लिङ्ग–पुष्टि गर्ने उपचारमाथि प्रतिबन्ध

लिङ्ग–पुष्टि गर्ने उपचारमाथि प्रतिबन्ध

एजेन्सी : जेन्डर अफर्मिङ्ग केयर अर्थात् लिङ्ग–पुष्टि सम्बन्धी चिकित्सकीय हेरचाहलाई लिएर अमेरिका बेलायत लगायतका देशहरूले कानुनी रूपमै प्रतिबन्ध लगाएका छन्।

विश्व स्वास्थ्य सङ्गठनको परिभाषाअनुसार, जेन्डर अफर्मिङ्ग केयरमा सामाजिक, मनोवैज्ञानिक, व्यवहारिक, र चिकित्सकीय हस्तक्षेप अर्थात् उपचार समेटिएको हुन्छ। व्यक्तिको लैङ्गिक पहिचानलाई पुष्टि र समर्थन गर्न बनाइएको यस प्रकारको चिकित्सकीय हेरचाह एवं उपचार जन्मजात निर्धारित लिङ्गसँग बाझिन्छ। जसले ट्रान्सजेन्डर व्यक्तिको भावनात्मक, पारस्परिक र जैविक पक्षहरूलाई लैङ्गिक पहिचानसँग जोड्न मद्दत गर्छ।

अमेरिकन एकेडेमी अफ पेडियाट्रिकले यसको लक्ष्य उपचार मात्र नभई बालबालिकाको कुरा सुन्ने र बुझाइको विकास गर्नुका साथै उनीहरूको भावना बुझ्ने, जिज्ञासा र चिन्ता पत्ता लगाएर सुरक्षाको वातावरण बनाउनु रहेको उल्लेख गरेको छ।

केही व्यक्तिहरू सानै उमेरमा आफ्नो जन्मसँगै पाएको लिङ्ग र लैङ्गिक पहिचानबिचको अन्तर महसुस गर्न सक्छन्। जेन्डर अफर्मिङ्ग केयर चाहने प्राय मानिसहरूले लैङ्गिक डिस्फोरियाको अनुभव गरिरहेका पाइएको छ।

ट्रान्सजेन्डर युवा त्यसमा पनि लैङ्गिक डिस्फोरिया महसुस गर्ने व्यक्तिहरूले तुलनात्मक रूपमा अन्य युवाहरूले भन्दा धेरै भावनात्मक सङ्कट र डिप्रेसनको सिकार हुनुपरेका, दुर्व्यवहार र अन्य प्रकारका हिंसाको सामना गर्नुपरेको र स्वयंलाई क्षति पुर्‍याउने वा आत्महत्याको प्रयास गर्ने सम्भावना रहेको केही अध्ययनहरूले देखाएका छन्।

अमेरिकाको एक विश्वविद्यालयले ८२ हजार छात्रामा गरेको अध्ययनका क्रममा ६१ प्रतिशत ट्रान्सजेन्डर युवाहरूले आत्महत्या गर्ने सोच बनाएको बताएका थिए, जुन सिजेन्डर युवाहरूको दरभन्दा तीन गुणा बढी हो।

यस्तो अवस्थामा उनीहरूलाई सुरक्षित बनाउन प्रदान गरिने जेन्डर अफर्मिङ्ग केयरको दीर्घकालीन प्रभावकारबारेमा स्पष्ट आधारहरू नभेटिएको भन्दै बेलायत, अमेरिकाले नियन्त्रण गरिरहेका छन्।

आयडाहोको प्रतिबन्धले परिवार निराश

नाबालिगहरूका लागि लिङ्ग–पुष्टि सम्बन्धी चिकित्सकीय उपचारमाथि प्रतिबन्ध लागेपछि अमेरिकाको आयडाहो राज्यमा केही परिवार आफ्ना तेस्रोलिंगी सन्तानका लागि राज्य छाड्ने तयारी गरिरहेका छन्।

ट्रान्सजेन्डर या गैर–बाइनरी व्यक्तिको लिङ्ग परिवर्तनका लागि स्पीच थेरापीदेखि शल्यक्रियासम्मको उपचारमा सहायता पुर्‍याउने लिङ्ग–पुष्टि हेरचाह (जेन्डर अफर्मिङ्ग केयर) मा प्रतिबन्ध लागू गरिएपछि परिवार त्रसित र चिन्तित बनेका हुन्।

आफ्नो असली रूप लुकाउन बाध्य, जोय होरासकी ट्रान्सजेन्डर छोरीले यौवनको सुरुवात रोक्न औषधि लिइरहेकी छिन्। उनले तीन वर्ष अघिसम्म चिन्ता र डिप्रेसनको सिकार हुनुपर्‍यो। लिङ्ग पुष्टि गर्ने उपचारले अहिले १६ वर्षीया आफ्नी छोरीलाई फेरि खुसी दिलाउन मद्दत गरेको होरासले बताए।

अमेरिकाको सर्वोच्च अदालतले गत सोमबार आयडाहो राज्यलाई नाबालिगहरूको यसप्रकारको हेरचाहमा प्रतिबन्ध लागू गर्न अनुमति दिने फैसला सुनायो। जसले एकपटक फेरी उनको अहित गर्ने भएको छ। यससँगै होरास अब अरू उपाय खोज्दै आफूले सम्पूर्ण जीवन बिताएको ठाउँ आयडाहो छाड्ने विचार गरिरहेका छन्।

‘यसले उनको रक्षा गर्दैन, बोइसमा बस्ने होरासले एसोसिएटेड प्रेसलाई भने–जेन्डर अफर्मिङ्ग केयरसम्म पहुँच पुगेन भने उनको मानसिक स्वास्थ्यमा ठुलो हानि पुग्नेछ।’

होरासकी १६ वर्षीया छोरीले एस्ट्रोजेन प्याच लगाउँछिन् र हरेक छ महिनामा एस्ट्रोजेन इन्जेक्सन लिन्छिन्। उनको अन्तिम सट डिसेम्बरमा थियो र होरासले अब दुई महिनाभित्र राज्य बाहिर गएर नयाँ सेवा प्रदायक खोज्नुपर्नेछ। ‘यो प्रतिबन्ध क्रूर छ’ होरासले भने।

होरास आयडाहोका ती आमाबाबुहरू मध्ये एक हुन् जो आफ्ना तेस्रोलिंगी सन्तानहरूले प्राप्त गरिरहेको लिङ्ग–पुष्टीकरण हेरचाहको पहुँच गुमाएपछि उत्पन्न समस्याको समाधान खोज्न हताश देखिन्छन्।

अमेरिकी सुप्रिम कोर्टको फैसलाले राज्यलाई सन् २०२३ को कानुन लागू गर्न अनुमति दिएको छ, जसले १८ वर्षभन्दा कम उमेरका किशोर किशोरीलाई हर्मोन, यौवन अवरोधक वा अन्य लिङ्ग–पुष्टि सम्बन्धी हेरचाह उपलब्ध गराउने चिकित्सकलाई १० वर्षसम्मको जेल सजाय हुनसक्ने व्यवस्था गरेको छ।

सर्वोच्चको फैसलामा के थियो?

अदालतको फैसला त्यस विरुद्ध तल्लो अदालतमा मुद्दा परी अगाडि नबढ्दासम्म कायम रहनेछ। यद्यपि कानुनलाई चुनौती दिन लिङ्ग पुष्टिसम्बन्धी चिकित्सकीय उपचार लिइरहेका दुई किशोरले मुद्दा दायर गरिसकेका छन्।

पछिल्ला वर्षहरूमा अमेरिकाका २४ राज्यले नाबालिगहरूका लागि लिङ्ग–पुष्टि गर्ने उपचारमाथि प्रतिबन्ध लगाइसकेका छन् भने अन्य २० राज्य प्रतिबन्ध कार्यान्वयनको तयारीमा छन् र तीमध्येका धेरैले कानुनी चुनौतीको सामना गर्नुपरेको छ।

अमेरिकी सर्वोच्च अदालतले यस मुद्दामा पहिलो पटक ध्यानाकर्षण गर्दै सोमबारको फैसला सुनाएको हो। आयडाहोका अधिकारवादी समूहहरू प्रभावकारी कदम चाल्ने विषयमा परिवारहरूलाई आश्वस्त पारिरहेका छन्।

अधिवक्ताहरूले पनि यस फैसलापछि कम आय भएका परिवारहरूले यस्तो चिकित्सकीय उपचारका लागि राज्यको सीमाबाहिर यात्रा गर्न नसक्ने भन्दै चिन्ता जनाएका छन्।

कानुनलाई नै चुनौती

गत वर्ष, अर्कान्सासमा नाबालिगहरूको लागि लिङ्ग–पुष्टि गर्नका लागि उपलब्ध गराइने उपचारमाथि लगाइएको प्रतिबन्ध सङ्घीय न्यायाधीशले खारेज गरिदिएका थिए भने केन्टकी र टेनेसीमा तल्लो अदालतका न्यायाधीशहरूले रोक लगाए पनि पुनरावेदन अदालतले लागू गर्न अनुमति दिएको थियो। मोन्टानाको कानुन राज्य न्यायाधीशको आदेशका कारण लागू हुन सकेको छैन।

अमेरिकामा ट्रान्सजेन्डर युवाहरूलाई उनीहरूको लिङ्ग पहिचान अनुरूप खेल टोलीमा सामेल हुन रोक्ने कानुनले समेत देशभरबाट चुनौतीको सामना गरिरहेको छ। वेस्ट भर्जिनियाका ट्रान्सजेन्डरलाई खेलमा प्रतिबन्ध लगाउने सङ्घीय नागरिक अधिकारसम्बन्धी कानुन एक किशोर खेलाडीले उलङ्घन गरेका थिए भने त्यसको केही घण्टापछि नै ओहियोमा ट्रान्सजेन्डर किशोरीहरूलाई महिलाको शैक्षिक खेल प्रतियोगितामा भाग लिन रोक्ने ओहियोको कानुन एक न्यायाधीसले खारेज गरिदिएका थिए।

युवाहरूका लागि लिङ्ग पुष्टि हेरचाह (जेन्डर अफर्मिङ्ग केयर) लाई अमेरिकन मेडिकल एसोसिएसन, अमेरिकन एकेडेमी अफ पिडीयाट्रिक्स र अमेरिकन साईक्याट्रिक एसोसिएसनसहित प्रमुख चिकित्सा सङ्गठनद्वारा समर्थन प्राप्त छ।

बेलायतमा पनि लिङ्ग डिस्फोरिया भएका १६ वर्षमुनिका बालबालिका तथा युवाहरूलाई यौवनावस्था अवरोधक हर्मोन दिन बन्द गरिएको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading