‘ईश्वर’सित वार्ता

‘ईश्वर’सित वार्ता

निराकार अमूर्तलाई
कल्पित आधारमा
मूर्तता दिने शिल्पी
मूर्तिकारले एक दिन
‘ईश्वर’ बनाएर वार्ता गऱ्योः

‘म एक कलाकार
तिमी पनि मजस्तै अर्को कलाकार:

तिमीले-
अरबौँ पुतला बनायौ र,
संसारमा असरल्ल छोडिदियौ;
मैले पनि अनेकौँ पुतलाहरू बनाएँ-
कर्मले तिमी र म उस्ता उस्तै देखियौँ
तर, उद्देश्यमा हामी दुई भिन्न रहेछौँ!

तिम्रो उत्पत्ति र मेरो सृजनामा
धेरै ठुलो अन्तर भयो, फरक पऱ्योः
के फरक पऱ्योः सुन्छौ?’

‘ईश्वर’ले निन्याउरो अनुहारमा
पर उभिएर घोसे मुन्टो लायो:

उसैको निर्माता मूर्तिकारचाहिँ
बोल्यो- बोलिरह्यो:

‘तिमीले बनाएका पुतलाहरू
आपसमा लडे, संसार बीभत्स बनाए
तर, मैले बनाएका पुतलाहरू
शालीन बनेर मन्दिरमा उभिए-

तिमीले बनाएका पुतलाहरू
सधैँ आफूजस्तैहरुका विरुद्ध जुधी
अशान्ति, ध्वंस र कोहोलो मच्चाए

अनि,

मैले बनाएका पुतलासामु उभिएर
शिर झुकाउँदै शान्ति-आनन्दको कामना गरे,
गरिरहे, गरिरहे!!’

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading