‘बलरुम’ संस्कृति : उत्सव मनाउने सुरक्षित स्थान

‘बलरुम’ संस्कृति : उत्सव मनाउने सुरक्षित स्थान

एजेन्सी : साइगनको पहिलो ‘बलरुम’मा जब प्रतिस्पर्धीहरूले ज्वलन्त, बेजोडको नृत्य (फायरी डान्स) प्रस्तुतिका लागि क्याटवाक गरे, लेटेक्स, सेक्विन्स र ग्लिटरले झलमल भएर चम्कियो।

सामान्यतः साइगन भनेर चिनिने हो चीमिन्हसिटीस्थित पुराना भित्ते चित्रहरू, प्लास्टर उप्किएर बिग्रिएको पर्खाल भएको एउटा सानो, तर भरिभराउ नाइट क्लबमा, त्यसअघि शहरमा हुने गरेका भन्दा विचित्र खालको समारोह भयो।

त्यो यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक (एलजीबीटीआइक्यू) समुदायका लागि भव्य अनि आकर्षक पार्टीको रात थियो। भावी मोडलका लागि बेजोड नृत्यको प्रतिस्पर्धासँगै क्याटवाक अनि भियतनामका समलिङ्गी मानिसहरूबिच सम्बन्धको एउटा भावनात्मक उत्सव थियो, त्यो जहाँ सबै एउटै कार्यक्रममा समेटिएका थिए।

सहभागीहरू सेक्विन (रङ्गिन टल्कने जरी) र ग्लिटर (चमकदार) का अर्नामेन्टले भरिएका लेटेक्स पोशाकमा सजिएका थिए, जसको जोडदार नृत्यसँगै गुञ्जायमान सङ्गीतले दर्शकलाई चकित पार्दै उनीहरूको मुटुको धड्कन बढाइदिएको थियो। त्यो रातको कार्यक्रम भियतनामको आर्थिक राजधानी हो चीमिन्हसिटीमा आयोजना गरिएको थियो।

‘‘बलरुम’’ को उदयीमान संसार, एउटा विचित्र उपसंस्कृति जुन भियतनाममा फैलिएको छ। भियतनामको अर्को शहरमा समलिङ्गी र तेस्रोलिंगी (ट्रान्स) युवाहरूलाई यसले आश्रयसँगै निक्कै मनोरञ्जन पनि प्रदान गरिरहेको छ।

बलरुमको विकास


‘बलरुम’ नृत्यलाई लिएर भ्रमित हुन पर्ने केही छैन। यो युरोपेली कुलीन वर्गको विषम लैङ्गिक विवाहको परम्पराबाट विकसित भएको हो। बलरुम संस्कृति सन् १९६० को दशकमा संयुक्त राज्य अमेरिकामा सीमान्तकृत काला र ल्याटिनो क्विर मानिसहरूबाट उदय भयो।

‘बल’ समारोहमा भेला भएर, विचित्रका मानिसहरू हिँड्न, आफ्नो प्रतिभा देखाउन नृत्य, लिप–सिकिङ्ग, प्रदर्शन र क्याटवाक गर्छन्। अझ व्यापक रूपमा समाजले सुम्पिएको लैङ्गिक पहिचान, व्यावसायिक भूमिका र सामाजिक अवस्थाको दैनिक वास्तविकताबाट पार गर्ने उपाय बन्यो त्यो रात।

कुनै बेला अमेरिकामा भूमिगत ठाउँमा रहेको बलरुम संस्कृतिले पछिल्ला दुई दशकमा भोगिङ (Voguing) को माध्यमबाट युरोप र एसियामा आफ्ना बाटो पहिल्याएको थियो। ‘बलरुम’ दृश्यको सिग्नेचर डान्स जसले अफ्रिकी, अमेरिकी नृत्य संस्कृतिको नाटकीय कथा कथनसँग भग (Vogue) म्यागेजिनका मोडलको सुरुचिपूर्ण पोजलाई मिश्रित गर्दछ।

बलरुम समारोहमा भोगिङ


‘युट्युबमा स्क्रोल गर्दै जाँदा मैले भोगिङ्ग गरेको पहिलो पटक हेरेँ’साइगनका एक अग्रणी भोगर्स मध्येका एक रिकी सनले भने।

सन् २०१५ मा डेस्जा मिज्राही र सिनिया अलाया तथा ‘बलरुम’ संस्कृतिका अन्य प्रतिष्ठित तेस्रोलिंगी महिलाहरूको भोग प्रस्तुतिको भिडियो देखेर मोहित भएको स्मरण गर्दै रिकी सनले भने–‘फेरी सङ्गीत सुनेँ, चलचित्रहरू हेरेँ, त्यसपछि मलाई भोगिङ्ग मेरो लागी हो भन्ने थाहा पाएँ।’

भोगिङ्गले पछिल्लो तीन दशकमा अपेक्षाकृत लोकप्रियता हासिल गरेको छ। विशेष गरी, म्याडोनाको सन् १९९० को चर्चित गीत भोग र पछि २०१८ को अमेरिकी टेलिभिजन कार्यक्रम पोज अनि हालैको बेयोन्सको पुर्नजागरण वर्ल्ड टुरमा प्रस्तुत गरिएपछि यसको लोकप्रियता झन् बढेको हो।

भोगिङ्ग ब्याटलका भिडियोहरू युट्युब र टिकटक जस्ता डिजिटल शक्तिका कारण भाइरल भइरहेका छन्, जसले गर्दा संसारभरका मानिसहरूको पहुँचमा यो नृत्य शैली पुगेको छ।

हार्लेमको सडकहरूमा भोगिङ्गको जग बसाल्ने न्यूयोर्कका ती प्रवर्तकहरूले झैँ रिकी सनले साइगोनको सेन्ट्रल डिस्ट्रिक्ट वान मा रहेको गुयेन ह्यू वाकिङ स्ट्रिटको भिडभाडमा कसरी भोगिङ्ग नृत्यकलाको अभ्यास सुरु गरे भन्ने बारेमा सुनाए। उनले भने– ‘चाँडै,अन्य साइगोन समलिङ्गी र तेस्रोलिंगी व्यक्तिहरू यसमा सामेल भए।’

आइलाइन र, कालो लिपिस्टिक र हाइहिल लगाएर, रिकी सन र अन्य चार जनाले ‘फाइभ फेयरीज’ (पाँच परी) गठन गरी सडक नृत्यमा प्रतिस्पर्धा सुरु गरिदिए। साइगनको माचो ब्रेक डान्सर र हिपहपहरुलाई चुनौती दिए र कयौँ पटक पुरस्कार पनि जिते। तर सडक नृत्य भोगिङ्गका लागी उपयुक्त थिएन भनेर पाँच परीले तत्काल महसुस गरे।

‘हिपहप नर्तकहरूसँगको प्रतिस्पर्धामा, एउटै चाल पटक पटक दोहोर्‍याइएको देख्यौ। उनीहरूले हामी के गर्दैछौं भन्ने थाहा छैन। त्यस्तो प्रतिस्पर्धाले हामीलाई वाक्क–दिक्क लाग्यो। हामीलाई हाम्रो आफ्नै ठाउँ, खेल मैदान चाहिएको थियो’ पाँच परीको नृत्य मण्डलीकी एक नाओमी सनले साइगनमा भोगिङका सुरुवाती वर्षहरू सम्झँदै भनिन्।

रिकी र नाओमी सनसँगै अन्य भोगर्सले बलरुम समारोहमा भोगिङलाई भित्र्याउने सपना देखेका थिए। त्यो सपना जूनमा, डिस्ट्रिक्ट वान क्लबमा साकार भयो, जुन साइगनकै पहिलो बलरुम समारोहमा आयोजना गरियो। सडक नृत्य समाप्त गर्दै शहरको भोग समुदायका लागि यसको नाम युगेन ह्यू किकी बल राखियो।

बलमा, साइगन नाइटलाइफको उदाउँदो तारा नाओमी सन, डिजे डेकको पछाडि भोग बिट्स घुमाइ रहेकी थिइन् भने रिकी सन निर्णायक प्यानलमा बसिरहेकी थिइन् र भिडलाई कसरी सही रूपमा चल्ने भनेर बताइरहेकी थिइन्। त्यसो त, भोगिङ्ग मात्र बलमा देखाइएको प्रदर्शन थिएन।

फेशन फरवार्ड क्विर व्यक्तिहरूले ‘रनवे’श्रेणिमा सुपरमोडलको अनुकरण गर्न प्रतिस्पर्धा गरे भने दैनिक पहिरनमा आएकाहरूले ‘वास्तविकता’ श्रेणिमा प्रशंसा जित्नका लागि ननबाइनरी र हेटेरोसेक्सुअल छवि प्रस्तुत गरे।

त्यहाँ उत्कृष्ट अनुहार, नेल आर्ट पनि प्रदर्शन गरियो। बलमा आएर जो कोहीले पनि आफ्नो सुन्दरता वा आफू राम्रो भएको कुरा देखाउन सक्थे। ‘बलरुम नृत्य मात्र भन्दा बृहत् हो, मुख्य आयोजक मिनर्भा सन मिज्राहीले भने–यहाँ मानिसहरू रनवेमा हिँड्न, भोग, चलखेल गर्न सक्छन्, सबैलाई प्रतिभाशाली मानिन्छ। यो विचित्र मानिसहरूलाई सशक्तीकरण गर्ने ठाउँ हो।’

बलरुम परिवार र सक्रियता

बलरुम संस्कृतिको केन्द्र बिन्दुलाई ‘हाउस सिस्टम’ भनिन्छ। यहाँ रेखदेख गर्ने सल्लाहकारका रूपमा नामका आमा बुबा हुन्छन्, जसले धर्म पुत्रपुत्रीहरुलाई बलरुम प्रतिस्पर्धाका लागि सुझाव र समर्थन दिन्छन्। साथै उनीहरूको जीवन अगाडी बढाउने कार्यमा मानसिकसँगै कहिलेकाहीँ आर्थिक सहायता पनि प्रदान गर्दछन्।

सन् १९६० को दशकमा अमेरिकामा उनीहरूको विपरीत पहिचानका कारण परिवारले त्यागेका समलिङ्गी युवाहरूले एउटा परिवार बनाए। बाँच्नका लागि आवश्यक स्रोतहरू साझा गरे। त्यो परम्परा ‘घरहरू’आज पनि जारी छ, जुन नाताको संरचना हो, जसले सदस्यहरूलाई घर दिन्छ, सदस्यहरूलाई बच्चाहरू ठान्दछ।

‘बलरुम एउटा सभ्य परिवार जस्तै हो। सबैभन्दा महत्त्वपूर्ण कुरा एक अर्कालाई वास्तविक परिवारको रूपमा माया र हेरचाह गर्नु हो’ रिकी सनले भने–बलरुम तेस्रोलिंगी महिलाहरूको सुरक्षाका लागि पनि हो। मानिसहरू के सोच्छन् भन्ने कुराले केही फरक पार्दैन। बलरुमले उनीहरूलाई आफैँ बन्न दिन्छ र अधिकारको ग्यारेन्टी गर्नुपर्छ।’

भियतनाममा लैङ्गिक पुष्टीकरण कानुन

भियतनाममा लामो समयदेखि प्रतीक्षामा रहेको लिङ्ग परिवर्तनलाई अनुमति दिने लैङ्गिक पुष्टीकरण कानुनको मस्यौदा बहसको अन्तिम चरणमा पुगेको छ र सन् २०२४ मा भियतनामको राष्ट्रिय सभाले संहिता बनाउन सक्ने अलजजिराले लेखेको छ।

लिङ्ग परिवर्तनमा कानुनी परिवर्तन चाहनेहरूका लागि चिकित्सा हस्तक्षेपको आवश्यकता हुनुपर्छ या पर्दैन भन्ने विषय घनीभूत बहसको केन्द्रमा छ।

भियतनाममा सामाजिक स्वीकृतिलाई हेर्ने हो भने, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक मानिसहरूलाई पछाडि पारिएको छ। समलिङ्गी पुरुष र महिलालाई समाजमा सापेक्ष स्वीकृति प्राप्त भएको साइगोनमा पनि तेस्रोलिंगीहरुलाई पछाडि पारिएको छ।

तेस्रोलिंगी व्यक्तिहरूलाई अहिले पनि ‘अन्य’ मानिन्छ र लिङ्ग पहिचानका लागि बदनाम गरिन्छ। ‘‘जेजस्तो भए पनि केही छैन, ठिकै छ। यसै कारण बलरुम छ’’नाओमीले भनिन्।

अनुवाद:सरस्वती अधिकारी

समलिङ्गी मुक्ति आन्दोलनको शृङ्खला–स्टोनवाल विद्रोह

बाबुले जिउँदैमा अन्तिम संस्कार सकाएकी गौरी सावन्तको कथा ‘ताली’

समलैङ्गिकतालाई अपराध बनाउने त्यो आँधी…

फरक महसुस गरेका बालबच्चालाई अभिभावकले कसरी मार्ग निर्देशन गर्ने?

ट्रान्सजेन्डर अलिशाको यात्रा : सेक्सवर्कदेखी हेल्थवर्करसम्म

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.