नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अक्षम, मन्त्रीले सोधे ९ बुँदे स्पष्टीकरण

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अक्षम, मन्त्रीले सोधे ९ बुँदे स्पष्टीकरण

काठमाडौं : सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसँग स्पष्टीकरण माग गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ९ बुँदे स्पष्टीकरणको ७ दिनभित्र स्पष्ट जवाफ सहितको विवरण पेस गर्न भनेको छ।

महानिर्देशक अधिकारी नेपाल सरकारको नीतिको परिपालन नगर्ने र उल्टै त्यसलाई चुनौती दिने कार्यमा संलग्न रहेको पाइएको छ। अधिकारीको यो कार्य नेपाल नागरिक उड्डयन प्राधिकरण, कर्मचारी सेवाका सर्त र सुविधा सम्बन्धी नियमावली २०५६ को नियम विपरीत रहेकोले के कति कारणले आफ्नो पदीय जिम्मेवारी विपरीत सरकारको नीति विरुद्धका कार्य गर्नुभएको हो? भनेर मन्त्री सुदन किरातीले पहिलो बुँदामा स्पष्टीकरण माग गरेका छन्।

अधिकारी महानिर्देशक भएपछि वायुयानसँग सम्बन्धित गम्भीर घटना निरन्तर भइरहँदा देशले क्षति व्यहोर्नु परिरहेको र नेपालको उड्डयन सुरक्षामाथि पनि गम्भीर प्रश्न उठिरहेको छ। असुरक्षालाई प्रभावकारी बनाउनु पर्ने आफ्नो कर्तव्य र जिम्मेवारी निर्वाह गर्न तपाईँ असफल रहेको किन मान्नु नपर्ने? मन्त्री किराँतीले स्पष्टीकरण माग गरेको दोस्रो बुँदामा उल्लेख गरिएको छ।

वायुसेवा निगम सिद्ध्याउने धमिरा

मन्त्री किरातीले अधिकारीको नेतृत्व क्षमता र राज्यले उडान सुरक्षाका लागि सुम्पेको जिम्मेवारी बहन गर्न सक्ने क्षमतामा प्रश्न गरेका छन्। ‘फ्लाइट क्यालिब्रेसनको अन्तिम प्रतिवेदन प्राप्त नभई तथा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि उडान सुरक्षा मूल्याङ्कन लगायतका गर्नु पर्ने सम्पूर्ण पूर्व तयारी सम्पन्न नगरी विमानस्थल सञ्चालनमा किन ल्याएको?’अधिकारीलाई मन्त्री किरातीले सोधेका छन्,‘परीक्षण उडान गराइ सोको प्रतिवेदन प्राप्त नगरी पोखरा विमानस्थलमा एयरबस ३२० विमानलाई उडान गर्न दिई उडान सुरक्षामा चरम लापरबाही के कति कारणले गर्नु भएको हो?’

अधिकारीले उडान सुरक्षामा प्रतिकुल असर गर्ने चरम लापरबाहीपूर्ण कार्य गरेको मन्त्रालयले ठहर गरेर स्पष्टीकरण माग गरेको जनाएको छ। मिति २०७९ जेठ २ गतेदेखि सञ्चालनमा ल्याइएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र मिति २००९ पुस १७ गतेदेखि सञ्चालनमा ल्याइएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन। राज्यले दातृ निकायहरूबाट अरबौँ रुपैयाँ ऋण लिएर बनाइएका अन्तर्राष्ट्रिय विमानस्थलहरू सञ्चालनमा ल्याउन नसक्नुमा विमानस्थल सञ्चालकको समेत मुख्य भूमिकामा रहेका अधिकारीको कार्यक्षमता कमजोर रहेको किन नमान्ने? भनेर स्पष्टीकरण सोधिएको छ।

महालेखा परीक्षकको ६० औ वार्षिक प्रतिवेदन, २०७९ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजना सम्बन्धी उपशीर्षक ८९२ मा उल्लेख भएको विमानस्थलको रनवेको पूर्वतर्फ १५ कि.मी. मा रहेको छिनेडाँडाको उचाइ ३० मिटर काट्नुपर्ने गरी साबिकमा व्यवस्था भएकोमा रनवे को उचाइ कम हुँदा डाँडाको हाइट ४० मिटर काट्नुपर्ने अवस्था सिर्जना भएको, रन–वे को उचाइ घटाउँदा निस्केको ग्राभेल मिसिएको ढुङ्गा माटो निर्माण व्यवसायीले वा डिस्पोज गरेको नदेखिएकोले निस्केको सबवे ढुङ्गा सहितको ग्राभेल उक्त रन वेमा नै प्रयोग गरेको अवस्था देखियो भन्ने उल्लेख छ।

रन–वे को उचाइ घट्नुको कारण के हो रनवेको उचाइ घटाउँदा छिनेडाँडाको उचाइ काट्नु परेको र यसबाट आर्थिक नोक्सानी परेको देखिन्छ। हवाई सुरक्षामा समेत यसबाट प्रतिकूल असर पर्ने देखिएकोले यस्तो कार्य किन गरिएको हो? भनेर अधिकारीसँग स्पष्टीकरण माग गरिएको छ।

महालेखा परीक्षकको ५० औ वार्षिक प्रतिवेदन, २००९ को पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको उपशीर्षकको बुँदा नं. ८९३ मा उल्लेख भएको विमानस्थल निर्माण कार्यका लागि प्राधिकरण र निर्माण व्यवसायीबिच भएको सम्झौतामा अमेरिकी डलर ९० लाख व्यवस्था गरेकोमा सो रकम घटाइ अमेरिकी डलर ३१ लाख ७० हजार कायम गरेको छ।

राज्यलाई परेको र पर्न सक्ने नोक्सानीको जिम्मेवारी तथा जबाफदेहिता लिनु किन नपर्ने भनेर मन्त्री किरातीले स्पष्टीकरण सोधेका छन्।

प्रदीप अधिकारीलाई सोधिएको स्पष्टिकरण :

(१) तपाईलाई नेपाल सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा १९ बमोजिम नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा नियुक्त गरेको र नेपाल सरकारका नीति, नियम, कार्यक्रमहरुको पालना गर्नु गराउनु तपाईंको कर्तव्य र जिम्मेवारी हो। आ.व. २०७९/८० को संघीय संसदले पास गरेको बजेट तथा कार्यक्रमको बुँदा नं १०१ मा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक निकाय र सेवा प्रदायक निकायको रूपमा छुट्याउने भनी उल्लेख भएको छ सोही बमोजिम प्रक्रिया अघि बढिरहेको अवस्थामा तपाईले नेपाल सरकारको उक्त नीति विपरित विभिन्न कार्यक्रममा अभिव्यक्ति दिने उक्त नीतिको प्रतिकुल सञ्चार माध्यमहरुमा अन्तर्वार्ता तथा अभिव्यक्त दिने जस्ता कार्यहरु गरी नेपाल सरकारको नीतिको परिपालन नगर्ने र उल्टै त्यसलाई चुनौति दिने कार्यमा संलग्न रहेको पाइएको छ । तपाइको उक्त कार्य नेपाल नागरिक उड्डयन प्राधिकरण, कर्मचारी सेवाका शर्त र सुविधा सम्बन्धि नियमावली २०५६ को नियम ११.२६ को प्रावधान विपरित रहेकोले के कति कारणले तपाइले आफ्नो पदीय जिम्मेवारी विपरित सरकारको नीति बिरुद्धका कार्य गर्नुभएको हो?

(२) प्राधिकरणको महानिर्देशक State Safety Programme को Accountable Executive भएको र नेपालमा हवाई उडान सुरक्षाको प्रत्याभूति गर्ने प्रमुख जिम्मेवार अधिकारी पनि तपाई भएको तर तपाई महानिर्देशक भएपछि नेपाली तांका २ वटा यात्रु विमानहरु र वटा हेलिकप्टरहरु दुर्घटना भइ धनजनको क्षति भएको, वायुयानसँग सम्बन्धित गम्भीर घटना (Serious Incidents) निरन्तर भइरहंदा देशले क्षति व्यहोर्नु परिरहेको र नेपालको उड्डयन सुरक्षामाथि पनि गम्भीर प्रश्न उठिरहेको छ । असुरक्षालाई प्रभावकारी बनाउनु पर्ने आफ्नो कर्तव्य र जिम्मेवारी निर्वाह गर्न तपाईं असफल रहेको किन मान्नु नपर्ने ?

(३) वायुयान घटना, दुर्घटना रोकथामका लागि अपनाउनुपर्ने निरोधात्मक उपाय (Preventive measures) भन्दा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (ICAO को सिद्धान्त विपरित घटना दुर्घटनापछि प्रतिक्रियामा जाने (Reactive measures) गरेको देखिदा नियामक निकायको रूपमा तपाईंको नेतृत्व क्षमता र राज्यले उडान सुरक्षाका लागि सुम्पेको जिम्मेवारी बहन गर्न सक्ने तपाईंको क्षमतामा किन प्रश्न नगर्ने?

(४) नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक निकाय र सेवा प्रदायक निकायको रुपमा छुट्याउने नेपाल सरकारको नीति तथा कार्यक्रम र अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन (ICAO) ले अप्रिल १३ देखि २५, २०२२ मा गरेको नेपालको उड्डयन सुरक्षा परिक्षण (USOAP CMA Audit of the civil aviation system of Nepal) मा भएको सिफारिस विपरित कार्यात्मक विभाजन (functional separation) नै प्रर्याप्त छ भन्ने अभिव्यक्ति दिने तपाईंले हवाई सेवाको क्षेत्रमा स्वार्थको इन्द्र ( Conflict of Interest) हुन नहुने मान्यता विपरित विमानस्थलहरुको उडान सुरक्षा नियमन गर्न स्थापित एरोड्रम सेफ्टी स्ट्याण्डर्ड विभागको प्रमुख र राष्ट्रिय गौरवका आयोजनाको प्रमुखको जिम्मेवारी एउटै व्यक्तिलाई बनाई निजकै नेतृत्वमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रमाणीकरण गरेको, फ्लाइट क्यालिब्रेसनको अन्तिम प्रतिवेदन प्राप्त नभई तथा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि उडान सुरक्षा मूल्यांकन लगायतका गर्नु पर्ने सम्पूर्ण पूर्व तयारी सम्पन्न नगरी विमानस्थल सञ्चालनमा किन ल्याएको ? परीक्षण उडान गराइ सोको प्रतिवेदन प्राप्त नगरी पोखरा विमानस्थलमा एयरबस ३२० विमानलाई उडान गर्न दिई उडान सुरक्षामा चरम लापरवाही के कति कारणले गर्नु भएको हो ?

(५) मिति २०७९ पुष १७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनको दिन तपाईंको आदेशमा पोखरा विमानस्थलको Last Landing VFR समय समाप्त भइसकेपछि पनि Civil Aviation Requirements-Rules of the Air को 43 / AIP Nepal को ENR 1.2 विपरित विभिन्न वायुसेवा कम्पनीका ५ वटा उडान गराइएको पाइयो। नियामक निकायको प्रमुखको हैसियतले यस्तो कार्यलाई रोक्नु पर्नेमा उडान सुरक्षामा प्रतिकुल असर गर्ने चरम लापरवाहीपूर्ण कार्य किन र कसरी हुन गएको हो ?
(६) मिति २०७९ जेठ २ गतेदेखि सञ्चालनमा ल्याइएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र मिति २००९ पुष १७ गतेदेखि सञ्चालनमा ल्याइएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन। राज्यले दातृ निकायहरुबाट अरबौ रुपैयाँ ऋण लिएर बनाइएका अन्तर्राष्ट्रिय विमानस्थलहरु सञ्चालनमा ल्याउन नसक्नुमा विमानस्थल सञ्चालकको समेत मूख्य भूमिकामा रहनु भएका तपाईंको कार्यक्षमता कमजोर रहेको किन नमान्ने?

(७) महालेखा परीक्षकको ६० औ वार्षिक प्रतिवेदन, २०७९ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजना सम्बन्धी उपशीर्षक (८९२ मा उल्लेख भएको विमानस्थलको रनवेको पूर्वतर्फ १५ कि.मी. मा रहेको छिनेडाँडाको उचाई ३० मिटर काट्नुपर्ने गरी साविकमा व्यवस्था भएकोमा रनवे को उचाई कम हुँदा डाँडाको हाइट ४० मिटर काटनुपर्ने अवस्था सिर्जना भएको, रन-वे को उचाई घटाउंदा निस्केको ग्राभेल मिसिएको ढुंगा माटो निर्माण व्यवसायीले वा डिस्पोज गरेको नदेखिएकोले निस्केको सबवे दुगा सहितको ग्राभेल उक्त रन वेमा नै प्रयोग गरेको अवस्था देखियो भन्ने उल्लेख छ । रन-वे को उचाई घट्नुको कारण के हो रनवेको उचाई घटाउँदा छिनेडाँडाको उचाई काट्नु परेको र यसबाट आर्थिक नोक्सानी परेको देखिन्छ । हवाई सुरक्षामा समेत यसवाट प्रतिकूल असर पर्ने देखिएकोले यस्तो कार्य किन गरिएको हो?

(८) महालेखा परीक्षकको ५० औ वार्षिक प्रतिवेदन, २००९ को पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको उपशीर्षकको बुँदा नं. ८९३ मा उल्लेख भएको विमानस्थल निर्माण कार्यका लागि प्राधिकरण र निर्माण व्यवसायीबीच भएको सम्झौतामा प्रोभिजनल सम वापत अमेरिकी डलर ९० लाख व्यवस्था गरेकोमा सो रकम घटाइ अमेरिकी डलर ३१ लाख ७० हजार कायम गरेको छ। निर्माण व्यवसायीले परामर्शदाताको व्यवस्था गर्न वि. ओ. क्यू. मा समावेश भएको अमेरिकी डलर २८ साखलाई घटाइ सो आइटममा व्ययभार बढ्ने गरी परामर्शदाता नियुक्ति गरेको पाइयो। सम्झौतामा नै परामर्श सेवा वापतको खर्चको व्यवस्था रहेको भएता पनि प्राधिकरणले त्यसैबाट खर्च नगरी छुट्टै सम्झौता गरी प्राधिकरणको बजेटबाट खर्च हुने गरी डिजायन रिभ्यूको लागि परामर्श सेवाका लागि अर्को परामर्शदातासँग रु ३७ करोड ९५ लाख ९० हजारमा सम्झौता भएको देखिन्छ। सम्झौता गर्दाका बखत प्रति अमेरिकी डलर रु. ८२२०९ को दरले परामर्श खर्चको लागि ई.पि.सि.मा रु. २२ करोड ९८ लाख ५२ हजार बराबरको खर्चको व्यवस्था भएता पनि छुट्टै सम्झौता अनुसारको रकम पहिले गरेको अनुमान भन्दा ६५.१५ प्रतिशतले बढी हुनुले निर्माणमा मितव्यिता कायम भएको देखिएन। सुपरभिजन कन्सल्टेन्सी सेवाको ठेक्कामा प्रोभिजनल सम वापत रु १९ करोड ५२ लाखको व्यवस्था गरेको देखिन्छ। परामर्श सेवाको ठेक्कामा ५३ प्रतिशत प्रोभिजनल सममा राखेको औचित्यपूर्ण देखिएन भन्ने विषयमा तपाईंको भनाइ के छ? यसरी छुट्टै सम्झौता गरी प्राधिकरणलाई गम्भीर हानी नोक्सानी किन पुयाएको हो?

(९) नेपाल नागरिक उड्डयन प्राधिकरणको मिति २०७१।०४।०२ को यस मन्त्रालयका सचिवलाई सम्बोधन गरी लेखेको पत्रमा पोखरा महानगरपालिका वडा नं. १५ कोलपाटनमा नेपाल खानेपानी संस्थानद्वारा जाइकाको सहयोगमा निर्माणाधीन खानेपानी ट्याङ्की अन्तर्राष्ट्रिय विमानस्थलको OLS भित्र पर्ने भएकाले यथाशीघ्र सो ट्याङ्कीको उचाइ २० मिटरबाट घटाएर १५.५७ मिटर वा कम कायम गर्ने व्यवस्थाका लागि कारवाही अघि बढाइदिन भनि उल्लेख भएको । महालेखा परीक्षकको ६० औं वार्षिक प्रतिवेदन, २०७९ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजना सम्बन्धी उपशीर्षक (८९२) मा उल्लेख भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको रनवेको पूर्वतर्फ १.५ कि.मी. मा रहेको छिने डाँडाको उचाई ३० मिटर काट्नुपर्ने गरी साविकमा व्यवस्था भएकोमा रन-वे को उचाई कम हुँदा डाँडाको हाइट ४० मिटर काट्नुपर्ने अवस्था सिर्जना भए जस्तै रन-वे को उचाई घटाउँदा सो पानी ट्याङ्कीको समेत उचाइ घटाउनु पर्ने अवस्था सिर्जना भएको देखिन्छ । पानी ट्याङ्कीको उचाइ घटाउनु पर्ने भएवाट राज्यलाई परेको र पर्न सक्ने नोक्सानीको जिम्मेवारी तथा जवाफदेहिता तपाईले लिनु किन नपर्ने?

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading