नक्कली भुटानी शरणार्थी

संसद्को लबीमा ‘बादल’ पत्नीको धम्की

संसद्को लबीमा ‘बादल’ पत्नीको धम्की

टेकनाथ रिजालको निर्वासन अध्याय-२२

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा सांसदलाई सांसदले नै धम्क्याउन थालेका छन्। साङ्केतिक रूपमा आफूप्रति लक्षित अभिव्यक्तिको संसद् बैठकमै जवाफ दिनुपर्नेमा संसदीय मर्यादा विपरीत बैठक सकिएपछि संसद्को लबीमा त्यो पनि धम्क्याए पछि सांसदहरूले जवाफ माग गरेका छन्।

पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा पक्राउ नपर्नुको जवाफ माग्ने सांसदले सांसदकै धम्की पाउँदा संसदीय मर्यादा उल्लङ्घन गर्ने सांसदलाई ‘एक पटकलाई क्षमादान’ दिनु भन्नेसम्मका अभिव्यक्ति संसद् बैठकमा अभिव्यक्त भएका छन्।

नेपाली काँग्रेसका नेता एवं पूर्व मन्त्री बालकृष्ण खाँण नक्कली शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि जेल चलान भएका छन्। तर, उही आरोप लाग्ने बादलका छोरा प्रतीक थापा पक्राउ नपरेकोबारे काँग्रेस सांसद ईश्वरी न्यौपानेले जवाफ माग्दा बादल पत्नी सांसद नैनकला थापाको धम्की पाइन।

भदौ ७ को प्रतिनिधि सभा बैठकमा सांसद न्यौपानेले ‘कोही निर्दोष नफसोस्, कोही दोषी नउम्किउन्’ भनेकी थिइन। ‘नक्कली भुटानी शरणार्थीमा फरार अभियुक्त छोरा, जसले आमालाई यति पैसा पठाएको पाउनु भयो कि भएन भनेको रेकर्ड छ भिडियो रेकर्ड। तर, हाम्रो आँखा, प्रहरीको आँखा त्यहाँ पुग्दैन। आजसम्म पनि खोजविन हुन सकेको छैन भने पूर्व गृहमन्त्री खाँण त्यही केसमा जेलमा हुनुहुन्छ,’उनले भनिन्,‘आज सरकारले गर्न के खोजिरहेको छ?’
उनले गिरी बन्धु टिस्टेट काण्डको पनि कुरा निकालेकी थिइन। ‘पछिल्लो पिरियडमा गिरी बन्धु टिस्टेट पनि आएको छ। हामीलाई कालो दाग लाग्ने त होइन?’उनले भनिन्,‘संसद् त खुलेको छ, जनताका समस्या समाधान गर्ने थलो। फर्केर जनताको बीचमा जानु पर्छ कि पर्दैन?

नेपाली भूमिमा भुटानी शासकको चङ्गुलमा टेकनाथ

भदौ १८ को बैठकमा काँग्रेस संसदीय दलकी सचेतक सुशीला थिङले सांसद नैनकलाले संसद्बाटै प्रतिवाद गर्ने संसदीय मर्यादा पालना नगरेको बताइन। संसद्लाई जग हँसाउने थलो बनाइएको बताइन। ‘एउटै प्रकृतिको घटनामा कोहीलाई सोधपुछ समेत नगर्ने,’उनले भनिन्,‘प्रभावको गन्ध नआउने गरी संयम र जिम्मेवारी भएर काम गर्नुपर्छ।’

उनले पनि नैनकलाको नामै नलिई भनिन्,‘अमर्यादित शैलीमा के कारणले आक्रमण गर्नु भयो? यसको जवाफ पनि माग गर्दछु।’ संविधानको धारा १०३ मा लेखिएको सांसदलाई संसद्मा बोल्ने पूर्ण वाक स्वतन्त्रताको अधिकार सम्झाइन। संसद्मा उठेको प्रश्नको प्रतिवाद संसद्मै गर्नुपर्नेमा सांसद थापाले संसद्को लबीमा भेटेर धम्की दिएको थिङको आरोप लगाइन।

लबीमा सोधेको स्वीकार

तर, सांसद थापाले भने धम्की दिएको आरोप अस्वीकार गरेकी छन्। आफूले आमा छोराको कुरा मिडियामा ल्याएको र त्यही कुरा संसद्मा बोलेपछि आपत्ति जनाएको तर धम्की नदिएको बताइन।

तपाईँले संसद्को लबीमा सांसदलाई धम्की दिनु भएछ नि? भन्ने प्रश्नमा उनले हाँस्दै उत्तर दिइन। ‘…..होइन भो त्यो बारेमा धेरै अब उ गर्दा खेरी हुन्छ, त्यस्तो केही होइन, त्यहाँ चाही नि अब के धम्की दिनु भो रे?’ईश्वरी न्यौपाने, सुशीला थिङ संसद्मै बोल्नु भएको थियो नि थप प्रश्नमा उनले भनिन्,‘त्यस्तो केही होइन, त्यो चाहिँ बढी कुरा बाहिर त्यसै आएको छ, त्यो केही होइन त्यस्तो उ त।’

उनले सांसद न्यौपानेलाई लबीमा कुरा उठाएको भने स्वीकार गरिन्। ‘त्यहाँ (संसद्) जुन कुरा उठाएको थियो त्यसमा चाहिँ मैले …अब उहाँ निस्किहाल्नु भाथ्यो,त्यस भएर मैले उहाँसँग यस्तो अलिकति सोधेको मात्रै थिए,’उनले भनिन्,‘त्यसै त्यो कुराहरू ..व्यवहार गर्‍यो, त्यो गर्‍यो भन्ने कुराहरू त्यहाँ त्यसै गरिएको छ। तर,अहिले त्यस्तो कुरो केही छैन, मिडियाहरूले पनि अहिले के के लेख्या छन् कुन्नि।’

उनले यस्तो कुरा मिडियामा ल्याउन नहुने बताइन। ‘आरामकै अवस्थामा छु,बाहिर केही गरेको छैन,’उनले भनिन्,‘त्यही भएर अहिले मिडियामा ल्याउने कुरा नगरौँ।’

संसद्को कुरा चाहिँ के हो त भन्ने प्रश्नमा उनले त्यस्तो केही नभनेको दाबी गरिन्। ‘केही होइन, अरू त त्यस्तो केही होइन, त्यहाँ चाहिँ मिडियाको कुराहरू ल्याएर जुन कुराहरू, अब त्यो त तपाईँले सुन्नु भएको थियो र त्यहाँको संसद्को त्यो बेला?’सुनेका छौ भने पछि उनले भनिन्,‘सुनिराख्नु भएको छ होइन, अभद्र व्यवहार गर्‍यो, यसो गर्‍यो भनेर जुन किसिमको भनेको छ त्यो होइन।’

सञ्चार मन्त्री समेत भइसकेकी थापा पूर्व गृहमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष बादलको कोटामा अहिले एमालेकी समानुपातिक सांसद छिन्। बादल गृहमन्त्री हुँदा मोटो रकम बुझेकोबारे सार्वजनिक भएकै कुरा गरेकी सांसद न्यौपानेलाई सम्झाएको बताइन।

संसदीय मर्यादा विपरीत अभिव्यक्ति स्वतन्त्रता हनन गर्ने गरी धम्की नदिएको उनले दाबी समेत गरिन। ‘त्यो त बेकार हो, बोली सक्नु भएको थियो त के कुण्ठित भा हो र?,’उनले भनिन्,‘बोल्दाबोल्दै मैले त्यहाँ उ त गरेको थिइन,उहाँ बोलेर निस्किहाल्नु भाथ्यो,त्यति बेला मैले के हो यो? भनेर उहाँलाई सोध्या थिए।’

उनले त्यही कुरालाई बढाई चढाई गरेको गुनासो गरिन्। ‘अब उहाँहरूले त्यही कुरालाई बढाई चढाई गरेर भन्ने कुराहरू भन्नु भा होला,’उनले भनिन्,‘तर, त्यस्तो केही होइन।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा छोराले तपाईँलाई पैसा पठाएको बारे के भन्नुहुन्छ भन्ने प्रश्नमा उनले भनिन्,‘अब तपाईँहरू सरकारमा हुनुहुन्छ, छानबिन गर्नुहोस् भन्या हो के उहाँलाई।’

उनले भुटानी शरणार्थीको कुरा आइरहेकै बताइन। ‘छोराको कुरा त्यहाँ ल्याउने, भुटानी शरणार्थीको त भइरहेको छ त,’उनले भनिन्,‘मिडियामा आएको कुरा छन् भने त त्यहाँ कस-कसको नाम आको छ होइन र? हो कि होइन ल भन्नु त?’

उनले मिडिया भाइरल बन्न लागेको सुनाइन्। ‘मिडियामा आको छ भने यहाँ को कसको नाम बाँकी छ र, अब यो मिडियाले ल्याउने कुराहरू, छरपस्टै गराउने कुराहरू, मिडियाले पनि जे पायो, त्यही कति हो के भन्ने छैन,’उनले भनिन्,‘मिडियामा एउटा भाइरल बनाउन के हो यो टिआरपीका लागि हो कि? मान्छेको चरित्र, मान्छेको जीवनलाई नकारात्मक बनाउने, यस्तो कामहरू त कसैले पनि गर्नु भएन नि।’

उनले आमा छोराको संवादलाई लिएर कुरा उठाए पछि आफूले आधार के भनेर सोधेको बताइन। उनले सरकारले राम्रोसँग छानबिन गरोस् भनेर आफू नबोलेको समेत बताइन। ‘हामी नबोलेको कारण के भने सरकारले छानबिन राम्रोसँग गरोस् भन्ने हो,तर बाहिर धेरै उ छ,’उनले भनिन्,‘सत्य तथ्य त छानबिन गर्ला नि त?’

उनले संसद्मा उठेको कुरा संसद्मै हुने बताइन। ‘संसद्मा उठेको कुरा ठिकै छ संसद्मै हुन्छ,’बादल पत्नी नैनकलाले भनिन्,‘अब अरू छानबिन गर्ने कुराहरू छानबिनै छ, अहिले सत्य तथ्य भनेर प्रहरी, मिडियाले भनेर हुने कुरा होइन, सत्य तथ्य खोजीनिती गर्ने कुरा हुन्छ नै।’

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading