युद्धग्रस्त देशको सेनामा भर्ती, सरकार बल्ल अध्ययन गर्दै

युद्धग्रस्त देशको सेनामा भर्ती, सरकार बल्ल अध्ययन गर्दै

काठमाडौं : देशमा रोजगारीको अवसर नहुँदा नेपाली युवाहरू ज्यान जोखिममा राखेर युद्धग्रस्त देशको सेनामा भर्ती भइरहेका छन्। स्वदेशको राजनीतिक अस्थिरता, बेथिति, नाजुक आर्थिक अवस्थाले निराश भएका युवाहरू मर्नैका लागि समेत युद्धग्रस्त मुलुकका सेनामा धमाधम भर्ती भइरहेका हुन्।

नेपाली युवाहरू रुस र युक्रेनको सेनामा भर्ती भएर एक-अर्का विरुद्धको युद्धमा होमिएका छन्। रुसमा भर्ती भएका ६ जना युवाले ज्यान गुमाएको पुष्टि भइसकेको छ। अरू कति नेपालीले ज्यान गुमाए? सरकार बेखबर छ।

सरकारले बल्ल कति नेपाली युवा रुस युक्रेनी सेनामा भर्ती भएका छन् भनेर अध्ययन र खोजी सुरु गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुसी सेनामा मात्रै २ सय नेपाली भर्ती भएको जानकारी पाएको बताए।

उनले कोही भिजिट भिसा, कोही अध्ययन भिसामा रुसमा पुगेका २ सय नेपालीहरू रुसी सेनामा भर्ती भएको औपचारिक जानकारी आएको बताए।

रुसी सेना बनेका नेपालीहरू पनि कोही युक्रेनी सेनाको कब्जामा रहेको र केही नेपालीहरू युक्रेनी सेनामा रहेको पनि औपचारिक जानकारी आएको प्रधानमन्त्री प्रचण्डले सुनाए।

विदेशी सेनामा भर्ती हुन गएका मात्रै होइनन् सिक्न गएका विद्यार्थीहरू पनि सुरक्षित रहन सकेका छैनन्। इजरायल हमास युद्धका क्रममा हमासद्धारा बन्दी बनाइएका विपिन जोशी दुई महिनाभन्दा बढी समय भइसक्दा समेत रिहा भएका छैनन्। तर, प्रधानमन्त्री प्रचण्डले हमास आक्रमणमा बेपत्ता भएका विपिन जोशीको सकुशल उद्धारका लागि अन्तिम प्रक्रियातिर बढिरहेको पनि बताए।

सुदूरपश्चिम विश्वविद्यालयबाट लर्न एन्ड अर्न कार्यक्रममार्फत इजरायल पुगेका १० जना नेपाली विद्यार्थी मारिए भने अन्य केही विद्यार्थीलाई सरकारले सकुशल उद्धार गरेको छ। हमासद्धारा बन्दी बनाइएका जोशीको उद्धारमा भने सरकारको प्रयासले सफलता पाउन सकेको छैन।

सोमबार मात्रै कतारको सरकारले जोशीको चाँडै उद्धार हुनसक्ने सङ्केत दिएको छ। दोहा फोरममा भाग लिन कतार पुगेका परराष्ट्र मन्त्री एनपी साउदले कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुल रहमान अल–थानीलाई भेटेर हमासद्धारा बन्दी बनाइएका जोशीको रिहाइका लागि अनुरोध गरे। कतारका प्रधानमन्त्रीले चाँडै सकारात्मक परिणाम आउन सक्ने सङ्केत गर्नुभएको मन्त्री साउदका स्वकीय सचिव दीपक जोशीले जानकारी दिए।

ठगी र मानव तस्करीको जालो

विश्वका जुनसुकै मुलुकमा नेपाली नागरिक कानुनी वा गैरकानूनी तरिकाले प्रवेश गरिरहेका छन्। गैरकानूनी तरिकाले वैदेशिक रोजगारीमा जानेहरू ठगिने तथा मानव तस्करीको जालोमा फस्ने क्रम बढिरहेको छ।

पछिल्लो साढे ७ महिनामा ८ सय ६१ वटा उजुरी परेको तथ्याङ्क वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको छ। गत जेठ ४ देखि मङ्सिर २४ गतेसम्मको अवधिमा २ सय ६९ संस्थागत र ५ सय ९२ व्यक्तिगत उजुरी परेको विभागका महानिर्देशक मदन दाहालले जानकारी दिए।

ती उजुरीहरूमा पीडितले २५ करोड २८ लाख ८९ हजार रकम ठगिएको दाबी गरेका छन् भने उक्त रकम क्षतिपूर्तिसहित दिलाइदिन माग गरेका छन्। व्यक्तिगत रूपमा परेका ५ सय ९२ उजुरीमा २३ करोड २७ लाख ९७ हजार रुपैयाँ क्षतिपूर्ति माग दाबी गरिएको विभागले जनाएको छ।

व्यक्तिगत उजुरीमध्ये ६८ वटामा मिलापत्र गरिएको छ। मिलापत्रपश्चात् पीडितले दुई करोड १४ लाख ९६ हजार रुपैयाँ पाएका छन्। व्यक्तिगत रूपमा परेका उजुरीमध्ये ६० वटाको अदालतमा मुद्दा दायर गरिएको छ।

अदालतमा दायर मुद्दामा पाँच करोड १७ लाख ८६ हजार ५० रुपैयाँ क्षतिपूर्ति दाबी गरिएको छ। संस्थागत रूपमा परेका २ सय ६९ उजुरीमध्ये १ सय ६२ मा मिलापत्र हुँदा पीडितले क्षतिपूर्तिबापत दुई करोड ९२ हजार ६१३ रुपैयाँ पाएका विभागले बताएको छ।

यो तथ्याङ्क विभागको मात्रै हो। वैदेशिक रोजगारीमा ठगिएका, मानव तस्करका सिकार बनेका पीडितहरूले नेपाल प्रहरीमा पनि उजुरी दिन सक्नेछन्।

लाखौँ तिरेर फिर्ता

वैदेशिक रोजगारीकै क्रममा तस्करको गिरोहले म्यानमा पुर्‍याइ साइबर दास बनाइएका १५ भन्दा बढी व्यक्ति लाखौँ रकम तिरेर स्वदेश फर्कन बाध्य भएका छन्।

थाइल्यान्ड लाने भनेर म्यानमा पुर्‍याइएका पीडितहरूलाई गिरोहले चिनियाँ कम्पनीमा काम लगाउन अनलाइन ठगीको तालिम समेत दिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

थाइल्यान्डको चिनियाँ कम्पनीमा कम्प्युटर टाइपिङ, भाषा अनुवादक लगायतका काममा लगाइदिने भनेर पीडितहरूलाई म्यानमा पुर्‍याएर साइबार दास बनाउने गिरोहका तीन जनालाई मानव बेचबिखन अनुसन्धान ब्युरोले नियन्त्रणमा लिएको छ।

उनीहरूबाट पीडित बनेका तीन जनासहित करिब २० जनाले १५ वटा उजुरी ब्युरोमा दिएका छन्। चिनियाँ कम्पनीले बन्धक बनाएर अनलाइन ठगीमा टार्गेट पुर्‍याउन दिनमा १८ देखि २० घण्टासम्म काममा लगाउने गरेको पीडितहरूले बताएका ब्युरोका प्रहरी उपरीक्षक कृष्ण प्रसाद पङ्गेनीले जानकारी दिए।

डेढ लाख देखि साढे दुई लाख रुपैयाँसम्म तिरेर वैदेशिक रोजगारीमा गएका उनीहरूले कम्पनीलाई प्रतिव्यक्ति ८ लाख रुपैयाँ तिरेर नेपाल फर्किएपछि दलालहरू धमाधम पक्राउ पर्न थालेका हुन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading