प्रधानमन्त्रीको भारत भ्रमण

मोदीलाई नेपाल भ्रमणको निम्तो, सम्बन्ध सुपर हिट हुने दाबी

मोदीलाई नेपाल भ्रमणको निम्तो, सम्बन्ध सुपर हिट हुने दाबी

नयाँ दिल्ली : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन्।

भारत भ्रमणका क्रममा सात वटा समझदारी पत्रमा हस्ताक्षर पछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका हुन्।

प्रधानमन्त्री प्रचण्ड नेपालको सौहार्दपूर्ण भ्रमणका लागि निम्तो दिँदै आफू स्वागत गर्न आतुर रहेको बताए। प्रचण्ड र मोदीले बिहीबार नयाँ दिल्लीको हैदरावाद हाउसमा प्रतिनिधिमण्डल स्तरीय वार्तापछि संयुक्त पत्रकार सम्मेलन गर्दै सहमतिबारे पनि जानकारी दिए।

पत्रकार सम्मेलनमा सीमापार पेट्रोलियम पाइपलाइनलाई अमलेखगन्जबाट चितवनसम्म ल्याउने र सिलिगुडीबाट झापासम्म अर्को पाइपलाइन बिछ्याइने सहमति भएको जानकारी दिइएको छ।

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र सुष्मा स्वराज इन्स्टिच्युटबिच सहकार्य गर्ने, चाँदनी दोधारामा एकीकृत जाँच चौकी बनाइने सहमति भएको छ।

तल्लो अरुणको पीडिए गर्ने र फुकोट कर्णाली भारतीय कम्पनीले बनाउने सहमति भएको छ। ६ सय ६९ मेगावाट क्षमताको तल्लो अरुणबाट नेपालले १४० दशमलव ४९ मेगावाट बिजुली पाउने गरी भारतीय कम्पनीसँग परियोजना विकास सम्झौता (पीडीए) भएको छ।

भारतीय कम्पनी सतलज जलविद्युत् निगम (एसजेभीएन) ले २१ प्रतिशत बिजुली पाउने गरी सम्झौता भएको छ। नेपाल र भारतबिच डिजिटल पेमेन्ट सम्झौता भएको छ।

नेपालको हितमा उठाउने भनिएका कालापानीको सीमा विवाद, हवाई रुट र २५ वर्षका लागि विद्युत् व्यापार सम्झौता गरिने भनिए पनि हुन सकेन। भारतले १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली खरिदमा भने सहमति जनाएको छ।

नेपालमा रासायनिक मल कारखानाका विषयमा कुरा उठे पनि सहमति जुटेन। तर, भारतले चाहेको अरुण र कर्णाली परियोजना दिन नेपाल तयार भएको छ।

लिपुलेक, लिम्पियाधुरा र कालापानीको भूमि नेपाललाई फिर्ता गर्नेबारे छलफलसम्म गर्न नचाहेका भारतीय प्रधानमन्त्री मोदीले सीमा समस्या समाधान गरिने बताए। नेपाल–भारत सम्बन्ध सुपर हिट हुने दाबी समेत मोदीले गरे।

नेपालमा रासायनिक मल कारखाना स्थापनाबारे दुवै देशका प्रधानमन्त्रीले कुरा भएको बताए। बङ्गलादेशलाई ५० मेगावाट बिजुली बेच्ने नेपालले दुईदेशीय सम्झौता गरिसकेको छ। यसमा भारतले लिखित सहमति जनाएको छैन। तर, यसबारे सहमति भएको प्रधानमन्त्री प्रचण्डले संयुक्त पत्रकार सम्मेलनमा जानकारी दिए।

भारतको चार दिने औपचारिक भ्रमणमा रहेका प्रचण्डले आफ्नो यो चौथो भारत भ्रमण भएको बताए। पहिलो संविधानसभा निर्वाचनपछि प्रधानमन्त्री बनेका प्रचण्डले २०६५ भदौ २९ देखि असोज २ गतेसम्म पहिलो पटक भारत भ्रमण गरेका थिए। भ्रमणमा राप्तीको नौमुरे जलविद्युत परियोजना निर्माण, १९५० को सन्धि पुनरावलोकन, कोसीको बाढीले पुर्‍याएको क्षतिको न्यूनीकरणलगायतका विषयमा सहमति भएको थियो।

प्रधानमन्त्री प्रचण्डले भेटवार्तामा दुई देशबिच व्यापार, पारवहन, सम्पर्क सञ्जाल, लगानी, जलविद्युत्, विद्युत् व्यापार, सिँचाइ, कृषि, रेल्वे, पुल, प्रसारण लाइन, पेट्रोलियम पाइपलाइन विस्तार, एकीकृत भन्सार जाँच चौकीका साथै अतिरिक्त हवाई प्रवेश विन्दुलगायत बहुआयामिक क्षेत्रलाई अझ बलियो बनाउने विषयमा छलफल भएको बताए।

प्रधानमन्त्री प्रचण्डले दीर्घकालीन विद्युत् व्यापार सम्झौताअन्तर्गत आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् नेपालबाट आयात गर्ने सहमति भएको बताए। यो सन् २०२२ अप्रिलमा दुई देशका प्रधानमन्त्रीबिच भएको सहमतिका आधारमा सम्भव भएको उनको भनाइ छ।

सभामुखको बाध्यता : प्रमाणित गर्न पाइएन, प्रमाणीकरणको सूचना दिनु पर्‍यो

उनले नेपालबाट भारत हुँदै बङ्गलादेशसम्म दैनिक ५० मेगावाट विद्युत् पुर्‍याउनका लागि गरेको सहयोगको प्रशंसासमेत गरे। उनले विद्युत् व्यापारका सन्दर्भमा नेपाल–भारत–बङ्गलादेशबिच छिट्टै त्रिपक्षीय सम्झौता हुनेमा विश्वास व्यक्त गरे।

उनले दुई प्रधानमन्त्रीबिच तीन महिनाभित्र बहुउद्देश्यीय पञ्चेश्वर आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने र डिपिआर स्वीकृत भएको एक वर्षभित्र कार्यान्वयनको ढाँचा तयार गर्ने सहमति भएको जानकारी दिए।

उनले टनकपुर नहरबाट नेपालतर्फको सिँचाइ, मनसुन सुरु हुनुअघि नै नेपालको तराई क्षेत्रमा हुनसक्ने बाढीको जोखिम न्यूनीकरणका लागि द्विपक्षीय संयन्त्रले काम गर्ने विषयमा छलफल भएको जानकारी गराए।

उनले भारतसँगको व्यापार घाटा न्यूनीकरणका लागि निर्यातमा सहजीकरण गर्न आग्रह गरेको बताए। उनले नेपालको जुटजन्य वस्तुको सामग्रीमा एन्टिडम्पिङ हटाउन आग्रह गरेको बताए। उनले व्यापार र पारवहनसम्बन्धी सम्झौता पुनरावलोकन गरिएको बताए।

प्रधानमन्त्रीले दुई देशबिचको सीमाका विषयमा आफूहरूबिच द्विपक्षीय कूटनीतिक संयन्त्रका माध्यमबाट समाधानका लागि पहल गर्ने विषयमा छलफल भएको बताए। उनले नेपालमा संयुक्त साझेदारीमा रासायनिक मलको कारखाना स्थापना गर्ने विषयमा पनि छलफल भएको बताए।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र नेपालबिच धार्मिक र सांस्कृतिक सम्बन्ध निकै पुरानो र घनिष्ठ रहेको बताएका छन्। उनले भारत–नेपाल सम्बन्धलाई हिमाल जतिकै उचाइ प्रदान गर्नका लागि काम गरिरहने उल्लेख गरे। ‘यही भावनाअनुसार सबै मुद्दा, चाहे सीमाका हुन्, या अन्य कुनै विषय सबै समाधान गर्छौँ’, उनले भने, ‘यो सुन्दर सम्बन्धलाई थप प्रगाढ बनाउन प्रधानमन्त्री दाहाल र मैले रामायण सर्किटसँग सम्बन्धित परियोजनालाई तीव्र गतिमा अगाडि बढाउन चाहेका छौँ।’

नौ वर्षअघि सन् २०१४ मा आफूले भारतीय प्रधानमन्त्रीका रूपमा कार्यभार सम्हालेको तीन महिनाभित्र नेपालको पहिलो भ्रमण गरेको स्मरण गर्दै उनले नौ वर्षमा दुवै देशबिच अनेकौँ क्षेत्रमा कयौँ उपलब्धि हासिल भएको उल्लेख गरे। ‘वीरगन्जमा नेपालको पहिलो एकीकृत जाँच चौकी (आइसिपी) बनेको छ, भारत–नेपालका बिचमा पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन निर्माण भएको छ। ‘ब्रोडगेज’ रेललाइन स्थापित भएको छ, सीमा क्षेत्रमा नयाँ प्रसारण लाइन निर्माण भएको छ,’भारतीय प्रधानमन्त्री मोदीले भने,‘नेपालबाट चार सय ५० मेगावाट बिजुली आयात गरिरहेका छौँ।’

नेपालमा एक रासायनिक मल कारखाना स्थापना गर्न दुई देशबिच आपसी सहयोगका लागि सहमति भएको जानकारी मोदीले दिए।

तस्बिर : राष्ट्रिय समाचार समिति

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading