मदिराको विज्ञापनमा नयाँ जुक्ति, क्रिकेट खेलाडीलाई नगद

मदिराको विज्ञापनमा नयाँ जुक्ति, क्रिकेट खेलाडीलाई नगद

काठमाडौं : सर्वोच्च अदालतको आदेशमा सञ्चारमाध्यममा मदिराको विज्ञापन निषेध छ। प्रकाशन र प्रसारण गर्न पाइँदैन।

११ फागुन २०७९ मा न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले ‘मादक पदार्थको विज्ञापन सामग्री उत्पादन वितरण तथा प्रचारप्रसार गर्न नहुने सम्बन्धी कानुनी व्यवस्थापकको जिम्मेवारीपूर्ण ढङ्गले कार्यान्वयन गर्नु गराउनु, कुनै पनि सञ्चारमाध्यमहरूमा यस्तो सामग्रीको प्रचारप्रसार नगर्नु नगराउनु, गर्न नदिनु’ भनेर उत्प्रेषण परमादेशसमेत दिएको थियो।

आदेशमा ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिवको संयोजकत्वमा अन्य सरोकारवाला निकायहरूको समेत प्रतिनिधित्व रहने गरी मादक पदार्थको विज्ञापन सामग्री उत्पादन, वितरण तथा प्रचारप्रसार निषेध सम्बन्धी कानुनी व्यवस्थाको कार्यान्वयन अनुगमन समिति गठन गरी सो समितिले तथा प्रत्यर्थी मध्येका विज्ञापन बोर्ड र प्रेस काउन्सिलले आ-आफ्नो कार्यक्षेत्र भित्रका विषयमा छुट्टै स्वतन्त्र रूपमा उक्त कानुनी व्यवस्थाको कार्यान्वयनका सम्बन्धमा अनुगमन गरी यो आदेश प्राप्त भएका मितिले दुई महिनाभित्र सो सम्बन्धमा भएको कार्य प्रगति प्रतिवेदन यस अदालतसमक्ष पेस गर्ने’लेखिएको छ।

सर्वोच्चको आदेशले रोकिएको मदिराको प्रचारप्रसारमा नयाँ जुक्ति निस्किएको छ। खेलाडीलाई नगद दिने। संस्थालाई दियो, पदाधिकारीले झ्वाम्म पार्छन्। खेलाडीलाई दियो भने सिधै हात पर्छ। प्रचारप्रसार पनि सित्तै। त्यहीँ काइदा एक मदिरा कम्पनीले अपनाएको छ।

युएईलाई ८ विकेटले पराजित गर्दै दशकपछि टी-२० विश्वकपमा पुग्न सफल नेपाली टोलीका खेलाडीलाई नगद पुरस्कार घोषणा गर्‍यो मदिरा कम्पनीले। यसअघि नेपालले सन् २०१४ मा पहिलो पटक बङ्गलादेशमा भएको टी–२० विश्वकप खेलेको थियो।

अर्ना बियरले एक चौका बराबर १० हजार र एक छक्का बराबर २० हजार नगद दिने घोषणा गरेर प्रचारप्रसारको नयाँ तरिका अपनायो। खेललाई माध्यम बनाएर अर्ना बियरले करोड खर्चमा नभेट्ने प्रचारप्रसार गर्न सफल भयो। पहिलेजस्तो ज्याकेट विज्ञापन दिनु परेन। राम्रो प्रचार पायो अर्ना बियरले।

मुलपानी क्रिकेट मैदानमा आशिफ शेखले ६ चौका र २ छक्का हाने। रोहित पौडेलले ३ चौका र १ छक्का हाने। गुल्सन झाले ३ र कुशल भुर्तेलले २ चौका प्रहार गरे। अर्ना बियरले प्रत्येक रनको १ हजार, चौकाको थप १० हजार र छक्काको थप २० हजार रुपैयाँ दिने घोषणा गरेको थियो।

बलिङतर्फ एउटा डट बल बराबर १ हजार, मेडन ओभरको १० हजार र हरेक विकेटमा २५ हजार रुपैयाँ दिने घोषणा गरेको अर्ना बियरले गत भदौमा भएको एसिया कप क्रिकेटमा चौका, छक्का र विकेट लिने खेलाडीलाई पुरस्कार दिएको थियो।

युएईविरुद्धको खेलमा नेपालका कुशल मल्लले ३, सन्दीप लामिछानेले २, रोहित पौडेल र सोमपाल कामीले समान एक/एक विकेट लिए।

युएईविरूद्द १३५ रनको लक्ष्य पछ्याएको नेपालले १७ ओभरमा लक्ष्य पूरा गर्‍यो। नेपाल अब अमेरिका र वेष्टइण्डिजमा हुने टी-ट्वान्टी विश्वकप खेल्नेछ।

अघिल्लो वर्ष युएईले हराएको बदला नेपालले घरेलु मैदानमा लिन सफल भएको छ। टी–२० विश्वकपको फाइनलमा नेपाल युएईसँग पराजित भएर घर फर्केको थियो।

जारी छनौट प्रतियोगितामा नेपाल समूह ‘ए’को उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो। नेपालले समूह चरणमा सिंगापुरलाई ८ र मलेसियालाई ६ विकेटले पराजित गरेको थियो। अन्तिम खेलमा भने ओमानसँग ५ रनले पराजित भएको थियो।

युएई भने समूह ‘बी’को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो। युएईले बहराइन र कुवेतलाई समान ५ विकेट र हङकङलाई २२ रनले पराजित गरेको थियो। नेपालले उपाधिका लागि फेरि ओमानसँग फाइनल खेल्नेछ। फाइनल खेल आइतबार कीर्तिपुर क्रिकेट मैदानमा हुनेछ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading