समलिङ्गी भएकै कारण जागिर गुग्यो, नयाँ विधेयकको निन्दा

समलिङ्गी भएकै कारण जागिर गुग्यो, नयाँ विधेयकको निन्दा

एजेन्सी : पश्चिम अफ्रिकी मुलुक घानामा होमोफोबिया (समलिङ्गी व्यक्तिप्रतिको घृणा वा पूर्वाग्रह) असामान्य मानिन्न, जहाँ समलिङ्गी यौन सम्बन्धलाई पहिलेदेखि नै कानूनविपरित ठहर गरिन्छ र यस्तो कार्यका लागी तीन वर्षको जेल सजाय तोकिन्छ।

त्यसमा पनि गत हप्ता नयाँ विधेयक पारित भएपछि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले थप आतङ्कित महसुस गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

संसद्बाट पारित नयाँ विधेयकले एलजीबीटीआई व्यक्तिका रूपमा पहिचान गरिए मात्र पनि ३ वर्षसम्मको जेल सजायलाई बढाएर पाँच वर्षसम्मको तोकेको छ।

आफ्नो पहिचान जोगाउन नाम परिवर्तन गरेकी मेन्साहले बीबीसीसँग भनिन्, ‘एक जना आफन्तले यदि नयाँ विधेयकले कानुनी मान्यता प्राप्त गरे जुनसुकै बेला पनि मलाई विष खुवाउनेछन्, किनकि म परिवारका लागि घृणित छु भनी चेतावनी दिइसकेका छन्।’

कालो पहिरन लगाएका अनि निक्कै डर र त्रासमा देखिएका ती भन्दै थिए ‘म धेरै चिन्तित छु, मेरो आफ्नै छिमेकमा पनि कसैले मलाई छिनाउन सक्छ। यहाँ बस्न धेरै गाह्रो हुनेछ।’

उनी आफ्नो परिवारबाट भागेर घानाको राजधानी अक्रामा दयालु साथीहरूसँग बस्दै आएका छन्। धार्मिक एवं पारम्परिक रूपमा रुढीवादी देश घानामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको सङ्ख्या कति ठुलो छ भन्ने स्पष्ट छैन। तर तिनीहरूमध्ये एकले बहिस्कृत हुन पर्दा एक अर्कालाई मद्दत गर्न आइपुगिहाल्छन्।

मेन्साहका अनुसार, आफू केटाहरूप्रति आकर्षित भएको कुरा पत्ता लगाएपछि आमाले परिवर्तन हुने आस गर्दै चर्चमा प्रार्थना गर्न लैजान्थिन्। ‘मेरो चर्चका साथीहरू बाहेक अरू कुनै साथीले मलाई भेट्ने अनुमति दिइएन। मैले चौबिसै घण्टा बाइबल अध्ययन गर्नुपर्थ्यो, प्रार्थना गर्नुपर्थ्यो, सभाहरूमा जाँदा म सबैभन्दा पछाडि बस्ने गर्थे।’

घरबाट उनी व्यवहारिक रूपमा टाढिएका थिए। ठुलो परिवार भए पनि कुनै सदस्य उनीसँग बोल्दैनथे र उनलाई असह्य हुने गरी घुरेर हेर्ने गर्थे। ‘उनीहरूलाई मैले काकाको छोराछोरी र साना बच्चाहरूलाई प्रभावित बनाउन सक्छु भन्ने लाग्थ्यो।’ त्यसपछि सन् २०२० मा प्रार्थना र बाइबल अध्ययनबाट पनि कुनै प्रभाव नपरेको र मेन्साहको आनीबानीमा कुनै परिवर्तन नभएपछि उनलाई समलिङ्गी भएकै कारण चर्चबाट बहिष्कार गरियो।

उसको परिवार निकै आक्रोशित बनेको थियो र उसलाई लाजमर्दो बनाएको भन्दै परिवारबाट टाढा गरियो। ‘परिवारले मेरो बारेमा साथीहरूलाई बताइदियो । मैले पढ्ने अवसर गुमाउनु पर्‍यो,’ उनी भन्छन्,‘म यही मानिस र तिनीबाट पाएका असहज र दुख पिडासँगै हुर्के र अब उनीहरूले मभित्रको राम्रो देख्दैनन्, मलाई घृणित रूपमा हेर्छन्।’ मेन्साहलाई अन्ततः परिवारले घरबाट निकालिदियो र जागिर खोज्न उनले निकै सङ्घर्ष गर्नुपर्‍यो।

नम्र बोली बोल्ने युवक मेन्साहले मानिसहरूको भावनामा ठेस नपुगोस् भनेर आफ्नो अधिकांश समय घरभित्रै बिताउने गरेको बताए। अरूले आफूलाई कम देखेको, आफ्नो बारेमा कम सुनेको व्यक्ति हुने उनको चाहना छ। समग्रमा मेन्साहका अनुभवहरू असामान्य भने होइनन्।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक मानिसहरूलाई सामान्यतया स्थानीय अकान भाषामा ‘कोजो बेसिया’ (शाब्दिक रूपमा ‘पुरुष–महिला’) भनिन्छ। तिनीहरू सधैँ घानीयन समुदायहरूमा सह–अस्तित्वमा रहँदै आएका छन् र कहिलेकाहीँ आक्रमणमा समेत पर्ने गरेका छन्। जुन पछिल्ला वर्षहरूमा धेरै सामान्य मानिन थालिएको छ।

आफ्नो सुरक्षाका लागि नाम परिवर्तन गर्न अनुरोध गरेका क्वामेले समलिङ्गी विरोधी विधेयक पारित भएपछि डरैडरमा बाँच्नुपरेको बताए। ‘यसले होमोफोबिक आक्रमणहरूलाई झन् वैधानिक बनाउनेछ, जुन मैले पटक पटक अनुभव गर्दै आएको छु’ १० वर्षअघि आफूले भोगेको आक्रमणबारे उनले बिबिसीसँग भने,‘म बस्ने ठाउँमा समलिङ्गी हुँ भनेर चिनिन्छु, त्यसैले मेरो नजिक आउने जो कोहीलाई उनीहरू समलिङ्गी नै ठान्दछन्।’

आफूलाई भेट्न आएका एक जना पुरुष साथीमाथि आक्रमण भएको उनले सुनाए। ‘उनीहरू तिमीहरू समलिङ्गी हौँ भन्दै आएर आक्रमण गर्न थाले। उनीहरू धेरै जना थिए। हाम्रो फोन समेत लिएर गए। पुलिसमा आधिकारिक रिपोर्ट गरेँ तर कुनै कारबाही नभएपछि मैले न्याय नपाउने वास्तविकतासँग बाँच्न सिकेँ’ क्वामेले भने। अब नयाँ विधेयकले कानुनको मान्यता प्राप्त गर्‍यो भने क्वामेको अस्तित्व अवैधानिक ठहरिनेछ र कम्तीमा उनलाई तीन वर्षको जेल सजाय हुनसक्छ।

२० वर्षीय क्वामे फेसन डिजाइनको कोर्स अध्ययन गर्दैछन्। उनको यौनिकताबारे कसैले मालिकलाई बताइदिएपछि उनले काम गर्ने ठाउँमा पनि निक्कै भेदभाव सहनुपर्‍यो। मालिकले अर्को बाटो रोज्न भनेपछि अस्वीकार गर्दा क्वामेलाई कामबाट निकालियो। ‘म समलिङ्गी भएकै कारण मैले जागिर गुमाएँ’ उनले भने।

मेन्साह र क्वामे दुवै जना घानाका दुई मुख्य राजनीतिक दलको समर्थन रहेको विधेयक कानुनी चुनौतीका कारण रोकिने अपेक्षा गर्दछन्। तर राजनीतिक दलका नेताहरूले स्थितिलाई भड्काइरहेकाले आफ्ना लागी निक्कै खतरा देखेर क्वामे र मेन्साह घाना छाड्ने मनस्थितिमा छन्। ‘म भिडभाड रहेको इलाकामा बस्छु। जब हाम्रो मुद्दा आउँछ, तब सबैले थाहा पाइहाल्छन् त्यसैले मलाई धेरै डर लागिरहेको छ। मैले यो ठाउँ छाडेर कतै जानैपर्छ’ क्वामेले भने। मेन्साहले उनको विचारमा सहमति जनाउँदै भने, म पनि यहाँबाट यस्तो देशमा स्थानान्तरण हुन सकूँ जहाँ बस्न सुरक्षित होस्।’

अमेरिका, बेलायत र मानव अधिकार समूहहरूले समलैङ्गिकता विरोधी नयाँ विधेयकको निन्दा गरेका छन्। विशेष गरी अमेरिकाले घानामा विदेशी लगानीमा भयानक प्रभाव पार्ने सङ्केत गरेको छ।

मानव यौन अधिकार र पारिवारिक मूल्यमान्यताका दृष्टिकोणले यो विधेयक मानव अधिकारका लागि कठोर रहेको भन्दै अधिकारवादी समूहहरूले यसलाई अस्वीकार गर्न राष्ट्रपति एड्डोको सरकारलाई आग्रह गरेका छन्।

ह्यूमन राईट्स वाचका सोधकर्ता लारिसा कोजोईले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक विरोधी विधेयक घानाको शान्ति, सहिष्णुता र आतिथ्यको लामो परम्परामाथिको विसङ्गति र देशको अन्तर्राष्ट्रिय मानवअधिकार दायित्व विपरीत रहेको बताए।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक राइट्स घानाका संस्थापक र निर्देशक एलेक्स डोनकोर भन्छन्,‘यस विधेयकले घानामा एलजीबीटीआई व्यक्तिहरूलाई थप सीमान्तकृत र खतरामा पार्नेछ। यसले भेदभावलाई वैधानिक बनाउने मात्र नभई डर र उत्पीडनको वातावरणलाई पनि बढवा दिन्छ।’

घानाको समलैंगिकता विरोधी विधेयकलाई अफ्रिकामा यस प्रकारको सबैभन्दा कठोर मध्येको एक ठानिएको छ। कानुनी रूपमा लागू हुनुअघि यसमा राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने हुन्छ। आगामी डिसेम्बरमा आम चुनाव अघि यो असम्भव रहेको टिप्पणी समेत गरिएको छ।

सर्वोच्च अदालतमा यस विरुद्ध एउटा मुद्दा दायर गरिएको छ र राष्ट्रपति नाना अकुफो–एड्डोले विधेयकमा कारबाही अगाडी बढाउनुअघि अदालतको फैसला पर्खने बताएका छन्। तर घाना मानवअधिकारको संरक्षण गर्न प्रतिबद्ध छ भनी कूटनीतिक समुदायलाई आश्वस्त पार्ने विषयमा राष्ट्रपति एड्डोलाई सकस परिरहेको छ।

ठुलो आर्थिक सङ्कटबाट गुज्रिरहेको घानाको अर्थ मन्त्रालय अदालतको सम्भावित नतिजालाई लिएर चिन्तित छ। मन्त्रालयका अनुसार, घानाले आगामी पाँच देखि छ वर्षमा विश्व बैङ्क कोषमा कुल ३.८ बिलियन डलर (५ खर्ब रुपैयाँ बढी) गुमाउन सक्छ। गत वर्ष अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट बेलआउट भएको थियो।

पश्चिम अफ्रिकामा अवस्थित राष्ट्र घाना अफ्रिका र अमेरिका बीचको व्यापार सम्झौता–अफ्रिकी विकास र अवसर ऐन (अगोआ) को एउटा हिस्सा हो। गत वर्ष समलैङ्गीकता विरोधी कानुन पारित गरेपछि अमेरिकाले उक्त सम्झौताबाट युगान्डालाई बाहिर गरिदिएको थियो।

यो सामग्री बीबीसीबाट अनुवाद गरिएको हो।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading