भुटान पिपल्स पार्टीका अध्यक्ष पौड्याललाई २३ वर्ष अघि बुढाथोकी हत्या प्रकृतिकै धम्की

भुटान पिपल्स पार्टीका अध्यक्ष पौड्याललाई २३ वर्ष अघि बुढाथोकी हत्या प्रकृतिकै धम्की

काठमाडौं : नेपाली भाषी भुटानी नागरिकको इतिहास बङ्ग्याउने अभिव्यक्ति दिएका डिल्ली अधिकारीको नाममा भुटान पिपल्स पार्टीका अध्यक्ष बलराम पौड्याललाई धम्की आएको छ।

विवादास्पद अभिव्यक्ति दिएका इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारीको नामबाट अख्तियार र गुप्तचर लगाउने धम्की पौड्याललाई दिइएको अडियो पहिचान मिडियाले पाएको हो।

नेपाली भाषी भुटानी नागरिक सन् १९७२ देखि भुटानमा बसोबास गर्न थालेको अभिव्यक्ति अधिकारीले ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’ कार्यक्रममा दिएपछि चौतर्फी विरोध भएको थियो। ‘भुटानमा नेपाली समुदायको बसोबास सम्बन्धमा अभियन्ता डिल्ली अधिकारीले दिएको ऐतिहासिक तथ्य निराधार, तथ्यहीन, कपोलकल्पित र यथार्थभन्दा कोसौँ परको थियो,’अध्यक्ष पौड्यालले २१ अगस्ट २०२३ मा निकालेको विज्ञप्तिमा लेखिएको थियो,‘जसप्रति हामी खेद व्यक्त गर्दछौँ।’

अमेरिकामा रहेका पत्रकार एवं लेखक भक्त घिमिरेले डिल्ली अधिकारीको भनाइमा प्रतिक्रिया स्वरूप भनेका थिए,“यस्तै हो भने अलि वर्षपछि ‘सन् १९८८ मा भुटान पस्न खोजेका नेपालीहरूलाई सन् १९९० मा आफ्नै देशतिर फर्काइएको थियो’ भन्ने इतिहास बनाउने भए!”

नेदरल्याड्सको हेगमा रहेका भुटानी राजबन्दी रिहाका लागि अन्तर्राष्ट्रिय अभियानका संयोजक राम कार्कीले पनि आफ्नो प्रतिक्रिया दिँदै भनेका छन्, “भुटानमा नेपाली भाषीहरू १६२४ देखि नै बसोबास गरेको इतिहास पाइन्छ। भुटानमै जन्मेका मेरा आमा बुबा अहिले ९० वर्षको हुनुहुन्छ, उहाँहरूको कोखमा म १९७० मा जन्मिएको हुँ, अहिले आएर १९७२ देखि भुटानमा नेपाली लगेको भन्ने डिल्ली अधिकारीको भनाइ तथ्यहीन, कपोलकल्पित र अनुसन्धान नगरी हल्का हिसाबले प्रस्तुत गरेकोमा उहाँले यो विषयमा गम्भीर भएर गल्ती सच्याउनु पर्छ।”

आफ्नो अभिव्यक्ति सच्याउनभन्दा पनि अधिकारीको नाममा धम्की दिन थालिएको छ। अधिकारीले दिएको गलत अभिव्यक्ति सच्याउन विज्ञप्ति निकाल्ने भुटान पिपल्स पार्टीका अध्यक्षमाथि नै अख्तियार र गुप्तचर लगाउने धम्की दिइएको अडियोमा प्रस्टै सुन्न सकिन्छ।

‘मेरो भ्वाइस युनिभर्स’ मा विवादित अभिव्यक्ति, भुटानी शरणार्थीले जनाए आपत्ति

अधिकारीको नाममा धम्की दिने व्यक्तिले आफू पोखरामा रहेको बताएका छन्। पार्टी अध्यक्ष पौड्यालले धम्की दिने व्यक्तिलाई ‘इतिहास तोडमोड नगर्नु, गलत कुरा सच्याउनु मात्रै भनेर विज्ञप्ति निकाल्दा क्राइम हुँदैन’ भनेका छन्! तर, फोन गर्ने व्यक्तिले ‘साथीहरू धेरै आक्रोशित छन्, फेस गर्न तयार हुनुहोला’ भनेर धम्की दिएका छन्। आफूलाई पौड्यालको शुभचिन्तक र नाम बिबी बस्नेत बताएका ती व्यक्तिले पौड्याललाई अधिकारीसित फोनमा कुरा गर्न अनुरोधसहित अधिकारीको फोन नम्बर उपलब्ध गराउने भनेर फोन संवाद टुङ्ग्याएका छन्।  

गोप्य स्रोतबाट पहिचानलाई प्राप्त अडियोको बारेमा तेस्रो देश पुनर्वास भएका पूर्व भुटानी नागरिकहरूले आश्चर्य व्यक्त गरेका छन्। भुटान पिपल्स पार्टीका अध्यक्ष पौड्यालले निकालेको विज्ञप्तिमा धम्की आएछ निः भन्ने जिज्ञासामा उनीहरूले आश्चर्य व्यक्त गरे।

‘समुदायमा महत्त्व राख्ने काम गरिरहेको भनिएको कुनै संस्थाको सदस्यबाट यस्तो धम्की आयो होला भन्ने कुरामा म विश्वस्त छैन,’ तर, आएन वा आउनै सक्तैन पनि भन्न सकिन्न। यदि हो भने त्यो जति दुर्भाग्य अर्को केही हुनेछैन’, पहिचानले सम्पर्क गरेका पूर्वभुटानीले भने,‘विभिन्न कालखण्डमा हाम्रो समुदायले धेरै महत्वका व्यक्तिहरू गुमाउँदै, इतिहासका चरणहरू पार गर्दै आएको छ। अहिलेको यो घटना सुन्दा सामान्य लागे पनि दीर्घकालीन रूपमा गम्भीर असरदार रहने मैले आङ्कलन गरेको छु।’

सन् २००१ मा सोही पार्टीका संस्थापक नेता आर.के. बुढाथोकीलाई समुदायभित्रैका केही लठैतहरूले हत्या गरेका थिए। अहिले आएर सोही पार्टीका अर्का नेता बलराम पौड्याललाई लगभग उस्तै प्रकृतिको धम्की दिइनुले पुराना कुरा बल्झाउने नियत बुझिन्छ।

नेता बुढाथोकीको हत्या झापाको दमकमा २००१ सेप्टेम्बर ९ को दिन भएको थियो भने ‘भुटान क्रान्तिकारी स्वतन्त्र विद्यार्थी शक्ति’ नाम गरेको समूहले सो हत्याको जिम्मेवारी लिएको थियो। अहिले पनि त्यस्तो धम्की आएकै हो भने यो घटनाले त्यस बेलाको समूह र त्यसका गतिविधिको सम्झना गराउने शङ्का तेस्रो देश पुर्नवास भएका भुटानीले गरेका छन्। ‘यो लहरो तान्दा पहरो झर्ने सूत्रपात पनि हुनसक्छ’, उनले भने,‘म पौडेलजीलाई तत्काल सुरक्षा निकायमा गएर त्यो सम्बन्धित व्यक्तिको खोजीका लागि आर्जीपत्र पेस गर्न आग्रह गर्दछु।’

बुढाथोकी हत्या प्रकरणकै मुद्दामा २० वर्षपछि सन् २०२१ मा नेपालको सिराहामा लुकेर बसेको अवस्थाबाट भुटानी शरणार्थी शिविर बेलडाँगी ३ का देवीचरण धौराली पक्राउ परेका थिए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading