एसिया कप क्रिकेट : नेपाल भारतविरुद्ध खरो रूपमा उत्रने

एसिया कप क्रिकेट : नेपाल भारतविरुद्ध खरो रूपमा उत्रने

काठमाडौं : एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सोमबार उपाधि दाबेदार भारतसँग खेल्दै छ।

श्रीलङ्काको पाले–केले इन्टरनेशल क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो सवा ३ बजे हुने खेलमा नेपालले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न सुरु गरेको २७ वर्षपछि पहिलो पटक विश्व बरीयताको तेस्रो स्थानको भारतसँग खेल्न लागेको हो।

पाकिस्तानसँग फराकिलो हार बेहोरेको नेपाल भारतविरुद्ध खरो रूपमा उत्रने तयारीमा छ पाकिस्तानसँग राम्रो खेल्न नसके पनि भारतविरुद्धको खेलमा नेपाली दर्शकले गर्व गर्ने गरी खेल्ने खेलाडी सोमपाल कामीले बताए।

नेपालले रणनीति बनाएर खेल्ने भएकाले भारतसँगको खेलमा नेपालको प्रदर्शन उच्च हुने अर्का खेलाडी ललित नारायण राजवंशीले बताए भने भारतविरुद्धको खेलमा दबाब भन्दा पनि उत्साहित बढी रहेको खेलाडी करण केसीले सुनाए। विश्वका हस्तीहरूको अगाडी नेपाललाई चिनाउन पाउँदा खुसी लागेको उनको भनाई छ।

एसिया कपमा पहिलो पटक सहभागिता जनाएको नेपाली क्रिकेटको अहिले विश्वभर चर्चा भइरहेको छ। नेपाली क्रिकेटरहरूलाई जोडेर प्रशंसकहरूले विभिन्न उपनाम समेत पाएको नेपाली क्रिकेटरहरू सुनाउँछन्।

पहिलो सहभागितामै विश्वभर प्रशंसा बटुलेको नेपाली क्रिकेटरलाई हौसला दिन प्रशंसकहरू श्रीलङ्का र पाकिस्तानमै पुगेका छन्। भारत विरुद्धको खेल हेर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबी लामिछाने श्रीमतीसँगै आइतबार श्रीलङ्का पुगेका छन्।

विवादमा तानिएपछि काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह पनि आइतबार नै श्रीलङ्का उडेका छन्। नेपाललाई भारतसँगको खेल जित्नै पर्ने दबाब छ। जित्ने टोली सेमिफाइनलमा पुग्ने भएकाले दुवै टोली जित्नै पर्ने दबाबका साथ खेल्नेछन्।

तर सोमबारको खेलमा पनि वर्षा बाधक बन्ने देखिएको छ। यही मैदानमा शनिवार भारी वर्षा भएपछि खेल रद्द गर्दै पाकिस्तान र भारतले अङ्क बाँडेका थिए। खेल रद्द भएमा भारतलाई फाइदा पुग्ने भएकाले पानी नपरोस् भन्ने सबै नेपाल समर्थकको कामना छ। श्रीलङ्काको मौसम विभागका अनुसार सोमबार नेपाल र भारतबीचको खेल हुने समयमा ८० देखी ७० प्रतिशतसम्म वर्षा हुने सम्भावना छ।

रोहित र विराटलाई रोक्ने योजना

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले भारतका कप्तान रोहित शर्मा र अर्का आक्रामक व्याटर विराट कोहलीलाई रोक्ने योजना बनाएको बताएका छन्।

प्रि म्याच कन्फ्रेसमा बोल्दै कप्तान पौडेलले रोहित र विराटलाई हेरेर धेरै कुरा सिकेकाले उनीहरूको दबाब महसुस नगरेको बताए। ‘हामीलाई सिक्ने मौका पनि हो,’उनले भने,‘हामी निकै उत्साहित छौँ।’

रोहितले भारतसँग खेल्नुअघि यो अवस्थामा आइपुग्न भएको मेहनतसँग जोडेर आफूहरू भन्दा अघिल्ला पुस्तालाई पनि सम्झे र उनीहरूको प्रतिनिधित्व गर्दै खेल्ने पनि बताए। ‘यो अवसरका लागि हाम्रो तीन पुस्ताले प्रयास गरेका थिए, त्यसैले भारतसँग यति ठुलो स्टेजमा खेल्न पाउनु हाम्रो पुस्ता भाग्यमानी नै छ,’ उनले भने,‘विगतमा नेपालका लागि जो जसले खेलेका थिए, हामी भारतसँगको खेलमा उनीहरूको प्रतिनिधित्व गर्नेछौँ।’

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.