विस्तारित वीर अस्पतालको जग्गामा तारबार लगाउन निर्देशन

विस्तारित वीर अस्पतालको जग्गामा तारबार लगाउन निर्देशन

भक्तपुर : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले शनिवार भक्तपुरको दुवाकोटमा प्रस्तावित विस्तारित वीर अस्पतालको स्थलगत भ्रमण गरेका छन्।

भ्रमणका क्रममा मन्त्री बस्नेतले नेपाल सरकारका उच्च अधिकारी, सरोकारवाला निकाय र स्थानीयवासीसँग छलफल गर्दै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) लाई हस्तान्तरण गरेको ५ सय ७० रोपनी जग्गालाई तत्काल तारबार लगाउनु निर्देशन दिएका छन्।

वीर अस्पताल निर्माणका लागि चाँगुनारायण नगरपालिकाले विसं २०७३ सालमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) लाई उक्त जग्गा हस्तान्तरण गरेको थियो। अस्पताल निर्माण भएपछि हजारौँ बिरामीले सर्वसुलभ स्वास्थ्य सेवा पाउनुका साथै भक्तपुरकै काँचुली फेर्ने मन्त्री बस्नेतले बताए।

स्वास्थ्य क्षेत्रको कायापलट गर्ने महत्त्वाकाङ्क्षी योजनाका साथ आफू अगाडि बढेको बताउँदै मन्त्री बस्नेतले भने, ‘ म दिनको एक महत्त्वपूर्ण काम गर्ने योजना अनुसार अगाडि बढेको छु। यो अस्पताल पनि बनाएरै छाड्छु।’

स्वास्थ्य सेवा जनताको सहज पहुँचका लागि आफूले तिन महिनामा धेरै महत्त्वपूर्ण काम गरेको दाबी उनले गरे। सबै सङ्घीय अस्पतालमा ३५ सय जनरल बेड विपन्नका लागि निःशुल्क गर्नु र हरेक अस्पतालमा विपन्नका लागि १० प्रतिशत बेड निःशुल्क हुनु उपलब्धि भएको उनले बताए।

न्याम्सका उपकुलपति प्रा.डा. भूपेन्द्र बस्नेतले दुवाकोटमा एक हजार देखि १५ सय शय्याको अस्पताल र शैक्षिक भवन, आवास गृह बनाउने गुरु योजना बनिसकेको भए पनि विविध कारणले अस्पताल निर्माणमा ढिलाइ भएको बताए।

उनले विसं २०७४ देखि दुवाकोटमा विस्तारित वीर अस्पताल सामुदायिक स्वास्थ्य कार्यक्रम सञ्चालन गर्दै स्थानीयवासीलाई ओपिडी सेवाका साथै एक्स-रे, ल्याब सहितका सेवा प्रदान गरिरहेको जानकारी दिए।

अस्पताल निर्माणमा चीन सरकारले सहयोग गर्ने आश्वासन दिएपछि सरकारले त्यसको सम्भाव्यता अध्ययनका लागि चीन सरकारलाई अनुरोध गरेको थियो। चिनिया प्राविधिक टोलीले सम्भाव्यता अध्ययन पछि सन् २०१९ मा प्रस्तावित अस्पताल निर्माण स्थलको भौगोलिक अवस्था कमजोर भएको, सडकको पहुँच सहज नभएको, बिजुलीको प्रबन्ध नभएको, खानेपानीको व्यवस्था नभएको र जग्गा यकिन नभएको जनाएको थियो। भएका कमी कमजोरी सुधार गरिए फेरि सम्भाव्यता अध्ययन गरिने चिनिया टोलीले बताएको थियो।

त्यसपछि जग्गा यकिन भएको, सडकको पहुँच बिस्तार गरिएको, बिजुलीको समस्या समाधान गरेको सरकारका अधिकारीले दाबी गरेका छन्। छलफलमा सडक विभाग, नापी कार्यालय, नगरपालिका, भवन विभागका अधिकारीले अस्पताल निर्माणका लागि कुनै समस्या नरहेको बताएका छन्।

अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले नेपाल सरकारले वीर अस्पताल निर्माणका लागि अहिलेसम्म भएका प्रगति समावेश गरेर चीन सरकारलाई फेरि सम्भाव्यता अध्ययनका लागि अनुरोध गरिने बताए।

चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले वीर अस्पताल नगरपालिकाका लागि गौरवको योजना भएको स्मरण गर्दै अस्पताल निर्माणका लागि कसैको विरोध नभएको बताए।

अस्पताल निर्माणमा चिन सरकारले सहयोग गरे राम्रो हुने बताउँदै त्यसो नभए नेपाल सरकार आफैले पनि बनाउन अगाडि बढ्नु पर्ने उनले सुझाव दिए। वीर अस्पताल निर्माणका लागि स्थानीयवासी जग्गा, बाटो र आवश्यक सहयोग गर्न तयार रहेको मेयर खत्रीले बताए।

अस्पतालको एरियामा रेखाङ्कन गरेर बार लगाउनका लागि ५ करोड बजेट छुट्टाइएको र आवश्यक परे स्वास्थ्य मन्त्रालय र अर्थ मन्त्रालयले सहयोग गर्नु पर्नेमा उनले जोड दिए। छलफल कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी, नापी कार्यालय, भवन विभाग, सडक विभाग, विद्युत् प्राधिकरण लगायतका उच्च अधिकारीले अस्पताल निर्माणमा समस्या नरहेको बताएका स्वास्थ्य मन्त्री बस्नेतको निजी सचिवालयले जनाएको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading