काठमाडौं : नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने सङ्गठित अपराधमा १६ जना जेल परेका छन्। काठमाडौं जिल्ला अदालतको आदेशमा पूर्वउपपधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण जेल पर्ने उच्च राजनीतिज्ञ हुन्।
पूर्वगृहमन्त्री रामबहादुर थापाको कार्यकालमा सुरु भएको नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणको सूचना दिने काम टेकनाथ रिजालले गर्दै आएका थिए। रिजालले थापापछि गृहमन्त्री बनेका बालकृष्ण खाँण हुँदै वर्तमान नारायणकाजी श्रेष्ठसम्मलाई सूचना दिए।
त्यसो त रिजालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, केपी शर्मा ओलीसम्मलाई नेपालकै बेइज्जत हुने काम रोक्न भनेका थिए। आफू पक्राउ पर्नु ३ दिन अघि पनि रिजालले गृह मन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर शरणार्थी प्रकरणको जानकारी दिएका थिए।
४ मङ्सिर २०७९ मा भएको आमनिर्वाचनपछि बालकृष्ण गृहमन्त्रीबाट हटे। रवि लामिछाने आफ्नै नागरिकता मुद्दामा रुमल्लिए। गृहमन्त्रीमा श्रेष्ठको नियुक्तिसँगै नक्कली शरणार्थी प्रकरणको सुरुमा तीन जना पक्राउ परे। सुरुमा पक्राउ परेका केशवप्रसाद दुलाल र सानु भण्डारी मुख्य योजनाकार देखिए। पूर्पक्षका लागि केही दिन केन्द्रीय कारागार बसेका दुवै गृहको निर्देशनमा नख्खु कारागार चलान भएका छन्।
नक्कली शरणार्थी प्रकरणमा टेकनाथको बयान, मन्त्रिपरिषद् जिम्मेवार हुनुपर्छ
पीडितको उजुरीका आधारमा पक्राउ परेकाहरूले प्रहरीलाई दिएको बयानमा आरोप स्वीकारेका छन्। पक्राउ परेकाहरूले प्रहरीलाई दिएको बयान र अदालतमा दिएको बयान हुबहु भने छैन। प्रहरीसँग आरोप स्वीकारे पनि अदालतमा अस्वीकार गरे। जेलबाट उम्कने तयारी सहित प्रहरीका हिरासत कक्षबाट अदालत पुगेकाहरू मध्ये दुई जना मात्रै धरौटीमा रिहा भए।
जेल परेका १६ जना जिल्लाको आदेश बदर गर्ने निवेदन बोकेर उच्च अदालत पुगिरहेका छन्। निलम्बित सचिव टेकनारायण पाण्डे, ईन्द्रजित राई सहित १० जनाको निवेदनमा उच्च अदालतले कैफियत प्रतिवेदन मगाउने आदेश दिइसकेको छ। ‘कैफियत प्रतिवेदन माग्ने आदेश भएको छ,’उच्च अदालतकी उपरजिस्टार मन्दिरा शाहीले भनिन्,‘जिल्ला अदालतमा आदेश गइसकेको छ, सायद एकै पटक आउँला।’
जिल्ला अदालतका प्रवक्ता दीपक दाहालले कैफियत प्रतिवेदन माग्ने उच्चको आदेश प्राप्त भएको बताए। ‘जवाफ भने पठाइएको छैन,’उनले भने,‘सायद एकै पटक जान्छ।’ जिल्लाको आदेशमा पुर्पक्षका लागि केन्द्रीय कारागार पुगेका रायमाझी, खाँण, रिजालसहितका ६ जना पनि उच्च पुग्ने तयारीमा छन्। आफ्ना कानुन व्यवसायीमार्फत उच्च पुग्ने तयारीमा रहेका उनीहरूलाई हदम्यादको भने कुनै बन्देज छैन।
जिल्लाको आदेश भएको यति नै दिन भित्र उच्च जानु पर्ने भन्ने कानुनी बाध्यता नरहेको प्रवक्ता दाहालले बताए। ‘यति नै दिन भनेर तोकिएको रैनछ,’उनले भने। सँगै जेल परेकाहरू उच्च अदालत नजाँदा मुद्दा लम्बिने र जेल बसिरहनु पर्ने चिन्ता निलम्बित सचिव पाण्डेलाई छ। उनी भद्र बन्दी गृहमा रहेका पूर्वमन्त्रीहरुलाई आफू रहेको केन्द्र बन्दी गृहमा निवेदन दिएर भेट्न जाने गरेका छन्। उनी आफूलाई फसाइएको बताइरहेका छन्।
उनलाई भेटेका सरकारी कर्मचारीहरू पनि सचिव पाण्डेलाई फसाइएको प्रतिक्रिया दिन्छन्। मन्त्रिपरिषद् नै संलग्न भएको नक्कली भुटानी शरणार्थी प्रकरणमा बहालवाला सचिव पाण्डे जेल पुगे पछि केही दिन रोएरै बिताए। उनी क्वाँक्वाँ नै रोए। ‘जिल्लाको आदेशबाट रिहा भइन्छ भन्ने आशा उहाँ (पाण्डे) लाई रैछ क्यारे,’कारागार प्रशासनका एक कर्मचारीले भने,‘यहाँ (केन्द्रीय कारागार) आएपछि केही दिन उहाँले रोएरै बिताउनु भयो।’
पाण्डे अहिले भने जेल भित्रको कथा लेख्दै छन्। उनले दुई वटा वास्तविक कथा पनि छनोट गरिसकेका छन्। उनको कथाका दुई पात्र महिलाबाट पीडित बनेका छन्। पहिला पाण्डे रुन्थे, अहिले पाण्डेसँग कथाका दुई पात्र रुन्छन्। ‘हुँदै नभएको आरोप लगाएर फसाइएकाहरूको कथा लेख्दै छु,’ सचिव पाण्डेले भने,‘प्रहरीले खुट्टा माथि पारेर पाइपले हिर्काएर आरोप स्विकार्न बाध्य बनेँ भन्नेहरू पनि भेटेको छु।’ उनीहरूकै कथा लेख्ने तयारीमा रहेको पाण्डे सुनाउँछन्।
अघिल्लो साता पाण्डे र रिजाल आगन्तुक कक्षमा सँगै भेटिए। उच्च जानेबारे दुवैको वार्तालाप भयो। आगन्तुक दुवैका कुरा सुनेर बसे। सचिव पाण्डेले रिजाललाई उच्च जाने तयारी छैन भनेर सोधेँ। रिजालले आफ्ना वकिलले तयारी गरिरहेको बताए। रिजालको तयारी गरिदिने को होलान् भन्ने आगन्तुकको जिज्ञासामा सचिव पाण्डेले हाँस्दै भने,‘उहाँका त घकडान घकडान वकिल छन् नि।’
सचिव पाण्डेले दुई उदाहरण दिँदै कारागारमा प्रहरीले यातना दिएर आरोप स्विकार्न बाध्य बनेकाहरूको कथा लेख्ने सुनाउँदा रिजालले आफ्नै पुस्तक लेख्न थालेको बताए। ‘अहिले पनि खुट्टा पोलेको छ, टेक्न गाह्रो छ सर भन्दै थियो,’पाण्डेले भने,‘आरोप स्वीकार नगरेसम्म प्रहरीले यातना दिँदो रैछ।’ उनले आधा जस्तो कैदी फसाइएको अनुमान समेत सुनाए।
पाण्डे र रिजाल पनि आफूहरूलाई परिबन्धमा पारेर फसाइएको बताउँछन्। ७६ वर्षका रिजालको स्वास्थ्य, खाने बस्ने व्यवस्थामा भुटानी राजबन्दी रिहाइका लागि अन्तर्राष्ट्रिय अभियानले विज्ञप्ति निकालेपछि कारागार प्रशासनले चासो दिएको छ।
भित्ताको चिसोले समात्ने हो कि भन्ने रिजालको चासोलाई व्यवस्थापन गरिएको कारागार प्रशासनले जनाएको छ। ‘अभियानले विज्ञप्ति निकाले पछि हामीले व्यवस्थापनमा गुनासो नआउने वातावरण बनाइदिएका छौ,’कारागार प्रमुख ललित बस्नेतले भने,‘त्यसपछि आएको मानवअधिकारवादीको टोलीसँग रिजालले कारागारप्रति गुनासो गर्नु भएन।’
टेकनाथको निर्वासन अध्याय-५
नेपालको जेलमा बन्दी बनेका टेकनाथ रिजालको निर्वासन : अध्याय १ (भिडियो)
राजालाई अभिभावक मानेर सक्रिय हुन्थे टेकनाथ रिजाल : निर्वासन अध्याय-२ (भिडियो)
अधिकारकर्मीहरूसँग टेकनाथको अपिल, न्यायका लागि लडिदिनुहोस् निर्वासन अध्याय-३
भुटानमा भ्रष्टाचार छानबिन गर्ने जिम्मेवारी पाएका टेकनाथ रिजालको निर्वासन अध्याय-४
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए pahichanmedia@gmail.com मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.