योजना आयोगले भन्यो, उत्पादन र रोजगारी सिर्जना हुने कार्यक्रममा लगानी गर्नु

योजना आयोगले भन्यो, उत्पादन र रोजगारी सिर्जना हुने कार्यक्रममा लगानी गर्नु

काठमाडौँ : एसियाली विकास बैङ्कले नेपालको भौतिक पूर्वाधारलगायतका क्षेत्रमा करिब चार खर्ब २१ अर्ब (३.२ बिलियन) बराबरको लगानी गरेको छ।

सन् २०२२ सम्ममा बैङ्कले ऊर्जा, यातायात, कृषि, खानेपानी, सहरी पूर्वाधार, सेवा क्षेत्र, ग्रामीण विकास र प्राकृतिक स्रोत, स्वास्थ्य शिक्षालगायतका क्षेत्रमा लगानी गरेको हो।

गत वर्ष मात्र एडिबीले नेपाललाई २५ करोड ५० लाख अमेरिकी डलर बराबर ऋण लगानी गरेको थियो।

मेलम्ची खानेपानी आयोजना, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, माथिल्लो त्रिसुली जलविद्युत् आयोजना लगायत दर्जनौँ आयोजनाहरूमा एडिबीले लगानी गरेको छ।

एडिबीले सरकारले ल्याएका नयाँ परियोजनाहरूमा लगानी गर्न तयार रहेको बताएको छ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठलाई भेटेर एसियाली विकास बैङ्कका देशीय निर्देशक (कन्ट्री डाइरेक्टर) अर्नौड कौकोइसले नयाँ परियोजनाहरूमा लगानी गर्न तयार रहेको बताएका हुन्।

सिंहदरबारस्थित आयोगको कार्यालयमा सोमबार आयोग उपाध्यक्ष श्रेष्ठलाई भेटेका कौकोइसले एडिबीको लगानी रहेका विकास परियोजनाहरूको पोर्टफोलियो सुधारिएको समेत बताए। उपाध्यक्ष श्रेष्ठको सचिवालयका अनुसार उनले नयाँ सरकारले ल्याएका नयाँ परियोजनाहरूमा लगानी गर्न एडिबी तयार रहेको बताए।

उपाध्यक्ष डा. श्रेष्ठले नेपालको विकासमा एडिबीले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे। उनले आगामी दिनमा समेत सरकारलाई एडिबीको सहयोग निरन्तर हुने विश्वास व्यक्त गरे।

उपाध्यक्ष डा. श्रेष्ठले नेपालमा उत्पादन मूलक र रोजगारी सिर्जना हुने परियोजनाहरूमा लगानी आवश्यक रहेको बताए। उनले सरकारले उत्पादन र रोजगारी दिने खालका कार्यक्रम ल्याउने भन्दै त्यस्ता परियोजनाहरूमा लगानी गर्न एडिबीसँग अनुरोध गरे।

भेटवार्तामा आयोगका तर्फबाट उपाध्यक्ष श्रेष्ठ र सचिव केवल प्रसाद भण्डारी थिए भने एडिबीका तर्फबाट कन्ट्री डाइरेक्टर अर्नौड कौकोइस, प्रमुख अर्थशास्त्री जान हानसेन, वरिष्ठ कार्यक्रम अधिकृत अञ्जन पाण्डे र कार्यक्रम विश्लेषक श्रीजना राजभण्डारी सहभागी रहेको उपाध्यक्ष श्रेष्ठको सचिवालयले जनाएको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.