पेरिस ओलम्पिक

रोमान्टिक हुन चाहने खेलाडीलाई कन्डम निःशुल्क

रोमान्टिक हुन चाहने खेलाडीलाई कन्डम निःशुल्क

काठमाडौं : पेरिस ओलम्पिक आयोजकले यस वर्ष प्रेमको शहरमा हुने ओलम्पिकका खेलहरूमा रोमान्टिक हुन चाहने खेलाडीहरूलाई २ लाख २० हजार कन्डम वितरण गर्ने भएका छन्।

खेलाडीहरूले खेलमा आफ्नो ध्यान केन्द्रित गर्न सक्ने भए पनि उनीहरूले चाहेमा शारीरिक सम्पर्क गर्न स्वतन्त्र हुनेछन्। टोक्योमा कोभिड महामारीको समयमा भएको पछिल्लो ओलम्पिकमा यसविपरीत खेलाडीहरूलाई ‘शारीरिक सम्पर्कबाट रूपमा बच्न’ आग्रह गरिएको थियो।

जुलाई २६ देखि अगस्ट ११ सम्म हुने खेलमा पुरुषका लागि २ लाख र महिलाका लागि २० हजार कन्डम खेलग्राममा उपलब्ध गराइने पेरिस २०२४ मा प्राथमिक चिकित्सा तथा स्वास्थ्य सेवाका इन्चार्ज लरेन्ट डालार्डले बताए। ‘कति जनाले कन्डम प्रयोग गर्ने सम्भावना छ भन्ने हामीलाई थाहा छैन र आवश्यक परेको खण्डमा हामी आवश्यकताअनुरूप हुनेछौँ’, उनले पत्रकारसँग भने।

सुरक्षित यौन सम्बन्धलाई प्रोत्साहित गर्न र तत्कालीन समयमा विश्वभर फैलिएको एचआइभी–एड्स महामारीबारे चेतना जगाउन सन् १९८८ को सोल ओलम्पिकमा खेलाडीहरूलाई केही हजार कन्डम पहिलोपटक निःशुल्क वितरण गरिएको थियो। त्यस वेलादेखि नै कन्डम वितरण प्रत्येक ओलम्पिक आयोजनाका लागि एउटा परम्परा बनिसकेको छ। पछिल्ला दशकहरूमा वितरित कन्डमको सङ्ख्या नाटकीय रूपमा बढेको छ।

सन् १९९२ को बार्सिलोना ओलम्पिकमा ५० हजार, सन् २००८ मा बेइजिङमा १ लाख र सन् २०१२ मा लन्डनमा १ लाख ५० हजार कन्डम वितरण गरिएको थियो। सन् २०१६ मा रियो ओलम्पिक खेललाई अहिलेसम्मको सबैभन्दा कामोत्तेजक खेल मानिएको छ।

प्रतियोगितामा साढे ४ लाख कन्डम वितरण गरिएको थियो। हिसाब गर्दा एकजना खेलाडीका लागि ४२ कन्डम पर्थ्यो। डालार्डले फ्रान्समा सरुवा यौन रोगहरू बढ्दै गएको उल्लेख गर्दै गाउँमा पोस्टरहरूले खेलाडीलाई खतराका साथै सहमतिको मुद्दाबारे शिक्षित गर्न खोजेको बताए।

युरोपेली सङ्घ (इयू) को स्वास्थ्य एजेन्सीले गत वर्षको तुलनामा सम्पूर्ण महादेशमा सरुवा यौन रोग सङ्क्रमण (एसटीआई) मा ‘समस्याजनक वृद्धि’ का बारेमा मार्च ७ मा चेतावनी दिएको थियो।

युरोपियन सेन्टर फर डिजिज प्रिभेन्सन एन्ड कन्ट्रोल (इसीडीसी) का अनुसार सन् २०२२ मा इयूमा गोनोरियाको मामिला ४८ प्रतिशत, सिफलिशमा ३४ प्रतिशत र क्ल्यामिडियामा १६ प्रतिशतले वृद्धि भएको थियो।

पेरिस खेलमा ओछ्यानहरू सबै एकल रहेको, कार्डबोर्डले बनेको र सामान्यतया एउटा कोठामा दुईवटा भएकाले पनि ती ओछ्यान अनाकर्षण हुन सक्छन्।

पेरिसको उत्तरी उपनगरमा रहेको ओलम्पिक गाउँमा ओलम्पिक खेलका क्रममा खेलाडीसहित करिब १४ हजार मानिस रहनेछन्। त्यसपछि पाराओलम्पिकमा पनि खेलाडीसहित ९ हजार व्यक्ति बस्नेछन्।

साइटमा खेलाडीहरूका लागि सामान्य खानपान क्षेत्र, दिनको २४सै घण्टा खाना सेवा गर्नेका साथै खेलकुद बार र खेल क्षेत्र पनि समावेश हुनेछन्। त्यहाँ कुनै मदिराजन्य पेय भने दिइने छैन।

आयोजक समितिका ग्रामीण सञ्चालनका निर्देशक लरेन्ट मिचाउडले गाउँको भ्रमणका क्रममा पत्रकारसँग भने, ‘यो पार्टी गर्ने ठाउँ होइन, यदि कोही पार्टी गर्न चाहन्छन् भने पेरिस जान सक्छन्।’ पेरिसका एक वरिष्ठ आयोजकले अधिकांश कन्डम स्मृति चिह्नका रूपमा वा निःशुल्क उपहारका रूपमा घर लगिने अपेक्षा गरेका छन्।

रासस

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading