यौन सम्बन्ध गैर–परम्परागत, दुई जना पक्राउ

यौन सम्बन्ध गैर–परम्परागत, दुई जना पक्राउ

एजेन्सी : रुसले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक (एलजीबीटीआई) समुदायका गतिविधि नियन्त्रण गर्न थालेको छ। एलजीबीटीआई व्यक्तिका गतिविधिलाई बढवा दिएको आरोपमा पोज नाम गरेको बारका व्यवस्थापक र निर्देशक पक्राउ परेका छन्।

पक्राउ परेका व्यवस्थापकको नाम डायना कामिल्यानोभा र निर्देशक अलेक्ज्याण्डर क्लिमोभ रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले लेखेका छन्।

रुसी अदालतले गत नोभेम्बरमा देशका समलिङ्गी र तेस्रो लिङ्गी (ट्रान्सजेन्डर) व्यक्तिलाई चरमपन्थी मान्दै गतिविधिमा प्रतिबन्ध लगाएको थियो। प्रतिबन्धपछिको यो पहिलो आपराधिक मुद्दा हो।

आगामी मे १८ सम्म हिरासतमा राखेर अनुसन्धान गर्ने रुसी निकायले उनीहरूलाई १० वर्षसम्मको जेल सजाय समेत सुनाउन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले अदालत स्रोतको हबला दिँदै समाचार लेखका छन्।

यसअघि न्यायाधिकरणले उनीहरूलाई ‘बारका आगन्तुकहरू बीच गैर–परम्परागत यौन सम्बन्धलाई बढवा दिएको’ आरोप लगाएको थियो। प्रहरीले यस महिनाको सुरुमा बारमा छापा मारेको थियो।

रेन्बो युरोप सङ्गठनले एलजीबीटीआई समुदायका व्यक्तिहरूको सहिष्णुताको सन्दर्भमा रुस ४९ युरोपेली देशहरूमध्ये अन्तिमबाट तेस्रो स्थानमा रहेको देखाएको छ।

रुसमा एलजीबीटीआई व्यक्तिविरुद्धको कारबाही एक दशकअघिदेखि सुरु भएको थियो। पुटिनले पहिलोपटक पारम्परिक पारिवारिक मूल्यमान्यतामाथि ध्यान केन्द्रित गर्ने घोषणा गरेसँगै रुसी रुढीवादी चर्चले जोडदार समर्थन गर्‍यो।

सन् २०१३ मा क्रेमलिनले एलजीबीटीआई अधिकारमाथि प्रतिबन्ध गर्ने पहिलो कानुन अपनायो जसलाई ‘गे–प्रोपोगान्डा’ कानुनको रूपमा मानियो। यसले कुनै पनि सार्वजनिक स्थलहरूमा नाबालिगहरुबीचको गैर-पारम्परिक यौन सम्बन्धमा प्रतिबन्ध गरिदियो।

सन् २०२० मा पुटिनले समलिङ्गी विवाहलाई गैरकानुनी घोषित गर्ने एक संवैधानिक सुधारलाई अगाडी बढाएपछि पहिलो पटक गिरफ्तार नै गरिएको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.