ग्रीसमा समलिङ्गी विवाहलाई वैधानिकता

ग्रीसमा समलिङ्गी विवाहलाई वैधानिकता

एजेन्सी : ग्रीस समलिङ्गी विवाहलाई वैधानिकता दिने पहिलो अर्थोडक्स क्रिस्चियन (रुढीवादी क्रिस्चियन) मुलुक बनेको छ।

३०० सिट भएको संसद्ले समलिङ्गी विवाहलाई वेद्यता प्रदान गरेको हो। चर्चका अधिकारीहरूको आपत्तिको बाबजुद सांसदहरूले मध्य–दक्षिणपन्थी सरकारद्वारा तयार पारिएको विधेयकको पक्षमा मतदान गरेका दी गार्जियनमा उल्लेख छ।

एथेन्सको संसद्ले देशमा हर्षोल्लास र क्रोधका माहोलकाबीचमा ऐतिहासिक सुधारको विधेयक पारित गरेपछि ग्रीस समलिङ्गी विवाहलाई वैधानिकता दिने विश्वको पहिलो इसाई अर्थोडक्स राष्ट्र बनेको हो।

संसदीय सहमतिको अभावमा बिहीबार १७६ जना सांसदहरूले विधेयकको पक्षमा मतदान गरे। अन्य ७६ जनाले संशोधनलाई अस्वीकृत गरे भने दुई जना तटस्थ रहँदा ४६ जना संसद्मा अनुपस्थित थिए।

संसद्ले विधेयक पारित गरिरहँदा माथिल्लो ग्यालरीमा बसेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक (एलजीबीटीआई) समुदायका सदस्यहरूमध्ये धेरै भावुक बनिरहेका थिए। ‘हामीले यसका लागि वर्षौँ पर्ख्यौँ’ चर्चित समलिङ्गी अभियन्ता स्टेला बेलियाले भनिन्, ‘कानुनले समलिङ्गी जोडीहरूलाई नागरिक समारोहहरूमा प्रतिज्ञा लिने अनुमति मात्र नभई बच्चाहरूलाई धर्मपुत्र लिन पनि अनुमति दिनेछ। यो ऐतिहासिक क्षण हो। हामी मध्ये धेरैलाई यो दिनको यकिन थिएन।’

मतदानपछि दुई दिनसम्म विधेयकका विषयमा चर्को बहस भएको थियो र झन्डै एक हप्तासम्म यसले विरोधको सामना गर्नुपर्‍यो। समर्थकहरूले विधेयकलाई ‘साहसिक’ र ‘लामो समयदेखि अपेक्षा गरिएको सुधार’ भनी विश्लेषण गर्दा शक्तिशाली रुढीवादी चर्च सहित विरोधीहरूले यसलाई ‘असामाजिक’ र ‘अक्रिश्चियन’ भनी निन्दा गरेका थिए।

आफ्नै मध्य–दक्षिणपन्थी न्यू डेमोक्रेसी पार्टी भित्रै कडा विरोधको सामना गर्नुपरे पनि प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले विधेयकको समर्थन गर्दै भने ‘यसले हाम्रो लोकतन्त्रको लागि गम्भीर असमानतालाई अन्त्य गर्नेछ।’

मतदान अघि आफ्नो पार्टीका उदारवादी गुटमा आबद्ध ५५ वर्षीय नेताले कडा भाषण दिने क्रममा यो विधेयकले यस मुद्दामा पहिले नै कानुन बनाएका ३६ देशसँग ग्रीसलाई जोडिदिने बताए। उनले आधुनिक समाजसँग मेल नखाने रुढीवादी पुरातन विचारहरूलाई जोड्न नहुने तर्क गरे।

‘हामीले आज जुन सुधार गरिरहेका छौँ, यसले कसैको जीवनबाट केही पनि नखोसीकन हाम्रा केही नागरिकहरूको जीवनलाई धेरै राम्रो बनाउनेछ’ मित्सोटाकिसले भने,‘कानुनले समलिङ्गी जोडीहरूमा अभिभावकको अधिकारलाई पूर्णता प्रदान गर्नेछ।’ सबै नागरिकलाई उनीहरूको इच्छा अनुसार आफ्नो सम्बन्धलाई संस्थागत रूपमा स्थापित गर्न अनुमति दिएर यसअघिको अन्तरलाई हटाउन खोजिरहेको प्रधानमन्त्री मित्सोटाकिसले बताए।

यद्यपि, सामाजिक रूपले रूढिवादी राष्ट्रमा आफ्ना घटकहरूका बारेमा जागरूक न्यू डेमोक्रेसी सांसदहरूले बलियो प्रतिरोध गरेका थिए। विपक्षीलाई लक्षित गर्दै, पूर्व प्रधानमन्त्री एन्टोनिस समारासले संसद्मा ‘समलिङ्गी विवाह मानव अधिकार होइन र यस्तो खतरायुक्त कानुन पेस गरिनुहुँदैनथ्यो’ भनेका थिए।

ग्रीसको पहिलो समलिङ्गी राजनीतिक नेता स्टेफानोस कासेलाकिसको नेतृत्वमा रहेको मुख्य विपक्षी वामपन्थी पार्टी सिरिजा र अन्य साना समूहहरूको समर्थन बिना यो सुधार पारित हुने अवस्था भने थिएन। यद्यपि तीन विपक्षी दलले पक्षमा मतदान गरे पनि पर्याप्त नभएको भन्दै कानुनले आलोचना खेप्नुपरेको थियो।

विधेयकलाई ‘अपूर्ण’ भनी टिप्पणी गरेको सिरिजाले यसले अहिले पनि समलिङ्गी जोडीलाई सरोगेसीको माध्यमबाट अभिभावकत्व प्राप्त गर्न प्रतिबन्ध लगाएको बताएको छ। सिरिजाका नेता कासेलाकिसले उनी आफ्नो अमेरिकी पति टायलर म्याकबेथको साथमा अघि बढ्न चाहेको पनि बताए।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको अधिकारका लागि वकालत गर्ने समूहहरूले समेत विधेयकले भेदभावको अन्त्य गर्न नसकेको भन्दै आलोचना गरेका थिए।

‘विधान आफैँमा धेरै समस्याग्रस्त छ र हामीले सुनेको भाषा यति अपमानजनक छ कि खुसीयाली मनाउनुको सट्टा, धेरै मानिसहरू मानसिक रूपमा एकदमै स्तब्ध महसुस गरिरहेका छन्’ एलजीबीटीआईको वकालत गर्ने ओर्लान्डो समूहका मनोवैज्ञानिक र सह–संस्थापक एलेना क्रिस्टिडीले भने,‘यो समलिङ्गी पुरुषहरू र बच्चा जन्माउन चाहने ट्रान्स व्यक्तिहरूका लागि विनाशकारी देखिएको छ। एक पटक फेरि राज्यले आफूहरूलाई अरू नागरिक सरह समान अधिकार प्राप्त गर्न योग्य नमानेको उनीहरूले महसुस गरेका छन्।’

रुढीवादी विशप (धर्माध्यक्ष) हरूले विधेयकको पक्षमा मतदान गर्ने सांसदहरूलाई बहिष्कार गर्ने धम्की दिएका थिए भने अति दक्षिणपन्थी स्पार्टन्स पार्टीका नेताले यस कानुनले ‘नरक र विकृतिको ढोका खोल्नेछ’ भनेका थिए। चार दलको समूहमध्ये एक कम्युनिस्ट केकेई पार्टीले विधेयकलाई अत्यधिक रूपमा अस्वीकार गरेको थियो।

तर प्रधानमन्त्री मित्सोटाकिसले संसद्को अवरोध हटाउने अडान लिए। उनले लामो समयसम्म समलिङ्गी मानिसहरू अदृश्य रहेका उल्लेख गर्दै गाउँ र सहरमा आफ्नो परिवार र सामाजिक वातावरणबाट उत्पीडित बनेका बताए।

संसारभरका ३६ वटा देशमा समलिङ्गी विवाहलाई वैद्य मानिएको छ। तीमध्ये २१ वटा युरोपेली मुलुकले कानुनी मान्यता दिएका छन् भने ग्रीस विवाह समानता कानुन बनाउने १६ औँ इयू राष्ट्र बनेको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading