उपेन्द्रको प्रतिवेदनमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक : सामाजिक न्यायको प्रत्याभूति गराउनुपर्छ

उपेन्द्रको प्रतिवेदनमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक : सामाजिक न्यायको प्रत्याभूति गराउनुपर्छ

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको सवाल महाधिवेशनमा उठाएको छ। जसपाले पार्टीको एकता महाधिवेशनमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको सवाल उठाएको हो।

अध्यक्ष उपेन्द्र यादवले राजनीतिक प्रतिवेदन पेस गर्दै नेपालमा रहेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकलाई सामाजिक न्यायको प्रत्याभूति गराउन भनेका छन्। प्रतिवेदनमा लेखिएको छ,’महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारु, मुस्लिम, अल्पसङ्ख्यक, अपाङ्गता भएका व्यक्ति, सीमान्तकृत समुदाय, पिछडा वर्ग, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक, भूमिहीन सुकुम्वासी आदिलाई सामाजिक न्यायको प्रत्याभूति गराउनुपर्छ।’

फरक लैङ्गिक पहिचान र यौनअभिमुखीकरणको कारणले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिहरू विभेदमा परिरहेका प्रतिवेदनमा उल्लेख गरिएको छ। ‘यौनिक तथा लैङ्गिक समुदायका अधिकांश व्यक्तिहरू नागरिक तथा राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारबाट वञ्चित हुनु परेको यथार्थता हाम्रा सामु छन्,’अध्यक्ष यादवको राजनीतिक प्रतिवेदनमा लेखिएको छ,’यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई राज्य, घर-परिवार र समाजले समेत विभिन्न प्रकारको विभेद अझै विद्यमान छ।’

जसपा नेपालका अध्यक्ष यादवले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरू विभिन्न खालको विभेद र धेरै जोखिममा परेका उल्लेख गरेका छन्।

‘घरबाट आरम्भ हुने उपेक्षा, अपमान र हिंसा, समाजबाट अपहेलना, जीविकोपार्जनको उपायको अभाव, आर्थिक समस्या, सांस्कृतिक अधिकारबाट वञ्चितिकरण, स्वास्थ्य समस्या र प्रशासनिक अपमान एवं अपहेलना उनीहरूले भोग्नु परिरहेका मूल समस्या हुन,’प्रतिवेदनमा लेखिएको छ,’यसर्थ राज्यले उनीहरूको लागि शिक्षा, रोजगार, स्वास्थ्योपचार, सार्वजनिक सेवाको अवसर, सम्पत्तिमाथिको अधिकार, स्वतन्त्रताको अधिकार तथा आफ्नो पहिचानमा पुरुष अथवा महिला अथवा अन्य, आफैले निर्धारण गर्न पाउने पहिचान सम्बन्धी अधिकारको प्रत्याभूति गर्नुपर्छ।’

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.