आइसिसी विश्वकप छनोट : सन्दीप र दीपेन्द्र महँगो साबित

आइसिसी विश्वकप छनोट : सन्दीप र दीपेन्द्र महँगो साबित

काठमाडौं : आइसिसी एकदिवसीय विश्वकप छनोटमा नेपाल घरेलु टोली जिम्बाबेसंग ८ विकेटले पराजित भएको छ।

जितका लागि नेपालले दिएको २९१ रनको लक्ष्य जिम्बाबेले ४४ दशमलव १ ओभरमा मात्र दुई विकेटको क्षतिमा पुरा गर्‍यो।

जिम्बाबेको जितमा कप्तान क्रेग एर्विन र सेन विलियम्सले शतक प्रहार गरे। कप्तान एर्विनले अविजित १२१ तथा विलियम्सले १०२ रनको सतकिय पारी खेले।

वेस्ली मधेभरेले ३२ रनको योगदान गरे। जोएलर्ड गाम्बिले २५ रन जोडे। बलिङतर्फ सोमपाल कामी र गुल्सन झाले एक÷एक विकेट लिए।

ब्याटिङ लाइनमा सुधारिएको प्रदर्शन गरेको नेपालको बलिङ लाइन निकै खराब रह्यो। सुरुमै करण केसीलाई बलिङमा उतारेर गम्भीर गल्ती गरेका कप्तान रोहित पौडेलले स्पिनर ललित नारायण राजवंशीलाई बेञ्जमा राखेर अर्को गल्ती गरे। जसको प्रत्यक्ष असर बलिङ लाइनमा स्पष्ट देखियो।

आशा गरिएका स्पिनर सन्दीप लामिछाने र दीपेन्द्र सिं ऐरी निकै महँगो साबित बने। १० ओभर बलिङ गरेका लामिछानेले ७७ रन दिए पनि विकेट लिन सकेनन्।

यस्तै पुरै दश ओभर बलिङ गरेका ऐरीले पनि कुनै पनि विकेट नलिई ५८ रन दिए। त्यसअघि हरारे स्पोर्टस क्लबमा टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २९० रन बनायो।

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ९९ रनको योगदान गरे। भुर्तेल टेस्ट क्रिकेटमा शतक प्रहार गर्ने पहिलो खेलाडी बन्न मात्रै एक रनले चुके। आशिफ शेखले ६६ तथा कुशल मल्लले ४१ रनको योगदान गर्दा कप्तान रोहित पौडेल ३१ रनमा आउट भए।

गुल्सन झाले १३ तथा आरिफ शेखले १० रन जोडे पनि अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन्। बलिङतर्फ रिचर्ड नागरावाले सर्वाधिक ४ विकेट लिए। जीतसँगै जिम्बाबे २ अङ्क जोड्दै समूह ए को शीर्ष स्थानमा उक्लिएको छ।

हारसँगै नेपाल समूह ए को दोस्रो स्थानमा रहेको छ। नेपालले दोस्रो खेल असार ५ मा अमेरिकासँग खेल्दैछ। तेस्रो खेल वेस्ट इन्डिजसँग असार ७ र समूह चरणको अन्तिम खेलमा नेपालले असार ९ मा नेदरल्यान्डसँग खेल्नेछ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.