"/>

नक्कली शरणार्थी प्रकरणका १७ जना उच्च पुगे, एक्लो पारिए टेकनाथ : निर्वासन अध्याय-१०

नक्कली शरणार्थी प्रकरणका १७ जना उच्च पुगे, एक्लो पारिए टेकनाथ : निर्वासन अध्याय-१०

7.3k
SHARES

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा पुगेकामध्ये १७ जना काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्न उच्च अदालत पुगेका छन्।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन रचिएको सङ्गठित अपराधमा संलग्न पूर्वउपप्रधानमन्त्री, पूर्वगृहमन्त्री, निलम्बित सचिव सहित १८ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको थियो।

जिल्ला अदालतले लक्ष्मी महर्जन र टङ्क गुरुङलाई धरौटीमा छोड्न आदेश दिएको थियो। महर्जन र गुरुङ पनि उच्च अदालत पाटन पुगेका छन्।

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, निलम्बित सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार ईन्द्रजित राईसहित बुधवारसम्म १७ जना आदेश बदरको निवेदन लिएर उच्च पुगेका हुन्।

फरक फरक मितिमा अहिलेसम्म १७ जनाको निवेदन उच्च अदालतमा दर्ता भएको अदालतकी उपरजिस्ट्रार मन्दिरा शाहीले जानकारी दिइन। बुधवार मात्रै केशवप्रसाद दुलाल र टङ्क गुरुङको निवेदन दर्ता भएको उनले बताइन।

१५ जनाको निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालत पाटनले कैफियत प्रतिवेदन माग गरेको छ। ‘१५ मध्ये अहिलेसम्म ९ जनाको जिल्ला अदालतबाट कैफियत प्रतिवेदन प्राप्त भइसकेको छ,’उपरजिस्ट्रार शाहीले पहिचानसँग भनिन्,‘आज (बुधवार) दुई जनाको निवेदन दर्ता भएको छ।’

गत शुक्रवार पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाँण अदालत पुगेका थिए। काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका मध्ये १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।

अदालतको आदेशमा थुनामा पुगेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल भने उच्च अदालत गएका छैनन्। रिजालको पक्षमा जिल्ला अदालतमा बहस गरेका वकिलहरूले उच्च जाने तयारी गरेको बताएका छन्। तर, निवेदन उच्च अदालत पुगेको छैन।

उपरजिस्ट्रार शाहीले रिजालको तर्फबाट निवेदन प्रतिवेदन नआएको बताइन। ‘धरौटी चित्त नबुझेर लक्ष्मी महर्जन र टङ्क गुरुङ उच्च आएका छन्,’उनले भनिन्,‘टेकनाथ रिजालको निवेदन आइसकेको छैन।’

भुटानी राजाको अत्याचार : अन्तर्राष्ट्रिय समुदाय जानकार तर, मौन

भुटानमा एक सय पचास निर्वाचित प्रतिनिधि मध्येबाट छानिएको राजकीय सल्लाहकार परिषद्को सदस्य थिए रिजाल। जनगणनाले उब्जाएको समस्याका कारण उनी क्याबिनेट बैठकमा उपस्थित हुने अधिकारबाट वञ्चित गराइए।

‘कुनै पनि प्रजातान्त्रिक प्रणाली भएको मुलुकमा यसो गर्न सम्भव हुँदैनथ्यो। तर, यहाँ त्यही भयो,’रिजालले निर्वासन पुस्तकमा लेखेका छन्,‘मलाई त्यस दिन लाग्यो, प्रजातान्त्रिक पद्धति र निरङ्कुश राजतन्त्रबिचको भिन्नता सम्भवतः यही हो।’

क्याबिनेट बैठकमा उच्च न्यायालयका डासो थिम्पोनहरू समेत सम्मिलित गराइएका रहेछन्। सामान्यतया क्याबिनेटमा मन्त्रीहरू र राजकीय सल्लाहकार परिषद्का सदस्यहरू मात्र सम्मिलित हुन्थे। बैठकको अध्यक्षता स्वयं राजाले गर्ने प्रचलन थियो।

जीवनका प्रारम्भिक दिनदेखि नै रिजाल आफू र आफ्नो परिवेशप्रति सामाजिक उत्तरदायित्वको बोध गर्दथे। त्यसैले रिजाललाई चिन्ने जान्नेहरू उठबस गर्न, बोलचाल गर्न र सङ्गत गर्न रुचाउँथे। सम्भवतः यिनै कारणले लामिडाँडा महकुमाबाट चुनेर त्यस क्षेत्रका मानिसले रिजाललाई थिम्पु पठाए।

उदाङ्गो छातीभरि उत्साहपूर्ण जाँगर बोकेर रिजाल काम गर्दै गएँ। एसेम्बली मेम्बरबाट रिजाललाई राजकीय सल्लाहकारका रूपमा मनोनयन गरियो। ‘म पहाडको फेदीबाट उकालो चढ्दै गएँ अथवा यसो भनौँ परिस्थितिले मलाई उकालोतिर चढाउँदै गयो।

रिजालले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई संसद्मा भुटान फर्कने विषय उठाइदिन निवेदन पनि दिए

अन्ततः म टाकुरामा पुगे,’रिजालको पुस्तक निर्वासनमा लेखिएको छ,‘टाकुरामा पुग्नुलाई सामान्यतः हामी भएको ठान्छौ तर कुरो यसो मात्र होइन, त्यहाँ पुगेपछि मानिस नितान्त एक्लो पनि हुँदो रहेछ,म आज त्यसैगरि एक्लो भएको थिए।’

रिजालको उद्गम, जन्मभूमि, इष्टमित्र, सुखमा खुसी हुने, दुःखमा पीडा अनुभव गर्ने कोही पनि थिएनन्। उनीहरू ठान्थे होलान् टेकनाथ अर्कै लोकमा पुग्यो जहाँ उसलाई माया गर्ने बेग्लै थरी मानिस छन्। ठुलठुला मानिससँग उसको सङ्गत छ साथै उसलाई राजा स्वयंले माया गर्छन्, तर ती मानिस कति ठुलो भ्रममा थिए र रिजाल कुन परिस्थितिमा थिएँ रिजाल आफैँ जान्दथे, केवल रिजाल टाकुरामा उभिएका थिएँ र नितान्त एक्लो पारिएका थिए।

भुटानी राजाले खेदेका नागरिकसँगै आफ्नो देश फर्कने अभियानमा लागेका उनै रिजाल आज नेपालको जेलमा बन्दी बनेका छन्।

निर्वासनका अरु अध्याय

टेकनाथसँगै जेल पर्‍यो शरणार्थी व्यवस्थापन मुद्दा : निर्वासन अध्याय – ९

रिजालसँग भेटेको मानवअधिकार टोलीलाई अभियानले दियो धन्यवाद, निर्वासन अध्याय-८ (भिडियो)

टेकनाथ रिजालको निर्वासन अध्याय-६ र ७

नक्कली शरणार्थी : सचिव टेकनारायणको जेल कथा, टेकनाथको निर्वासन अध्याय-५

भुटानमा भ्रष्टाचार छानबिन गर्ने जिम्मेवारी पाएका टेकनाथ रिजालको निर्वासन अध्याय-४

अधिकारकर्मीहरूसँग टेकनाथको अपिल, न्यायका लागि लडिदिनुहोस् निर्वासन अध्याय-३

राजालाई अभिभावक मानेर सक्रिय हुन्थे टेकनाथ रिजाल : निर्वासन अध्याय-२ (भिडियो)

नेपालको जेलमा बन्दी बनेका टेकनाथ रिजालको निर्वासन : अध्याय १ (भिडियो)

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए pahichanmedia@gmail.com मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.