को हुन् नेपालको विशिष्ट श्रेणीको राष्ट्रिय समाजसेवी?

को हुन् नेपालको विशिष्ट श्रेणीको राष्ट्रिय समाजसेवी?

काठमाडौं : जगदिश वैद्यले लिएको परिचय पत्र विवादित बनेको छ। वैद्यका नाममा गृह मन्त्रालयले दिएको पत्र र सङ्घीय संसद् सचिवालयले जारी गरेको परिचय पत्र विवादित बनेको हो। गृहको पत्र र संसद्को परिचय पत्रले उनी हरेक कार्यक्रमका निम्तालु समेत बनेका छन्।

गृह मन्त्रालयले ३ पुस २०७४ मा आमन्त्रित सूचिमा नाम राखिएको पत्र सरकारी सञ्चारमाध्यम गोरखापत्रले सार्वजनिक गरे पछि विवादित बनेको हो। विशिष्ट श्रेणीको राष्ट्रिय समाजसेवी प्रा.डा. जगदिश वैद्यज्यू सम्बोधन गरिएको गृहको पत्रमा वैद्यको ठेगाना ललितपुर महानगरपालिका ताल्छिखेल ललितपुर लेखिएको छ।

पत्रमा लेखिएको छ,‘प्रस्तुत विषयमा गृह मन्त्रालयको च.नं. विविध/४२८ मिति २०६७/०८/२२ को पत्रबाट मिति २०६७/०८/२२ को माननीय मन्त्रीस्तरिय निर्णयबाट सोही मितिबाट लागु हुने गरी तपाईँलाई आजीवन नेपाल सरकारको सम्पूर्ण निकायहरूमा राष्ट्रिय पर्व, उत्सव तथा राष्ट्रिय कार्यक्रमहरूमा र विशिष्ट पाहुनाको स्वागत र निजी कार्यक्रममा समेत सहभागी हुन विशिष्ट आमन्त्रितको सूचीमा नाम समावेश गरी निमन्त्रणा कार्ड पठाउने गरी रेकर्ड राखिएको ब्यहोरा पुन जानकारी गराइन्छ।’

वैद्यले यसअघि २०५३ सालमा लिएको यस्तै पत्रको गोरखापत्र दैनिकले ‘दुनियाँलाई झुक्क्याउन सक्रिय कथित समाजसेवीको रहस्य’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो।

वैद्यले २०५० सालको दैविप्रकोप बाढी पहिरोको कुल राहतको ६० प्रतिशत राहत नेपाल सरकारलाई जम्मा गराएका थिए। त्यसबापत उनलाई गृह मन्त्रालयले २०५३ सालमा चलानी नं ६५० रहेको पत्र वैद्यको घरमा पुर्‍याएको थियो। विशिष्ट श्रेणीको राष्ट्रिय समाजसेवीको सम्मान सहितको पत्र गृहले २०५३ सालमा घरमै पुर्‍याउन आएको दाबी वैद्यले गरेका छन्।

वैद्यले त्यति वेला लिएको पत्रका आधारमा गृह मन्त्रालयमा प्रतिलिपि पाउन निवेदन दिएका थिए। वैद्यको निवेदन अनुसार गृहका उपसचिव भरतकुमार शर्माले ‘आमन्त्रित सूचिमा नाम राखिएको बारे’ उल्लेख गरिएको पत्र दिए।

वैद्यले २० जेठ २०७५ मा सङ्घीय संसद् सचिवालयबाट परिचय पत्र लिए। संसद्ले दिएको परिचय पत्रमा ‘माननीय प्रा.डा.जगदीश वैद्य राष्ट्रिय समाजसेवी’ लेखिएको छ।

वैद्यले आफूले किर्ते गरेर परिचय पत्र नलिएको दाबी गरेका छन्। उनले गृह र संसद्मा निवेदन दिएर पत्र र परिचय पत्र प्राप्त गरेको दाबी पनि गरेका छन्। उनले त्रिभुवन विश्वविद्यालय, कृषि तथा वन विज्ञानमा निर्माण गरिएको सरस्वतीको मूर्तिको शिलालेखमा आफ्नो नाम लेखाएका छन्।

प्रहरी चौकी कीर्तिपुर, बाघभैरव, जलविनायक, टौदहको कर्कोटेश्वर महादेव, बुढानीलकण्ठ, ललितपुरको महालक्ष्मी मन्दिर लगायतका ठाउँमा घण्ट राखिदिएका छन्। ती घण्टमा उनले आफ्नो नाम शिलालेखमा राखेका छन्।

नेशनल मेडिकल कलेज अफ साइन्सका सञ्चालक वैद्यले आफ्नै पुर्ख्यौली सम्पत्ति खर्च गरेर समाजसेवा गर्दै आएको दाबी गरेका छन्। ‘मैले समाज सेवा गर्ने हो। धन्यवाद दियो भने लिने हो। गृहले मलाई काम नगरी पत्र दिएको होइन,’वैद्यले पहिचानसँग भने,‘मन्त्री पनि चिनेको छैन, के निर्णय भयो थाहा छैन।’

२०३५ सालदेखि समाज सेवा सुरु गरेका वैद्यको पहिलो काम पशुपतिनाथ बागमती सफाइ हो। केही पाउने आशामा समाज सेवा नगरेको उनको दाबी छ। ‘मागेर पाउने भए अरूले पनि पाउँथे’उनले भने।

समाज सेवामा सबैलाई चित्त बुझाउन नसक्दा नभएको आरोप लगाएर सात दिन थुनामा समेत परेको उनले सुनाए। ‘२०५३ सालमा कहिल्यै मादक पदार्थ सेवन नगर्ने मलाई मादक पदार्थ सेवन गरेको आरोपमा पक्राउ गरेर सार्वजनिक मुद्दा लगाइयो,’उनले भने,‘सात दिन जेल परेर जिल्ला प्रशासन कार्यालयको आदेशमा रिहा भएको हुँ।’

उनले गृहको पत्र र संसद्को परिचय पत्र कतै दुरुपयोग नगरेको दाबी गरे। ‘मैले दुरुपयोग गरेको छैन, कुनै अपराध गरेको पनि छैन,’उनले भने,‘राज्यले दिएको सम्मान मैले नलिने भन्ने हुन्छ त?’

हेर्नुहोस् भिडियो

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading