पहिलो विवाह दर्ता गर्ने जोडीले भन्यो, ‘गरिखान देऊ’

पहिलो विवाह दर्ता गर्ने जोडीले भन्यो, ‘गरिखान देऊ’

काठमाडौं : अझै पनि जातका आधारमा होच्याउने परम्परा छ। काभ्रे नमोबुद्ध नगरपालिकामा ‘जुनी जुनी नछुट्टिने’ भन्दै जोडेको माया जातकै कारण तोडिने अवस्थामा पुगेको छ।

काभ्रे जिल्ला अदालतमा वडा कार्यालयको सिफारिस सहित उपस्थित भएर विवाह गर्ने भनेको जोडी जातकै कारण घरको न घाटको अवस्थामा पुगेको छ। अस्ति केटी हराउँदा परिवारले खोज्यो। आज केटो हराएको छ। ‘सम्पर्कमै छैन,’परिवारले भन्यो,‘अब के गर्ने भनेर सल्लाह गर्दैछौ।’

तपाइकोमा आए खबर गर्न परिवारले अनुरोध समेत गरेका छन्। दुवै परिवार गाउँभरि हल्ला चलेपछि रनभुल्लमा परेका छन्। सल्लाह दिनेहरूले पनि जातकै कुरा गर्दा परिवार जवाफ दिनै नसक्ने अवस्थामा पुगेका छन्।

समाजले बनाइदिएको मानकलाई पछ्याउँदा जातका आधारमा ‘मन पराएको’ जोडी विवाह गर्न डराइरहेको छ। ‘विवाह क्षणिक त होइन नि?’ बिशेषगरी केटी पक्षकाले शङ्काको भाषामा सोधेका थिए।

परिवारले तोकिदिएको मानकमा रहेर मात्र विवाह गर्नुपर्ने अवस्था जातले मात्रै निर्धारण गर्दैन। यौनका आधारमा समेत विवाहलाई बन्धनकै रूपमा भिराउने समाज छ।

ट्रान्सफोबिया आतङ्क, भिजिलान्ते प्रयोग भएको आशङ्का

विवाह गर्न पुरुष र महिला विपरीत यौनाकर्षण हुनै पर्ने कानुनी व्यवस्था नै छ। मुलुकी देवानी संहितामा विवाह पुरुष र महिलाबीच हुने भनिएको छ। पुरुष र पुरुष अथवा महिला र महिला समान यौनाकर्षण हुनेहरुबीच विवाह हुने कानुनी व्यवस्था हुन सकेको छैन।

समान यौनाकर्षण भएका, महिला जन्मेर पुरुषको र पुरुष जन्मेर महिलाको स्वभाव भएका व्यक्तिको जबरजस्ती विवाह हुने गरेको छ। जबरजस्ती विवाहमा आधारित लघु कथानक चलचित्र ‘नीलो फूल’ अन्तर्राष्ट्रिय मानवअधिकार चलचित्र महोत्सवमा पनि प्रदर्शन भएको छ।

विवाह व्यक्ति व्यक्तिबीच हुने कानुनी व्यवस्थाका लागि नेपालमा सन् २००१ देखि सङ्गठित अभियान नै सुरु भएको हो। अभियानको नेतृत्वकर्ता नै सन् २००७ मा रिट लिएर सर्वोच्च अदालत पुगे। ६ पुस २०६४ (२१ डिसेम्बर २००७) मा सुनिलबाबु पन्तविरुद्ध नेपाल सरकार रहेको रिटमा सर्वोच्चले दिएको आदेश पछि समलिङ्गी तेस्रोलिंगी पहिचान पाएका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकले २३ वर्षमा कानुनी रूपमा विवाह दर्ता गर्न पाएका छन्।

लमजुङको दोर्दी गाउँपालिकाले १३ मङ्सिरमा दर्ता गरेको माया गुरुङ्ग र सुरेन्द्र पाण्डेको विवाह यति बेला देश विदेशमा चर्चा गर्ने विषय बनेको छ। समलिङ्गी तेस्रोलिंगीको विवाह दर्ता गर्ने कानुनी व्यवस्था माग गर्दा ‘कलि जुग, कलि जुग’ भन्नेहरूलाई दोर्दी गाउँपालिकाले समावेशी चरित्र प्रस्तुत गरेर पाठ पढाइदिएको छ।

नेपालमा व्यक्ति व्यक्तिको अधिकार स्थापित भएको सन्देश विश्वभर गएको छ। विश्वका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकले चासोका साथ नेपाललाई हेरिरहेका छन्। उनीहरूलाई नेपालमा बोलाएर आन्तरिक अर्थतन्त्रमा टेवा पुर्‍याउन माया र सुरेन्द्र कस्सिएका छन्।

जनवरी १८ र १९ मा नेपालमा अन्तर्राष्ट्रिय यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक पर्यटन प्रवर्द्धन सम्मेलन नै गर्ने घोषणा भएको छ। माया र सुरेन्द्रको साथमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकको पहिचान र अधिकारको अभियान सुरु गरेका सुनिलबाबु छन्। उनीसँग अहिले आफैँले स्थापना गरेको संस्था छैन।

उनी अहिले ‘मायाको पहिचान नेपाल’ मार्फत नै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको अभियानलाई सशक्त बनाइरहेका छन्। उनकै पहलमा माया र सुरेन्द्रले ६ वर्ष अघि गरेको विवाह राज्यका निकायमा दर्ता भयो।

अब उनकै पहलमा पहिलो अन्तर्राष्ट्रिय सम्मेलन हुन लागे पछि समुदायको नाममा महिनामै दुई पटकसम्म विदेश शयर गर्नेहरूमा छटपटी चलेको यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूले बताएका छन्।

उनीहरू यति बेला जसले नेपालमा पुरुष र महिला बाहेकका समलिंंगी तेस्रोलिंगीको पहिचान स्थापित गरायो उसैलाई ‘ट्रान्सफोबिया’को आरोप लगाउन थालेका छन्। बिरामी पार्टनरको हेरचाहका लागि बेलायत जाँदा नेतृत्व सुम्पिएका पन्तलाई तिनै नेतृत्वले ‘ट्रान्सफोबिया’ को आरोप लगाएका हुन्।

‘ट्रान्सफोबिया ट्रेन्ड किन?’ माया र सुरेन्द्रले प्रश्न गरेका छन्। ६ वर्षसम्म विवाह दर्ताका लागि पहल नगरिदिनेहरू यति वेला आत्तिएका छन्। छिन्नभिन्न अवस्थामा पुगेको यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको अधिकारको माग एकीकृत हुन थालेको छ। समुदाय भित्रको विकृति विसङ्गति अन्त्यको अभियान समेत सङ्गठित रूपमा सुरु भएको छ। मायाको पहिचान नेपालका उपाध्यक्ष मधु केसीले त्यसको नेतृत्व गरेका छन्।

वैवाहिक अधिकारको आवरणमा हार्मोन बाड्ने क्लिनिक

संस्थाको नाम दुरुपयोग गरेर समाजलाई विकृत बनाउनेहरू प्रहरीको फन्दामा समेत परेका छन्। तेस्रोलिंगीको नाममा लुटपाट गर्ने विरुद्धको मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन अवस्थामा छ। पीडितको न्यायका लागि उपाध्यक्ष केसी साक्षी नै बसेका छन्।

हर्मोन लिनु स्वास्थ्यका लागि घातक भएको सन्देश दिने मात्रै नभई जटिल शल्यक्रिया गरेर महिला या पुरुष नै बन्नु पर्ने पश्चिमा संस्कृतिमा नलाग्न सचेतना जगाउनेहरू नै यति बेला ‘ट्रान्सफोबिया’को आक्रमणमा परेका छन्।

हर्मोन सेवन र शल्यक्रिया गरेर स्वास्थ्यमा खेलबाड नगर्न भुक्तभोगीले नै दिएको सुझावको समाचार प्रकाशन गरेकै कारण यसअघि पहिचान मिडियामाथि आक्रमणको प्रयास गरेका थिए। हर्मोन बाँड्ने काम अहिले पनि भइरहेको छ। शल्यक्रिया गर्न उक्साउनेहरू अहिले पनि हाबी छन्।

उनीहरू किन गलत पहिचानको वकालत गरिरहेका छन्? उत्तर छैन। तर, हर्मोन सेवन र शल्यक्रिया गर्नेहरू आत्मालोचना गरिरहेका छन्। केही दिन अघि मात्रै पुरुषको हर्मोन लिँदै आएका एक जना ‘ट्रान्स मेन’ (तेस्रोलिंगी पुरुष) को ज्यान जाने अवस्था आयो। उनलाई महिलाको हर्मोन दिएर बचाउन चिकित्सक सफल भए।

समलिङ्गी विवाहको कानुन बनाउन माग गर्दै वर्षौँ बिताउनेहरूका कारण यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक अधिकार विहीन भएर बस्नु परेको थियो अर्थात् विवाह गरेर पनि दर्ता गर्न पाएका थिएनन्। संवैधानिक इजलासमा पुगेको विवाहको कानुन बनाउन आदेश मागिएको रिटको सुनुवाइ सरिरहँदा सम्बन्धमा रहेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकले विवाह दर्तालाई ‘आकाशको फल आँखा तरी मर’ को संज्ञा समेत दिन थालेका थिए।

समलिङ्गी विवाहको कानुन बनाउने आदेश माग्दै दायर रिट विचाराधीन रहेकै अवस्थामा २४ जेठमा तत्काल विवाह दर्ताको आदेश माग्दै अर्को रिट दर्ता भयो। १२ असारमा अस्थायी अभिलेख रहने गरी विवाह दर्ता गर्न न्यायाधीश तिलप्रसाद श्रेष्ठले अन्तरिम आदेश जारी गरे। आदेश आएको पाँच महिनामा राज्यको रेकर्डमा रहने गरी विवाह दर्ता नै भयो।

यो रिटको पूर्ण सुनुवाइ चैतमा हुने गरी पेशी तोकिएको छ। विवाह दर्ता नै भए पछि सरकारलाई अब कानुन नबनाई बस्ने सुविधा छैन। तर, यही कानुनको माग गर्नेहरूले भने अब उठाउने मुद्दा पाउन सकेका छैनन्। त्यसैले उनीहरू ‘ट्रान्सफोबिया’को आरोप लगाउन थालेका हुन्।

सुनिलबाबु मायाको पहिचान नेपाल मार्फत समुदायको जीविकोपार्जनका योजनामा लागिसक्दा ‘म कुटे जस्तो गर्छु, त रोए जस्तो गर’ भन्नेहरू आपसमा फाइट गर्न थालेका छन्। जसले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय भित्रै एकता नभएको सन्देश अन्तर्राष्ट्रिय निकायहरूमा पुगेको छ।

‘काम गर्न देऊ, हामी लुटेर खान आएका होइनौ’ माया र सुरेन्द्रले सार्वजनिक अपिल नै गरेका छन्।

हेर्नुहोस् भिडियो

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading