीकरण गर्न सके विमानस्थल गौचरण बन्नु पर्ने अवस्था नआउनेमा पूर्वमूख्यमन्त्री शाही विश्वस्त छन्। विमानस्थल नियमित सञ्चालनका लागि जनता पनि प्लेन चढ्न सक्ने क्षमतामा पुग्नुपर्छ।

मुख्यमन्त्री शाही जहाज उडाउँदैमा जीवन परिवर्तन नहुने बताउँछन्। ‘जहाज आँखाले हेर्ने मात्रै बन्छ। त्यसैले जहाज चढ्न सक्ने क्षमता हुनपर्छ। आयस्रोत बढाउनु पर्छ,’उनले भने,‘मान्छे भएनन् भने गौचरण हुन्छ।’ उनले एयरपोर्टसँग जोडेर केबलकार निर्माण गर्ने योजना गेमचेन्जर हुन सने बताए। उनले ट्र्याक खोलिएका सडक कालोपत्रे गर्ने जिम्मा आफूले लिने प्रतिबद्धता पनि जनाए।

स्थानीयले पनि भूगोलले दुर्गम कालिकोटमा भएको पत्रकार महासङ्घ कर्णाली प्रदेश सभाको साधार सभामा उपस्थित भएर चील गाडी हेर्ने चाहना व्यक्त गरेका छन्। साधारण सभामा उपस्थित भएर स्थानीयले जिल्लालाई सुगम बनाउने अभियानमा पत्रकारको साथ खोजेका छन्।

पत्रकार महासङ्घको साधारण सभामा पहिलो पटक जनता सहभागी भएको महासङ्घका पूर्वअध्यक्ष धर्मेन्द्र झा र प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटा सुनाउँछन्।

‘पत्रकार महासङ्घको कार्यक्रममा स्थानीय जनता सहभागी पहिलोपटक हो,’महासङ्घका पूर्वअध्यक्ष झाले भने,‘छिटोभन्दा छिटो प्लेन उडान हुनुपर्छ। पत्रकार महासङ्घले दायित्व पूरा गरेको छ।’

कालिकोटको भूगोल विकट छ। समस्या थुप्रै छन्। इच्छा शक्ति भएमा गर्न नसकिने केही छैन। विमानस्थलसँगै केबलकार निर्माणका लागि विस्तृत अध्ययन भइसकेको छ। विमानस्थल बनेर मात्रै भएन। हवाईजहाजको उडान र अवतरण पनि हुनुपर्छ। पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेल कालिकोटका जनताको आवाज राज्यले सुन्नुपर्ने बताउँछन्।

२०८० सालको पहिलो दिन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले सुनथराली विमानस्थलमा विमान अवतरण गराउने बाचा गरेका छन्। पत्रकार महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष देवीराम देवकोटाले जनताको निराशालाई आशामा बदल्ने काममा पुलको काम गर्ने बताए।

‘यहाँका जनसमुदायले नियमित हवाई सेवा प्राप्त गर्नका लागि यहाँको नेतृत्व र सरकारबाट प्रतिबद्धता आउनु पर्छ, यहाँका जनताले सेवा उपभोग गर्न पाउनु पर्छ भन्ने लक्ष्य सहित हामीले दबाब दिन खोजेका हौँ,’अध्यक्ष देवकोटाले भने,‘पर्यटन मन्त्रीले वैशाख १ गते प्लेन लिएर आउँछु,त्यहाँ (कालिकोट)का जनताको इच्छा र आकाङ्क्षा पुरा गर्न तत्पर हुन्छु, म प्लेन लिएर आउँछु भन्नु भएको छ।’


पत्रकार महासङ्घ कर्णाली प्रदेशका महासचिव खगेन्द्र भट्टराई स्थानीयसँग बाढेको आशा व्यवहारमा परिणत हुन साधारण सभा कोशेढुंगा साबित हुने विश्वास व्यक्त गर्छन्। तत्कालीन पर्यटन मन्त्री जीवनबहादुर शाहीले विमानस्थल सञ्चालनको सम्भावनालाई जीवित गराए।

कर्णाली प्रदेशका पहिलो मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नियमित हवाई सेवाका केबलकार सञ्चालन हुनुपर्ने अवधारणा ल्याए। डिपिआर पनि तयार भइसकेको छ केबलकार निर्माणको।

विमानस्थलसँगै केबलकार निर्माण भए आन्तरिकसँगै बाह्य पर्यटक भित्रने आशा योगी नरहरिनाथका प्रचारकले सुनाए। ‘तपाईँहरूले देखिरहेका दृश्य भन्दा धेरै फरक दृश्य यहाँ छन्,’नरहरिनाथका प्रचारकले भने,‘जुन दृश्यको प्रचार मात्रै गर्न सकियो भने यो एयरपोर्टमा नेपालको जति आउने जाने गर्नुहुन्छ,त्यो भन्दा बढी मान्छे नेपाल भन्दा बाहिरको आउनुहुन्छ।’

केन्द्र सरकार बजेट निर्माणको तयारीमा जुटेको छ। बजेट निर्माणको नेतृत्व सम्हालेका छन् डा.प्रकाशशरण महतले। उनी अहिले बधाई लिने काम बिहान र बेलुका निवासबाटै गरिरहेका छन्। अर्थ मन्त्रालयमा उनी बधाई तथा शुभकामना भन्दा काममा जुटेका छन्। ‘दाइ महत जस्तो गाली खाने अर्थमन्त्री बन्नु छैन भाइ महतलाई,’प्रकाशशरण निकट एक नेताले पहिचानसँग भने,‘देशको अर्थतन्त्र सुधारका लागि भाइ महत सूक्ष्म अध्ययन गरेर काम गर्दै छन्।’

देशको अवस्था बदल्ने गेमचेन्जर योजना र कार्यक्रम ल्याउनु पर्ने चुनौती छ नवनियुक्त अर्थमन्त्री महतलाई। उनीसँग ‘भइहाल्छ नि’ भनेर बस्ने अवस्था छैन। विकासको माग कर्णालीको कालिकोटले मात्रै होइन आवश्यकता अनुसार बाँकी ७६ वटै जिल्लाबाट आइरहेको सुनेका महतलाई सम्पादक समाज नेपालले निजी निवासमै भेटेर बधाई तथा शुभकामना दिएको छ। सफल अर्थमन्त्री बन्नका लागि महतसँग चुनौतीको पहाड उनकै अगाडि उभिएको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading