सरोगेसीमाथि दबाब : जर्जियाको योजना यस्तो…

सरोगेसीमाथि दबाब : जर्जियाको योजना यस्तो…

एजेन्सी : जर्जियाले व्यावसायिक सरोगेसीमाथि प्रतिबन्ध लगाउने योजना बनाएको छ। बालबालिकाको हितमा कानुनलाई केन्द्रित गरेको जर्जियाली सरकार समलिङ्गी जोडीहरूसँग बच्चा नरहुन् भन्ने चाहन्छ।

यद्यपि जर्जियाली सरकारले विदेशी दम्पतीहरूलाई व्यावसायिक सरोगेसीसम्म पुग्नबाट रोक्नका लागि प्रतिबन्धको प्रस्ताव गरेको बताएको छ।
प्रतिबन्धको योजना घोषणा गर्दै प्रधानमन्त्री इराक्ली गरिबाश्भिलीले सरोगेट आमा र बच्चा दुवैको सुरक्षा गर्न र मानव बेचबिखन रोक्न यो कदम चाल्न आवश्यक भएको बताए।

उनले जर्जियाली कानुनको उल्लङ्घन गर्दै समलिङ्गी जोडीहरूसँग बच्चा नबसुन् भन्ने कुराको पनि सुनिश्चित गर्न आवश्यक रहेको बताएका छन्। गैर–व्यावसायिक सरोगेसी सेवा‘परोपकारको सिद्धान्त’अनुरूप र जर्जियाली जोडीहरूका लागि मात्र वैद्य मानिनेछ। प्रस्तावित प्रतिबन्धलाई अर्को वर्ष लागू गर्ने सम्भावना छ।

एलजिबिटीक्यू व्यक्तिलाई अभिभावकीय अधिकार

सन् २००८ देखि जर्जियामा ट्रान्सजेन्डर (तेस्रोलिंंगी) व्यक्तिहरू लिङ्ग परिवर्तन पछि इच्छा अनुसारको लैङ्गिक पहिचान खुलाउने गरी कागजात र व्यक्तिगत नाम परिवर्तन गर्न सक्छन्। देशमा लिङ्ग पहिचानको आधारमा भेदभावलाई गैरकानूनी मानिएको छ। सन् २०२१ मार्च ३१ को सिभिल रजिस्ट्री सेवाले तेस्रोलिंगी महिलालाई महिलाको रूपमा दर्ता गरेको थियो जुन तेस्रोलिंगीहरुका लागि कानुनी लैङ्गिक पहिचानको पहिलो उपलब्धि थियो।

केही सकारात्मक उपलब्धिहरूका बाबजुद जर्जियामा समलैंगिकतालाई प्रचलित अध्याधिक परम्परागत रूढिवादी इसाई मूल्य मान्यताले एउटा ठुलो विचलन मान्दछ जहाँ सामान्य रूपमा कामुकता सम्बन्धमा हुने सार्वजनिक चर्चालाई अत्यधिक नकारात्मक दृष्टिले हेरिन्छ। समलिङ्गीहरू दुर्व्यवहारको र शारीरिक हिंसाको निशाना बनिरहन्छन्।

जर्जियाले समलिङ्गी विवाहलाई मान्यता दिएको छैन। जर्जियाको संविधान २०१८ ले परिवारको स्थापनाको उद्देश्य सहितको विवाहलाई महिला र पुरुषको मिलनका रूपमा परिभाषित गरेको छ।

समलिङ्गी र तेस्रोलिंगीहरु प्रविधि र अरूको बच्चा ग्रहण गर्ने जस्ता विभिन्न तरिका अपनाएर आमाबाबु बन्छन्। तर विद्यमान जर्जियाको कानुनले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिहरूलाई धर्मपुत्र लिने विषयलाई सम्बोधन गर्दैन। कानुन बच्चाको हितमा सबैभन्दा राम्रो के हुन्छ भन्ने कुरामा केन्द्रित रहेको छ।

मस्यौदा कानुनले चिकित्सकीय परीक्षण र श्रमसँग सम्बन्धित लागत ठानी क्षतिपूर्तिको प्रावधान राखेको छ। यदि स्वीकृत भएमा, सरोगेसी सेवाहरूको विज्ञापनमा समेत प्रतिबन्ध लगाउने यो विधेयक अर्को वर्ष जनवरी १ देखि लागू हुनेछ।

आम्दानीको स्रोत खोसिँदै

राजधानी टिबिलिसीमा बस्ने एलेना (नाम परिवर्तन) ले आम्दानीका लागि सरोगेट आमा बन्ने बाटो रोजेको यो दोस्रो पटक हो।

आफ्नी छोरीलाई स्वास्थ्य समस्याका कारण महँगो चिकित्सकीय उपचार र थेरापी गर्नु परेको छ। एलेनाका लागि ‘एक सरोगेट आमा’ बन्नु छोरीको उपचारसँगै परिवारमा आर्थिक सहयोग जुटाउने राम्रो उपाय एवं साधन बनेको छ।

‘सरोगेसी कार्यक्रमले मेरी छोरीको सबै मेडिकल खर्च र अन्य घरायसी खर्चहरूमा पनि धेरै मद्दत गरेको छ,’अलजजिरालाई भनिन्,‘यो सम्पूर्ण परिवारको लागि वास्तविक राहत बनेको छ।’

यद्यपि, जर्जियाका एलेना र अन्य सरोगेट आमाहरूको लागि आयको यो स्रोत चाँडै नै बन्द हुन सक्छ।

युद्धअघि, युक्रेनलाई युरोपको सबैभन्दा ठुलो सरोगेसी हब मानिन्थ्यो। तर गत फेब्रुअरीमा रसियाले युक्रेनमा व्यापक आक्रमण गरेपछि त्यहाँ सरोगेसी क्रियाकलाप केही समयका लागि सुस्तायो। युक्रेनमा फेब्रुअरीको आक्रमण पछि देशको सरोगेसी क्षेत्रमा बढ्दो दबाबकाबीच यो कदम चालिएको समाचारमा जनाइएको छ।

इन्डियाना युनिभर्सिटीमा प्रजनन गतिशीलतामा पोस्टडक्टोरल अनुसन्धानकर्ता पोलिना भ्लासेन्को (जसले जर्जियामा कोरोना भाइरस महामारी अघि क्षेत्रीय अनुसन्धान गरेका थिए) ले प्रस्तावित प्रतिबन्ध जर्जियाको रूढीवादी सरकारको व्यापक राजनीतिक एजेन्डाको एउटा हिस्सा रहेको अलजजीरालाई बताइन्।

‘यसको एउटा हिस्सा लोकवाद पनि हो। सरकारले मतदाताका लागि नीतिहरू तयार गर्न खोजिरहेको छ र समाजले के अपेक्षा गरिरहेको छ भन्नेमा सचेत छ। अपेक्षित धेरै संवेदनशील विषयहरूमा, सरोगेसी पनि एक हो’ उनले भनिन्।

‘तर यो कदम लागू गरिए सरोगेट आमाहरूमा नकारात्मक प्रभाव पर्नेछ। उनीहरूलाई उचित सुरक्षा र सुरक्षाका प्रावधानहरू प्रदान गर्नुको सट्टा, सरकारले पुरै प्रथामाथि प्रतिबन्ध लगाउने निर्णय गरिरहेको छ, जसले मूलतः तिनीहरूबाट उनीहरूको काम खोस्नेछ’भ्लासेन्कोले थपिन्।

गत महिना, ग्रिसको एउटा ठुलो प्रजनन क्लिनिक माथि युक्रेन, रोमानिया र जर्जिया लगायतका देशहरूका करिब २ सय जना सरोगेट आमाहरूको शोषण गरेको आरोप लागेको थियो।

यो घोटालाले धेरै आमाबाबु र शिशुहरूलाई कानुनी अड्चन एवं उल्झनमा फसाइ दिएको थियो।

‘अन्तर्राष्ट्रिय रूपमा यस क्षेत्रमा धेरै दबाब छ’सिड्नीमा रहेको प्रमुख सरोगेसी नेटवर्किङ संस्था ग्रोइङ फेमिलीजका ग्लोबल निर्देशक साम एभरिङ्घहमले भने–‘युक्रेनमा युद्ध सुरु भएपछि, प्रजनन कार्यक्रम लगभग छ महिनाको लागि बन्द भयो, र त्यसपछि क्लिनिकहरू बिस्तारै खुले।’

यस बीचमा, धेरै युक्रेनी सरोगेटहरू उत्तर साइप्रस, ग्रिस र जर्जियामा पुगे जसका कारण कडा कानुनी र नियामक ढाँचा नभएका यी साना देशहरूमा दबाब बढाइएको एभरिङ्घहम बताउँछन्। एभरिङ्घहम र उनका समलिङ्गी पार्टनर १० वर्षअघि सरोगेसीकै माध्यमबाट दुई छोरीका अभिभावक बन्न पाएका थिए।

‘अब, हामी ग्रिसको अवस्थाको सामना गर्दैछौं। भावी अभिभावकहरूका लागि, हामी विश्वव्यापी रूपमा सरोगेसीमा लगानी बढिरहेको देखिरहेका छौँ’ उनले भने।

वैश्विक सरोगेसी क्षेत्र

प्राकृतिक रूपमा गर्भधारण गर्न नसक्ने दम्पतीहरूलाई सहयोग गर्न करिब ३० वर्षअघि अमेरिकामा पहिलो पटक सरोगेसी प्रक्रिया सफल भएको थियो। अहिले धेरै युरोपेली राष्ट्रहरूमा व्यावसायिक सरोगेसीलाई अवैध मानिएको छ। तर युक्रेन र जर्जियामा नाफा मूलक कम्पनीहरूलाई पनि सरोगेसीको काम गर्न कानुनी रूपमै अनुमति दिइएको छ।

सही तथ्याङ्क प्राप्त गर्न गाह्रो भएता पनि गत वर्ष युद्ध सुरु हुनु अघि युक्रेनमा करिब २ हजार बच्चाहरू सरोगेटहरूद्वारा जन्मिएका अनुसन्धानले देखाउँछ।

सन् २०१४ मा युक्रेनको राजधानी तथा सबैभन्दा ठुलो जनसङ्ख्या भएको सहर किभमा खोलिएको युरोपको सबैभन्दा ठुलो प्रजनन क्लिनिकहरू मध्येको एक, बायो टेक्सकम मेडिकल सेन्टरका कानुनी सल्लाहकार डेनिस हर्मनले युक्रेनमा रुसको चौतर्फी युद्धपछिको प्रारम्भिक अवधि कठिन रहेको तर कम्पनीको सञ्चालन हाल पहिलेकै अवस्थामा फर्किएको बताए।

‘गर्भावस्थाको २८ औँ हप्तादेखि, हामी सरोगेट आमाहरूलाई किभमा आउन आग्रह गर्छौँ, तर आक्रमणपछि, युक्रेनको पूर्वी भाग र पृथकतावादी क्षेत्रहरूबाट आमाहरूलाई सुरक्षित रूपमा यहाँसम्म ल्याउन गाह्रो थियो’ हर्मनले भने।

हर्मनका अनुसार जोखिमका बाबजुद युद्धग्रस्त देशमा सेवा लिन पुगेका इच्छुक विदेशी आमाबाबुका लागि पनि अवरोधहरू थिए। ‘ती अभिभावकहरूका लागि धेरै चुनौती थिए। हरेक दिन बच्चाहरू जन्मन्थे तर सबै अभिभावक युक्रेन जान सक्थेनन्। आक्रमण पछि ६०० भन्दा बढी बच्चाहरू जन्मिएका छन्। अहिले पहिलेजस्तै काम चलिरहेको छ’उनले भने। हर्मन कानुनी सल्लाहकार रहेको बायो टेक्सकम मेडिकल सेन्टरले प्रदान गर्ने सरोगेसी प्याकेज ३९००० युरो (४१ हजार डलर बढी) बाट सुरु हुन्छ।

युद्ध सुरु भए देखि बढ्दो माग पुरा गर्न जर्जिया असमर्थ भएको अवस्थामा अमेरिका र क्यानडाको जस्तै विश्वसनीय कार्यक्रम भएका उदीयमान देशहरू अर्जेन्टिना, मेक्सिको, युगान्डामा समेत यो सेवामा वृद्धि भएको छ।

बढ्दो सरोगेसी सेवा दम्पतीहरूका लागि सामान्य बन्दै गएको विश्लेषकहरू बताउँछन्।

‘जर्जियाली सरकारले सरोगेसी प्रतिबन्धलाई अगाडी बढाए महिलाहरू पलायन हुने देख्छु। नयाँ कानुन पास भए यसले मलाई साँच्चै दुःखी बनाउनेछ’सरोगेट आमा एलेना भन्छिन्। ‘सबैलाई बच्चा जन्माउने अधिकार छ, राष्ट्रियताले कुनै अर्थ राख्दैन। लामो समयदेखि बच्चाको पर्खाइमा रहेका दम्पतीहरूको सपना पूरा गर्न सक्षम हुनु साँच्चै अचम्मको अनुभूति हो’ उनले थपिन्।

(अलजजिराका लागि गौरी शर्माले लेखेको यो सामग्री नेपालीमा अनुवाद गरिएको हो।)

सम्बन्धित अन्तराष्ट्रिय सामग्रीहरु

‘बलरुम’ संस्कृति : उत्सव मनाउने सुरक्षित स्थान

समलिङ्गी मुक्ति आन्दोलनको शृङ्खला–स्टोनवाल विद्रोह

बाबुले जिउँदैमा अन्तिम संस्कार सकाएकी गौरी सावन्तको कथा ‘ताली’

समलैङ्गिकतालाई अपराध बनाउने त्यो आँधी…

फरक महसुस गरेका बालबच्चालाई अभिभावकले कसरी मार्ग निर्देशन गर्ने?

ट्रान्सजेन्डर अलिशाको यात्रा : सेक्सवर्कदेखी हेल्थवर्करसम्म

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading