सर्वोच्चमा पहिलो रिट दर्ता गर्ने मध्येका एक वैद्यको निधन

सर्वोच्चमा पहिलो रिट दर्ता गर्ने मध्येका एक वैद्यको निधन

काठमाडौं : यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको पहिचान सहितको अधिकार माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्ने मध्येका एक मनोरञ्जन कुमार वैद्यको निधन भएको छ।

भक्तपुरको क्यान्सर अस्पतालमा उपचारका क्रममा वैद्यको निधन भएको हो। आइतबार मात्रै उपचारका लागि उनी क्यान्सर अस्पतालमा भर्ना भएका थिए। उनको सोमबार ६५ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले बताएको छ।

यौन अभिमुखीकरण तथा लैङ्गिक पहिचानमा आधारित अल्पसङ्ख्यक व्यक्तिहरूको प्रतिनिधित्व गरेको संस्था परिचय समाज नेपालका कार्यकारी निर्देशक वैद्य सुनिलबाबु पन्तले नेपाल सरकारविरुद्ध दायर गरेको रिटका निवेदक मध्ये एक थिए।

सर्वोच्च अदालतले ६ पुस २०६४ मा दिएको निर्देशनात्मक आदेश पछि नै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले पहिचान पाउन थालेका हुन्। वैद्य समुदायको अधिकारका लागि अहोरात्र खट्दै आएका थिए।

आफूलाई क्यान्सर भएको समेत उनले कतै भनेका थिएनन्। दुई वर्ष अघि मात्रै महँगो औषधी खानु पर्ने बताएका थिए वैद्यले। तर, उनले आफूलाई क्यान्सर भएको खुलाएका थिएनन्।

घरमा पनि उनी रोग लुकाएका थिए। ‘घरमा केही भन्नु भएन, रोग लागेको पक्कै डाक्टरले भनेका थिए होला,’नैकापमा बस्दै आएकी वैद्यकी छोरी पुष्पा डङ्गोलले भनिन्,‘अन्तिम अवस्थामा मात्रै भन्नुभयो।’

पुष्पालाई वैद्यले छोरी बनाएका हुन्। वैद्य एक्लै थिए। २०१५ सालमा काठमाडौँको असनमा जन्मिएका वैद्य प्राय परिचय समाज नेपालको कार्यालयमै बस्दै आएका थिए। उनी अधिकार प्राप्तिको अभियान उल्टो बाटोमा गएको त होइन भनेर चिन्ता व्यक्त गर्थे।

वैद्य समुदायको वैवाहिक अधिकारका लागि सर्वोच्च अदालतले अस्थायी अभिलेख रहने गरी अन्तरिम आदेश जारी गरेको रिटका समेत निवेदन थिए। सुनिलबाबु पन्तले वैद्यलाई हरेक पटकको भेटमा स्वास्थ्यको ख्याल गर्न सुझाव दिइरहन्थे। वैद्य ‘अहिले ठिक छ’ भन्थे।

‘बीडीएस सक्न लागे,उद्देश्य एकातिर अभियान अर्कैतिर भयो, के गर्ने होला?’ वैद्य चिन्ता गर्थे। उनको ‘भन्न नहुने’ भन्ने थेगो नै बनेको थियो। उनले परिचय समाज नेपालको कार्यालयमा माया गुरुङ्ग र सुरेन्द्र पाण्डेको भन्दा पछि अर्को जोडीको पण्डित पढाएर समलिङ्गी विवाह गराएका थिए।

वैद्यको निधनमा परिचय समाज नेपाल, मायाको पहिचान नेपाल, हाम्रो समान पहुँच नेपालमा आबद्ध समुदायका सदस्यहरू अस्पतालमै पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन्। ‘वैद्य बा’ले परिचित उनको निधनमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले शोक व्यक्त गरेका छन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading