"/>

संसद् सरकारको कब्जामा, काँग्रेस रिसले चुर

संसद् सरकारको कब्जामा, काँग्रेस रिसले चुर

काठमाडौँ : सङ्घीय संसद् भद्रगोल बनेको छ। सरकारले संसद् कब्जा गर्दा भद्रगोलको अवस्था भएको हो। सभामुख देवराज घिमिरेले प्रतिपक्षीको नाराबाजीकाबीच कामकारबाही अगाडी बढाएका छन्। नाराबाजीकैबीच मार्सल लगाएर संसद् बैठक सञ्चालन भएको छ। सम्भवतः नेपालको संसदीय इतिहासमा पहिलो पटक मार्सल लगाएर प्रधानमन्त्रीले विश्वासको मत लिएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चौथो पटक विश्वासको मत लिँदा मार्सल लगाइएको छ। सभामुख घिमिरेले बैठक सञ्चालनका लागि सहजीकरण गर्न दोस्रो दिन पनि मयार्दापालकहरुलाई निर्देशन दिए।

सरकारले जनताको आवाज बोल्ने थलोको रूपमा रहेको संसद्लाई मार्सल लगाएर कब्जा गरेको छ। संसद्को रोष्ट्रम पुग्ने र सरकारका कामकारबाही अगाडी बढाउने सरकारको रणनीतिमा सभामुख घिमिरेले सहयोग गरेका छन्।

सभामुख घिमिरेले प्रतिपक्षीको मागलाई दबाएका छन्। उनी सरकारको इशारामा चलेको प्रस्ट देखिएको छ। ‘सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा विगतमा पनि सहजीकरणका लागि मार्सल लगाउने गरिएको थियो,’सङ्घीय संसद् सचिवालय स्रोतले भन्यो,’प्रधानमन्त्रीले विश्वासको मत लिँदा मार्सल लगाइएको भने पहिलो पटक हो।’

सहकारीको रकम अपचलनमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै काँग्रेसले अघिल्लो अधिवेशनदेखि नै संसद्मा नाराबाजी गर्दै आएको छ।

सहकारीको रकम अपचलन गरेको आरोप लागेपछि गृहमन्त्री लामिछानेले नाम उल्लेख नगरी काँग्रेसलाई राष्ट्रिय सूचना बेच्ने एजेन्ट भएको आरोप सार्वभौम संसद्मा लगाएका छन्। संसदीय छानबिन समिति गठन गर्नु अगाडी बोल्न पाउनुपर्ने भन्दै रोइकराई गरेका लामिछानेले आफूमाथि छानबिन हुनुपर्ने माग गर्नेहरूलाई रातो पासपोर्ट बेच्नेदेखि राष्ट्रिय सूचना बेच्ने एजेन्ट भनेका छन्।

आफू पानी माथिको ओभानो देखिन लामिछानेले उल्टै आरोप लगाएपछि काँग्रेस रिसले चुर भएको छ। सोमबारको बैठकमा बोल्न समय मागे पनि नपाएको काँग्रेसले मङ्गलवारको बैठकमा सूचना बेच्ने एजेन्ट देखाउन गृहमन्त्री लामिछानेलाई चुनौती दिएको छ।

संसद् बैठकको कारबाही सुरु हुने बित्तिकै जर्‍याकजुरुक उठेका काँग्रेसका सांसदहरू मध्ये बद्री पाण्डेले राष्ट्रिय सूचना बेच्ने एजेन्ट देखाउन गृहमन्त्री लामिछानेलाई चुनौती दिए। ‘उसलाई यो सदनबाट गलहत्त्याउन तपाईँको साथमा हामी लाग्नेछौँ,’पाण्डेले भने,’तपाई निराधार आरोप लगाउँदै हुनुहुन्छ भने माननीय गृहमन्त्री तपाईँलाई यो सदनबाट गलहत्त्याउने काममा हामी चुक्ने छैनौ।’

पाण्डेले गृहमन्त्रीले लगाएका आरोप प्रमाणित गरेर देखाउन सभामुखको रुलिङ माग गरे। होइन भने संसद्को रेकर्डबाट हटाउन आग्रह गर्न चाहन्छु,पाण्डेले भने। उनले १६ महिनामा चार पटक विश्वासको मत लिने प्रधानमन्त्रीमाथि अविश्वासै अविश्वास रहेको उल्लेख गरे। ‘विश्वासको खडेरीमा परेका प्रधानमन्त्रीले देशलाई कसरी हाँक्नुहुन्छ?’ पाण्डेले प्रश्न गरे।

प्रतिपक्षी दलको माग बेवास्ता गर्दै सभामुख घिमिरेले संसद्को कामकारबाही अगाडी बढाए। जेठ १ गते नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद दिने प्रस्ताव काँग्रेस सांसदको नाराबाजीकैबीच सभामुख घिमिरेले मार्सल लगाएर पारित गराए।

सभामुखले लामिछानेलाई राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८० लाई फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिए। विरोधको सूचनाका लागि पटकपटक आग्रह मात्रै गरेनन्, इशारा गर्नु भएको हो भने रोष्ट्रमसम्म ल्याउन सहजीकरण गरिने समेत बताए। तर, विरोधको सूचना नआएको भन्दै विधेयक फिर्ता लिने प्रस्ताव निर्णयार्थ पेस गराए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.