४० वर्षको बेरुजु १८ अर्ब, १ अर्ब फर्स्यौट

४० वर्षको बेरुजु १८ अर्ब, १ अर्ब फर्स्यौट

काठमाडौं : आर्थिक वर्ष २०१८/०१९ देखि आर्थिक वर्ष २०५९/०६० सम्मको बेरुजु फर्स्योटको जिम्मा पाएको कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयले अहिलेसम्म १ अर्ब ८८ करोड ७० लाख ६ हजार बेरुजु फर्स्यौट गरेको जनाएको छ।

कार्यालय प्रमुख नमुना कार्की दाहालले महालेखा परीक्षकको कार्यालयबाट प्राप्त १६८५ थान प्रतिवेदनका ठेलीहरूलाई अनलाइन प्रणालीमा प्रविष्ट गरिएको जानकारी दिइन।

हालसम्मको बेरुजु रकम १८ अर्ब १६ करोड १३ लाख ३२ हजार ७०७ मध्ये चालु वर्षको जेठ १५ सम्म १ अर्ब ८८ करोड ७० लाख ६ हजार फर्स्यौट भएको उनले बताइन।

उनले अझै आर्थिक वर्ष २०१८/१९ देखि आर्थिक वर्ष २०५९/०६० सालसम्मको सरकारी कार्यालय वा मन्त्रालयगत बेरुजु १५ अर्ब ९ करोड ६ लाख ४२ हजार ५०३ रहेको बताइन।

राष्ट्रिय योजना आयोगको सचिवालयसहित २८ मन्त्रालयहरूको फर्स्यौट हुन बाँकी बेरुजु विगत ४० वर्षमा १५ अर्ब ९ करोड पुगेको कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयले दिएको जानकारी दिइन्।

उनले प्रक्रियागत त्रुटिका कारण बेरुजुको रकम बढेको बताइन। उनले जनशक्तिको अभावका कारण पनि केही समस्या आएको बताइन।

कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयमा राजपत्राङ्कित प्रथम श्रेणीको कर्मचारी प्रमुख हुने व्यवस्था गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ।

सोमबार बसेको सार्वजनिक लेखा समिति बैठकमा सभापति ऋषिकेश पोखरेलले तत्काल कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयमा राजपत्राङ्कित प्रथम श्रेणीको कर्मचारी कार्यालय प्रमुख हुने गरी व्यवस्था गरी आवश्यक पर्ने जनशक्ति थप गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिए।

सभापति पोखरेलले बेरुजु असुल उपर गर्नुपर्ने पुराना अभिलेखलाई सुरक्षित राख्नुपर्ने र कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालय भाडामा भएकाले यस्ता अभिलेख सुरक्षित गर्न चुनौती हुने बताए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.