दधिराज सुवेदी पुरस्कार श्रेष्ठ र झालाई प्रदान गरिने

दधिराज सुवेदी पुरस्कार श्रेष्ठ र झालाई प्रदान गरिने

काठमाडौं : दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार २०८०’ वरिष्ठ कथाकार तथा आख्यानकार भागीरथी श्रेष्ठ र दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार २०८० वरिष्ठ पत्रकार धर्मेन्द्र झालाई प्रदान गरिने भएको छ।

दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलको अध्यक्षतामा बसेको बैठकले श्रेष्ठ र झालाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।

प्रत्येक वर्ष प्रदान गर्ने राष्ट्रिय भाषा साहित्य पुरस्कारको राशि ५१ हजार रुपैयाँ रहेको छ भने भने राष्ट्रिय पत्रकारिता पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको प्रतिष्ठानले जनाएको छ।

नेपाली साहित्यको आख्यान विधामा पाँच दशकभन्दा बढी समयदेखि दिएको योगदानका लागि साहित्यकार श्रेष्ठलाई र पत्रकारिताको क्षेत्रमा चार दशकभन्दा बढी समयदेखि दिएको योगदानका लागि वरिष्ठ पत्रकार झालाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानका महासचिव दिङ्लाली कान्छोले जानकारी दिए।

यस अघि भाषा साहित्य पुरस्कार साहित्यकारहरू प्रा.डा. गोविन्दराज भट्टराई, प्रा.डा.अभि सुवेदी, प्रा.डा.माधवप्रसाद पोखरेल, डा. विष्णुविभु घिमिरे, एस्पी कोइराला, प्रा.डा. चूडामणि बन्धु र सनत रेग्मीलाई प्रदान गरिएको थियो।

यस्तै पत्रकारिता पुरस्कार पत्रकारहरू हरिबहादुर थापा, शिवबहादुर कार्की, हरिहर विरही, मोहन भण्डारी, किशोर नेपाल भूषण दाहाल र अनन्तराज न्यौपानेलाई प्रदान गरिएको थियो।

समालोचक प्राज्ञ दधिराज सुवेदीका छोराद्वय शरदराज सुवेदी र रूपकराज सुवेदीले राखेको पन्ध्र लाख रुपैयाँको अक्षय कोषको व्याजबाट प्रत्येक वर्ष यो पुरस्कार २०७३ सालदेखि नियमित प्रदान गरिँदै आएको प्रतिष्ठानले जनाएको छ। यस वर्षका पुरस्कारहरू आगामी २०८० मङ्सिर ३० गते विशेष समारोहको आयोजना गरी विराटनगरमा समर्पण गरिने छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.